२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी व्यवसायीलाई रवि लामिछानेले भने ‘डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनशाय छैन’



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् । आइतवार निजी क्षेत्रका प्रतिनिधिहरुको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हुन् । उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

उनले सरकार उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर नै अगाडी बढ्न चाहेका बताए । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनकाे भनाइ छ। विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताए । उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे। सरकार सरकारले उधोगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने उनकाे भनाइ छ  ।

तपाईंहरुको मनोबल अलिकति के भएको हो ? कस्तो भएको हो, अलिकति डर त्रास देखिएको भन्ने सुनेको कारणले तपाईंहरुसँग बसेर छलफल गर्न खोजेको हो । तपाईंहरु अलिकति पनि चिन्ता मान्न पर्दैन । यो सुशासनको एजेण्डालाई अलिकति द्रुत गतिमा अगाडी बढाउनको लागि केही प्रश्नहरु तपाईंकोसम्म आइपुगेछ भने त्यसलाई यहाँहरुले सहज रुपमा लिईदिनुहोला । तर हामी मिलेर नै काम गर्ने हो । सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने कुनैपनि उद्देश्य छैन । हामीले बोक्नुपर्ने वा अफ्ठ्यारोमा पार्नुपर्ने तपाई कोही पनि हुनुहुन्छ । त्यसैले जुन किसिमको डर भएको हो कि भन्ने तपाईंहरुमा जुन वातावरण सिर्जना भएको छ, कुनैपनि डरबाट तपाईहरु मुक्त हुनुहोला,” उनले भने ।

उनले वर्तमान सरकार चुनावमा आफूहरुले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताए । जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्रभन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीहरुलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गरे। आन्तरिक लेखापरीक्षण गर्न सुझाव दिँदै उनले विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे। नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनकाे भनाइ छ । उनले आर्थिक सुधारका लागि गरिने कानून कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड दिए। उनले विगतमा जस्तो उद्योगी व्यवसायीहरु समस्या लिएर नेताको घरघरमा पुग्न नपर्ने बताए ।

उनले भने,”यो सरकार वाचा पत्र हेरेर चल्छ । यही भनेर हामीले भोट मागेका हौँ । जनताले हामीलाई भोट दिएको पनि यो वाचा गरेको हुनाले हो । यसभन्दा अगाडि के भयो, त्यसको क्रिटिसिजममा मैले समय खेर फाल्नु नै छैन, तपाईंहरु सबैलाई थाहा पाएकै कुरा हो । हिजो जुन अवस्थामा राजनीति थियो, त्यो अवस्थामा तपाईँहरू बाध्य हुनुभयो, तपाईँहरूमध्ये दुई जनाले पनि मेरो घर देख्नुभएको छैन, होला । बाँकीलाई पनि भन्छु तपाईँले कहिल्यै मेरो घर देख्नु पर्दैन । तपाईँले कहिल्यै मेरो पार्टीको सदस्यता लिनुपर्दैन । तपाईं मेरो पार्टीको अफिसमा एक पाइलो टेक्नु पर्दैन । चाहिनै पर्दैन, जरुरतै छैन । पोलिसीले प्रोटेक्ट गर्ने हो ।”

सरकारले ५–७ वर्षभित्र मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले उक्त लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । निजी क्षेत्रको क्षमताका आधारमा नै सरकारले लक्ष्य निर्धारण गरेको उनको भनाइ छ । उनले सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेकोले निर्धक्क भएर व्यापार व्यासाय सञ्चालन गर्न आग्रह गरे ।