२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयन ज्वालामुखीको आकस्मिक खरानी प्रहारले फिलिपिन्समा ३०० परिवार विस्थापित



Mayon volcano spews ash as seen from Daraga, Albay province, Philippines on Saturday, May 2, 2026. (AP Photo/Nehemiah Manzanilla Sitiar)
अ+ अ-

काठमाडाैँ । फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार सप्ताहन्तमा ज्वालामुखीको ढलानमा जम्मा भएको लावा एक्कासि खस्दा ठूलो मात्रामा खरानी फैलियो, जसका कारण आसपासका बस्तीहरू तत्काल खाली गराउनुपरेको थियो ।

अधिकारीहरूका अनुसार मेयनबाट कुनै ठूलो विस्फोट नभए पनि यसको दक्षिणपश्चिमी ढलानमा जम्मा भएको लावाको विशाल भण्डार अचानक खस्दा पाइरोक्लास्टिक प्रवाह उत्पन्न भएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका निर्देशक टेरेसिटो बाकोलकोलका अनुसार तातो चट्टान, खरानी र ग्यास मिसिएको यो प्रवाह शनिबार रातअघि तीव्र गतिमा तल झरेको थियो, जसले आसपासका क्षेत्रमा भय र त्रास फैलाएको थियो । यस घटनाबाट कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ ।

तर तीन सहरअन्तर्गत पर्ने ८७ वटा गाउँमा खरानीको बाक्लो बादल फैलिँदा जनजीवन प्रभावित भएको थियो । दृश्यता अत्यन्त न्यून हुँदा सवारी आवागमनमा समेत समस्या आएको अधिकारीहरूले बताएका छन् । ज्वालामुखीको फेदमा रहेको क्यामालिग सहरका मेयर कालोय बाल्डोका अनुसार खरानीको घनत्व यति धेरै थियो कि मुख्य राजमार्गमा समेत शून्यजस्तै दृश्यता भएको थियो । उनले केही स्थानीय बासिन्दा डराएको भए पनि प्रशासनले उनीहरूलाई संयमित रहन आग्रह गरेको जानकारी दिनुभयो । खरानीका कारण कृषिमा पनि असर परेको छ ।

विशेषगरी तरकारी खेतीमा क्षति पुगेको छ भने क्यामालिग क्षेत्रमा चार वटा पानी भैँसी र एउटा गाईको मृत्यु भएको बाल्डोले बताउनुभयो । अल्बे प्रान्तअन्तर्गत करिब आठ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा अहिले सफाइ र पुनःस्थापनाको काम जारी रहेको छ । निर्देशक बाकोलकोलका अनुसार हाल अवस्था केही शान्त देखिए पनि जोखिम पूर्ण रूपमा टरेको छैन । उनले मेयन ज्वालामुखी सधैँ सतर्कताका साथ निगरानीमा राखिएको उल्लेख गरे।

समुद्र सतहदेखि दुई हजार ४६२ मिटर (आठ हजार ७७ फिट) उचाइमा रहेको मेयन ज्वालामुखी यसको सममित शङ्कु आकारका कारण फिलिपिन्सको प्रमुख पर्यटकीय आकर्षण मानिन्छ । तर यही ज्वालामुखी देशका २४ सक्रिय ज्वालामुखीमध्ये सबैभन्दा सक्रिय पनि हो । यसअघि जनवरीमा साना विस्फोटहरूको शृङ्खलापछि अधिकारीहरूले पाँच–चरणीय चेतावनी प्रणालीअन्तर्गत जोखिम स्तर ३ मा बढाएका थिए ।

ती विस्फोटहरूले शिखर क्रेटरबाट गाडी बराबर आकारका चट्टानहरू बाहिर फ्याँकेको र घातक पाइरोक्लास्टिक प्रवाह उत्पन्न गरेको जनाइएको छ । चेतावनी प्रणालीअनुसार स्तर ५ पुगेको अवस्थामा ज्वालामुखीबाट अत्यन्त खतरनाक विस्फोट, लावा प्रवाह, भारी खरानी वर्षा र पाइरोक्लास्टिक प्रवाह हुने भएकाले मानव जीवनमा गम्भीर जोखिम हुने गर्दछ।