१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न सक्दैन : सभापति देउवा



अ+ अ-

कास्की । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले आशन्न उपनिर्वाचनमार्फत वर्तमान सरकारलाई सच्याउनुपर्ने बताउनुभएको छ ।

कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–१६ मा आयोजित चुनावी सभामा सभापति देउवाले काँग्रेसले उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने बताउनुभयो । वर्तमान सरकारले एकपछि अर्को गर्दै जनताका हकअधिकार कुण्ठित गर्दै गएको उल्लेख गर्दै उहाँले न्यायालय, स्वतन्त्र प्रेसका साथै संवैधानिक अङ्गमा हस्तक्षेप गरिहेको आरोप लगाउनुभयो । “जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउनका लागि यस निर्वाचनमा काँग्रेसले जित्नुको विकल्प छैन”, सभापति देउवाले भन्नुभयो ।

सभापति देउवाले त्यागी र सादगी नेता खेमराज पौडेललाई कास्की क्षेत्र नं २ मा उम्मेदवारका रुपमा अघि सारेर पार्टीले उहाँप्रति न्याय गरेको बताउनुभयो । “पौडेललाई न्याय दिने जिम्मेवारी कास्कीका जनताको काँधमा आएको छ”, उहाँले भन्नुभयो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने आरोप लगाउनुभयो । “अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेका छन्”, उहाँले भन्नुभयो । काँग्रेस उम्मेदवार पौडेललाई अत्यधिक मत दिएर जिताउन उहाँले आग्रह गर्नुभयो । काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्ट सरकार मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागि परेको आरोप लगाउनुभयो । सरकार मुलुक र जनताको हितका साथै लोकतन्त्र, संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता कुनैको हितमा नरहेको उल्लेख गर्दै उहाँले यसलाई सच्याउनका लागि पनि यो चुनाव काँग्रेसले जित्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा वर्तमान सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाउनुभयो । युवा नेता गगनकुमार थापाले स्व रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि नेकपालाई भोट दिने हो भने त्यो उहाँ प्रतिको अपमान हुने बताउनुभयो । नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा पौडेललाई जिताएर त्यसको सन्देश देशभरी दिनुपर्ने नेता थापाले उल्लेख गर्नुभयो ।

उम्मेदवार पौडेलले आफू सधैँ कस्केली जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गर्नुभयो । जितेर गएपछि पनि सधैँ जनताकै साथमा हातेमालो गर्दै अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्यद्वय विन्दुकुमार थापा र कुमार खड्का, कास्की काँग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले सरकारलाई सही बाटोमा हिँडाउनु काँग्रेसको दायित्व भएको बताउनुभयो । सो अवसरमा विगतमा कम्युनिष्ट आन्दोलनमा सक्रिय वामपन्थी नेता माधवप्रसाद पराजुली, ईन्द्रमान सिलवाल, सरु थापा, निर्मला थापालगायत काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।