१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको सुरक्षा र आर्थिक सुधारमा सहकार्य बढाउन अध्यक्ष ढकालको जोड



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सुरक्षा, लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक सुधारलाई केन्द्रमा राख्दै सरकारसँग सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभामा  बाेल्दै उनले महासंघको पहलमा सरकारले ‘निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति’  पारित गरेको उल्लेख गर्दै यसले व्यवसायीलाई नीतिगत तथा भौतिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । ढकालका अनुसार निजी क्षेत्रको मनोबल उच्च बनाउन यस्ता नीतिगत व्यवस्था महत्वपूर्ण आधार बन्नेछन् ।

अध्यक्ष ढकालले आर्थिक सुधारलाई अगाडि बढाउन सरकार सक्रिय रहेको बताउँदै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसअनुसार केही कानुन खारेजीको प्रक्रिया अघि बढ्नु सकारात्मक संकेत भएको टिप्पणी गरे ।

लगानी विस्तारका विषयमा बोल्दै उनले स्वदेशी पुँजी परिचालनका लागि १० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना भई काम सुरु भइसकेको जानकारी दिए । सो कम्पनीमार्फत ४० देखि ५० अर्ब रुपैयाँसम्मका ठूला पूर्वाधार परियोजना अघि बढाउने लक्ष्य रहेको उनले बताए । साथै, विदेशी लगानी आकर्षित गर्न विभिन्न देशमा गरिएको ‘बिजनेस समिट’ मार्फत सकारात्मक प्रतिक्रिया प्राप्त भएको पनि उनले उल्लेख गरे ।

ढकालले नेपालको अर्थतन्त्र लामो समयदेखि औसत ४ प्रतिशत हाराहारीको वृद्धिदरमा सीमित रहेको र वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशतभन्दा कम रहेको भन्दै संरचनात्मक सुधारको आवश्यकता औँल्याए । बजार माग नियन्त्रणका नीतिगत अभ्यास र इन्धन मूल्य वृद्धिका कारण उत्पादन लागत बढ्दै गएको उनको भनाइ थियो ।

रोजगारी र युवा पलायनबारे चिन्ता व्यक्त गर्दै उनले वार्षिक करिब ७ लाख युवा विदेशिने अवस्था गम्भीर चुनौती भएको बताए । देशभित्रै मर्यादित र प्रतिस्पर्धी पारिश्रमिकसहित रोजगारी सिर्जना नगरेसम्म युवाको निराशा घटाउन नसकिने उनको भनाइ थियो ।

आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दु बनाउनुपर्नेमा जोड दिँदै उनले सुशासनका लागि प्रविधिको अधिकतम उपयोग, व्यवसाय दर्तालगायत सेवामा एकीकृत डिजिटल प्रणाली र एआईको प्रयोग आवश्यक रहेको बताए । साथै, ऊर्जा, कृषि, पर्यटन र खनिज क्षेत्रको प्रभावकारी उपयोगमार्फत आर्थिक रूपान्तरण सम्भव रहेको उनले औँल्याए ।

महासंघको ६० वर्षे यात्रालाई मुलुकको आर्थिक मेरुदण्ड सुदृढ गर्ने अभियानका रूपमा व्याख्या गर्दै उनले चुनौतीपूर्ण परिस्थितिमा पनि निजी क्षेत्रलाई संयमित र निरन्तर क्रियाशील रहन आग्रह गरे ।