२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याटिङमा सुधार र आन्तरिक प्रतिष्पर्धा टोलीका लागि सकारात्मक पक्षः दीपेन्द्र सिंह ऐरी



अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले टोलीको ब्याटिङमा सुधार आउनु र खेलाडीहरूबीचको आन्तरिक प्रतिष्पर्धा बढ्नु नेपाली क्रिकेटका लागि सुखद् पक्ष रहेको बताएका छन् ।

ओडिआई क्रिकेटमा आफ्नो दोस्रो शतक प्रहार गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ऐरीले टिमको रणनीति, युवा खेलाडीको आगमन र दर्शकको उपस्थितिका विषयमा आफ्नो धारणा राखेका हुन् । आफ्नो पछिल्लो लयका बारेमा बोल्दै ऐरीले खेलमा देखाएको एकाग्रता (फोकस) का कारण रन बनिरहेको बताए ।

खेलको अन्तिम ओभरहरूमा स्पिनरको सट्टा तिब्र गतिका बलरलाई प्रयोग गर्ने कप्तानको निर्णयको उनले बचाउ गरे ।  ऐरीले अभ्यासका क्रममा पनि डेथ ओभरमा तिब्र गतिका बलरहरूलाई नै विश्वास गर्ने योजना बनाएको र क्रिजमा दुईजना दायाँहाते ब्याट्सम्यान भएकाले अफ–स्पिनरका लागि सहज हुनसक्ने ठानेर कप्तानले पेस बलर नै रोजेको बताए ।

युवा खेलाडी अर्जुन कुमालको डेब्यु र अनुभवी विनोद भण्डारीको पुनरागमनलाई उनले टिमका लागि ऊर्जाको रूपमा लिएका छन् । नेपाल ‘ए’ को संरचना र आन्तरिक सिरिजहरूले गर्दा सिनियर टोलीका खेलाडीहरूलाई पनि राम्रो प्रदर्शन गर्न दबाब पुग्ने र यसले समग्र क्रिकेटको स्तर उकास्ने उनको विश्वास छ ।

मैदानमा दर्शकको संख्या घट्दै गएको प्रति ऐरीले खिन्नता प्रकट गरे । अमेरिका र भारत जस्ता देशमा खेल्दा समेत नेपाली समर्थकको ठूलो साथ पाउने गरेको स्मरण गर्दै उनले घरेलु मैदानमा दर्शक नआउनु दुःखद् भएको बताए । टिकटको मूल्य वा अन्य प्राविधिक कारणले दर्शक कम भएको हुन सक्ने भन्दै उनले समर्थकहरूको उपस्थिति र प्रोत्साहनले खेलाडीमा थप ऊर्जा थपिने उल्लेख गरे ।

सिरिजको अन्तिम खेलमा ओमानविरुद्ध सकारात्मक मानसिकता (पोजेटिभ इन्टेन्ट) का साथ मैदान उत्रने उनले प्रतिवद्धता जनाए । पछिल्ला खेलहरूमा ब्याट्सम्यानहरूले साझेदारी गरिरहेकाले आगामी खेलमा पनि सोही लयलाई निरन्तरता दिँदै सुखद् नतिजा निकाल्ने लक्ष्य टोलीको रहेको उनले बताए ।

संयुक्त अरब इमिरेट्स (युएई) का क्रिकेट टोलीका मुख्य प्रशिक्षक लालचन्द राजपूतले मध्यक्रमका ब्याटरबीच आवश्यक साझेदारी हुन नसक्दा आफ्नो टोलीले हार व्यहोर्नुपरेको बताए । खेलपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक राजपूतले जितको नजिक पुगेर पनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा टोली केही निराश भएको उल्लेख गरे ।

राजपूतले २८९ रनको लक्ष्य पछ्याउन सकिने भएपनि मध्यक्रममा लगातार तीन विकेट गुम्नु खेलको निर्णायक मोड बनेको विश्लेषण गरे । प्रशिक्षक राजपूतले पराजयका बाबजुद तल्लो क्रमको ब्याटिङ र खेलको प्रतिष्पर्धात्मक पक्षलाई लिएर सकारात्मक प्रतिक्रिया दिएका छन् ।

बलिङतर्फको कमजोरीबारे बोल्दै उनले टोलीका एक प्रमुख बलर घाइते हुनु दुर्भाग्यपूर्ण रहेको बताए । ती बलरले पूर्ण ओभर बलिङ गर्न नसक्दा विपक्षी टोलीले करिब २० रन बढी जोड्न सफल भएको उनको तर्क छ ।

आगामी खेलका लागि टोली सकारात्मक रहेको र ओमानविरुद्धको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने उनले बताए । घाइते खेलाडीको फिटनेसका सम्बन्धमा फिजियोको रिपोर्ट आएपछि मात्र आगामी खेलको अन्तिम निर्णय लिइने जानकारी उनले दिए । हारका बाबजुद पनि दर्शकका लागि यो खेल निकै रोमाञ्चक र मनोरञ्जनात्मक रहेको उनको टिप्पणी थियो । —न्युज एजेन्सी नेपाल