१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलका आआफ्नै जिकिर



अ+ अ-

बागलुङ । बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सत्तारुढ नेकपाको आकलन सही ठहरिएमा वाम गठबन्धनले चार हजार बढीको मतान्तरसहित उपचुनाव जित्नेछ । गत चुनावमा वाम गठबन्धनसँग तीन हजार २६० मतले पछि पर्दै काँग्रेसले पराजय व्यहोरेको थियो ।

नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाका अनुसार यसपालि वाम गठबन्धनको मत एक हजार बढ्ने अनुमान छ । “हाम्रो जित निश्चित छ, विगतको मत जोगाए मात्र पुग्छ”, उहाँले भन्नुभयो । पार्टी एकता, सङ्गठन विस्तार, सरकार र जनप्रतिनिधिले आर्जेको लोकप्रियताको जगमा गठबन्धनको पक्षमा परिणाम आउने अध्यक्ष सापकोटाको जिकिर छ ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाही चुनावी मैदानमा हुनुहुन्छ । विसं २०७४ को चुनावमा पनि राजमोकै टेकबहादुर घर्ती विजयी हुनुभएको थियो । घर्तीको गत वर्ष निधन भएपछि रिक्त प्रदेशसभा सदस्यमा उपचुनाव हुन लागेको हो । घर्तीले ११ हजार ८८४ मतसहित काँग्रेसका उम्मेदवार शेरचनलाई पराजित गर्नुभएको थियो । उपचुनावमा समेत उम्मेदवार रहनुभएका शेरचनले अघिल्लो चुनावमा आठ हजार ६६४ मत प्राप्त गर्नुभएको थियो । अहिले पनि मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र काँग्रेसबीच नै हुने निश्चित छ । अघिल्लो चुनाव जितेको वाम गठबन्धन मतान्तर बढाउने र काँग्रेस नतिजा उल्टाउने दाउमा छ । काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापा उपचुनाव आफ्नो पार्टीले जित्नेमा ढुक्क हुनुहुन्छ । “विगतका कमीकमजोरी सुधार्दै पार्टी एक ढिक्का भएर चुनावमा होमिएको छ”, उहाँले भन्नुभयो, “२२ वटै वडामा विगतको भन्दा डेढ÷दुई सयले हाम्रो मत बढ्छ ।”

वाम गठबन्धनभित्रको असन्तुष्टि, विगतको चुनावमा गरेका प्रतिबद्धता पूरा नहुनुजस्ता कारणले काँग्रेसको पक्षमा जनमत बढ्ने उहाँको बुझाइ छ । सङ्घीयताको पक्षधर नेकपा र विरोधी राजमोबीचको चुनावी तालमेल पनि अस्वाभाविक रहेको सभापति थापाको आरोप छ । काँग्रेसले गत चुनावमा त्यस क्षेत्रका तीन स्थानीय तहमध्ये निसीखोला गाउँपालिकाबाट समानुपातिकतर्फ दुई हजार ९०८ मत ल्याएको थियो । त्यस्तै तमानखोला गाउँपालिकाबाट दुई हजार १६८ र ढोरपाटन नगरपालिकाबाट दुई हजार ३४२ मत पाएको थियो । काँग्रेसका उम्मेदवार शेरचनले प्रत्यक्षतर्फ एक हजार २०० मत बढी ल्याउनुभएको थियो ।

यस्तै वाम गठबन्धनले समानुपातिकतर्फ ढोरपाटन नगरपालिकाबाट पाँच हजार ६३६, निसीखोला गाउँपालिकाबाट चार हजार २०७ र तमानखोला गाउँपालिकाबाट एक हजार ८२४ मत पाएको थियो । गठबन्धनका उम्मेदवार घर्तीले प्रत्यक्षतर्फ २१७ मत बढी ल्याउनुभएको थियो ।

स्थानीय तहको चुनावमा भने ढोरपाटन नगरपालिकामा तत्कालीन नेकपा (एमाले) र निसीखोला तथा तमानखोला गाउँपालिकामा काँग्रेसले जितेको थियो । वाम दल एक्लाएक्लै चुनाव लडेपछि स्थानीय तहको चुनाव काङ्ग्रेसका लागि सहज थियो तर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आइपुग्दा वाम दलले चुनावी ताममेल गरे । एमाले, नेकपा (माओवादी केन्द्र) र राजमोबीच गठबन्धन बन्यो ।

