दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।
आज यहाँ आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कार्यालयको उद्घाटन गर्दै यहाँ कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकलाई सहज हुने बताउनुभयो ।
उहाँले नागरिकलाई सहज होस् भनेर सरकारले इलाका प्रशासन कार्यालय स्थापना गरेकाले सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले गृह मन्त्रालयको परिपत्रअनुसार गोकुलेश्वरमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
कार्यक्रममा शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायतलगायतको उपस्थिति रहेको थियो ।
यसअघि दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सेवा लिन महँगो खर्च गर्दै खलङ्गा पुग्नुपर्ने अवस्था थियो । स्थानीय तह, राजनीतिक दल तथा नागरिकको मागअनुसार सरकारले सेवा सहज बनाउन इलाका प्रशासन कार्यालय स्थापना गरेको हो ।
यसबाट शैल्यशिखरसहित अपि हिमाल, नौगाड र मार्मा गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । रासस











