१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका



अ+ अ-

पर्वत। दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ ।

स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानीखेतीतर्फ आकर्षित गरेको हो ।

स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी (डल्ले खुर्सानी) उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको पैंयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाको कृषि शाखामार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानीखेती विस्तार गर्न थालिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्याङ्कनपछि चारवटा कृषि फार्म छनोट गरी कार्यक्रम अगाडि बढाइएको छ । छनोटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बीउबिजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो । उहाँका अनुसार पहिलोपटक वडा नं ६ को हाडिकखर्क कृषि तथा पशुपन्छी फार्म, वडा नं ३ को बेउलवास कृषि तथा पशुपन्छी फार्म, वडा नं ४ को बेँसीथोक कृषि तथा पशुपन्छी फार्म र वडा नं ३ मै रहेको कानुङ कृषि तथा पशुपन्छी फार्मलाई अनुदान दिएर ठूलो क्षेत्रफलमा अकबरे विस्तार गरिने भएको छ ।

हरेक फार्मले कम्तीमा दुई रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने प्रावधान राखिएको छ । अकबरे खुर्सानी नेपालका पहाडी जिल्लामा पाइने अत्यन्तै महत्त्वपूर्ण नगदे बाली हो । यसको तिखोपन, सुगन्ध र स्वादका कारण यो देशभित्रमात्र नभई बाह्य बजारमा पनि उच्च माग रहेको छ ।

गाउँपालिकाभित्र र बाहिर पनि अकबरे खुर्सानीको माग अत्यधिक आउने र मूल्यसमेत पर्याप्त पर्ने भएकाले किसानको जीवनस्तर सुधार्न सहयोग मिल्ने देखेर अकबरे खुर्सानीखेतीमा किसानलाई आकर्षित गर्न खोजिएको पैंयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । अन्य सामान्य खुर्सानीको तुलनामा यसको मूल्य धेरै हुने भएकाले किसानका लागि यो आकर्षक आम्दानीको स्रोत बन्ने उहाँको भनाइ छ ।

सानो क्षेत्रफलमा समेत राम्रो आम्दानी दिन सक्ने भएकाले साना किसानलाई पनि व्यावसायिक खेतीतर्फ लाग्न पालिकाले आग्रह गरेको छ । पछिल्लो समय बजारमा अकबरे खुर्सानीको मूल्य स्थिर र उच्च रहने गरेको देखिएकाले यसको उत्पादन विस्तारलाई दिगो आयआर्जनको आधारका रूपमा हेरिएको अध्यक्ष ठकुरीले बताउनुभयो ।

पोषणका हिसाबले पनि अकबरे खुर्सानी निकै महत्त्वपूर्ण मानिन्छ । यसमा भिटामिन ‘सी’, ‘ए’ र ‘ई’जस्ता आवश्यक पोषकतत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउने हाडिकखर्क कृषि तथा पशुपन्चछी फार्मका सञ्चालक यामबहादुर क्षेत्रीले बताउनुभयो । यसमा पाइने क्याप्साइसिन तत्वले पाचन प्रणाली सुधार गर्ने, रक्तसञ्चार सन्तुलित राख्ने तथा केही दीर्घरोगको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ । त्यसैले यो केवल मसलामात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी बालीका रूपमा रहेको क्षेत्री बताउनुहुन्छ ।

तरकारी, अचार विभिन्न परिकारमा यसको प्रयोगले नेपाली स्वादलाई अझ विशेष बनाउने गरेको छ । अकबरे खुर्सानीखेतीमा रोग, कीरा तथा मौसमीय जोखिमजस्ता चुनौती पनि कम हुने बताइएको छ । पैंयूँ गाउँपालिकाले कृषि आधुनिकीकरण, नगदे बाली प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दै यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ । रासस