काठमाडौं । सांसद ज्ञानबहादुर शाहीले विदेशी दूतावासद्वारा सञ्चालन भइरहेका ‘युथ काउन्सिल’ खारेज गर्न सरकारसमक्ष अपिल गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाहालाई सम्बोधन गर्दै यस्तो माग गरेका हुन्। उनले हालै विद्यार्थी युनियन तथा कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयलाई शिक्षा र प्रशासनिक क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन्।

सोही सन्दर्भमा उनले नेपालमा विदेशी निकाय तथा दूतावासले सञ्चालन गरिरहेका युथ काउन्सिलहरूले देशको राष्ट्रिय स्वाभिमान, स्वाधीनता तथा युवा पुस्तामा बाह्य प्रभाव पार्न सक्ने भन्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
शाहीले विदेशी दूतावास वा निकायहरूले सञ्चालन गर्ने यस्ता युथ काउन्सिलहरू खारेज गर्न तथा नेपाल सरकारको स्पष्ट अनुमति बिना यस्ता कार्यक्रम सञ्चालन हुन नदिने कडा व्यवस्था गर्न माग गरेका छन्।
उनले देशको आन्तरिक नीति, शिक्षा तथा युवा विकासका क्षेत्रमा स्वदेशी मूल्य, इतिहास र आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै राष्ट्रिय हितको संरक्षण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्।
सांसद शाहीले देशको दीर्घकालीन हित र स्वाभिमानलाई केन्द्रमा राखेर सरकारले विदेशी दूतावासद्वारा सञ्चालित युथ काउन्सिल खारेज गर्ने विश्वास व्यक्त गरेका छन् ।