विसं २०७० को दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको काङग्रेसले वाम गठबन्धनकै कारण विसं २०७४ को चुनावमा हार व्यहो¥यो । काङ्ग्रेससामु वाम गठबन्धनको चुनौती यस उपचुनावमा पनि दोहोरियो । काङ्ग्रेसबाट अघिल्लो पटक पराजित शेरचन नै फेरि चुनावी मैदानमा हुनुहुन्छ । उपचुनावको दौडमा वाम गठबन्धन र काँग्रेसपछि तेस्रो शक्तिका रुपमा समाजवादी पार्टी देखिएको छ । समाजवादीले युवा उम्मेदवार अशोककुमार विकलाई अघि सारेको छ । अघिल्लो चुनावमा ५३ मत ल्याएको नयाँ शक्ति पार्टीसँगको एकतापछि बनेको समाजवादी पार्टीले उपचुनावमा मत बढाउने देखिन्छ ।

मतदाताले वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टीलाई छान्ने समाजवादी पार्टीका जिल्ला अध्यक्ष चित्र सापकोटाले बताउनुभयो । अरु पार्टीले जस्तो अव्यावहारिक र महत्वाकाङ्क्षी चुनावी आश्वासन जनतालाई नबाँडिएको उहाँको भनाइ छ । अन्य साना दल पनि जितको लक्ष्यसहित चुनावी मैदानमा छन् । गत चुनावमा ३०० मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश कुँवर चुनावी मैदानमा हुनुहुन्छ ।

राप्रपाले राष्ट्रियता, धार्मिक स्वतन्त्रता, संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायत मुद्दा उठाएको छ । राप्रपाका उम्मेदवार कुँवर यसअघि काँग्रेसबाट तत्कालीन राजकुत गाविसका वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार घर्तीले भने समयाभावमा उम्मेदवारी फिर्ता लिन नसके पनि उहाँले वाम गठबन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गर्नुभएको छ । नेकपाका स्थानीय नेतासमेत रहनुभएका घर्तीले वाम गठबन्धनप्रति असन्तुष्ट रहँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ अहिले वाम गठबन्धकै चुनाव प्रचारमा व्यस्त हुनुहुन्छ ।

के भन्छन् उम्मेदवार

वाम गठबन्धनका तर्फबाट राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताउनुभयो । “अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ”, उहाँले भन्नुभयो, “सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।” महत्वकाँक्षी योजना भन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उहाँको योजना छ ।

काङ्ग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएको, सुख–दुःखमा सघाएको, सङ्गठन बनाएको आदि कारणले चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ । “गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन”, उहाँले भन्नुभयो, “अहिले परिस्थिति फरक छ, हामी चुनाव जित्छौँ ।” उहाँले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको आरोपसमेत लगाउनुभयो । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ ।

सबै खाले विभेदको अन्त्य र समतामूलक समाज निर्माणको उद्देश्य पूरा गर्न आफू उम्मेदवार बनेको समाजवादी पार्टीका उम्मेदवार विकको भनाइ छ । गाउँमै बसेर जनताको दुःख, सुखमा सघाएकाले चुनाव जित्ने उहाँको जिकिर छ । “राजनीतिक, सामाजिक अभियानमा मेरो भूमिका छ, पछाडि पारिएका उत्पीडित वर्ग, समुदायको हितमा मैले काम गरेको छु”, विकले भन्नुभयो, “म युवा पनि भएकाले सबैको साथ पाउनेमा ढुक्क छु ।”

को हुन् शाही, शेरचन र विक

राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य हुनुहुन्छ । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ राजमोका पाका र विश्वासिला नेता मानिनुहुन्छ । यस्तै नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्नुभएका शेरचन विद्यार्थी कालदेखि नै काङ्ग्रेसको राजनीतिमा आवद्ध हुनुहुन्छ ।

ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी संघको तर्फबाट विसं २०६२ सालमा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियू सभापतिसमेत हुनुभएको थियो । काङ्ग्रेसजनमाझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ । शेरचनलाई नेपाली काङ्ग्रेसले दोस्रोपटक उम्मेदवार बन्ने अवसर दिएको हो ।

समाजवादीका उम्मेदवार विक पार्टीको गण्डकी प्रदेश सदस्य हुनुहुन्छ । समाजवादीमा प्रवेश गर्नुअघि उहाँ नेपाली काङ्ग्रेसमा आवद्ध हुनुहुन्थ्यो । गएको स्थानीय तहको चुनावमा काङ्ग्रेसको तर्फबाट ढोरपाटन नगरपालिका–१ को वडाध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । उहाँले दलित समुदायको हक, हितमासमेत काम गर्दै आउनुभएको छ ।