२३ जेष्ठ २०८३, शनिबार
,
Latest
३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटो चलाएर आत्मनिर्भर बन्दै महिला



अ+ अ-

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकेकी थिइन् ।

एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उनले राहदानीसमेत बनाइसकेकी थिइन् । त्यसैबीचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा सहभागी हुने अवसर प्राप्त गरिन्।

“तालिम लिएपछि गाउँमै केही गर्न सकिन्छ कि भन्ने आशा जाग्यो,” उनले भनिन्  । हाल वाइबाले अटो चलाउने ‘लाइसेन्स’ लिएर गाउँमै अटो चलाउन थालेकी थिइन् । अटो चलाएर गाउँमै दैनिक तीन हजार रुपैयाँ देखि पाँच हजारसम्म आम्दानी गर्न थालेकी छन् । यसले उहाँको जीविका चलाउन मात्र सहज नभएर आत्मविश्वाससमेत बढाएको छ ।

सोही गाउँपालिका–३ की अनिता वलले पनि घरको चुल्होचौकोबाट बाहिर निस्केर कसरी अर्थोपार्जन गर्न सकिएला भन्ने सोचिरहेकी थिइन् । मखमलीकै जस्तो उनलाई पनि अटोचालक तालिमले नयाँ अवसर प्रदान ग¥यो । अहिले अटो चलाएर उहाँले स्वरोजगार महसुस गरेकी छन्।

उनले भनिन् , “आफैँ कमाउन थालेपछि आत्मसम्मान पनि बढ्दो रहेछ ।” सुरूआतमा महिलाले सवारी चलाउँदा आश्चर्य र आलोचना दुवै सामना गर्नुपरेको थियो । तर अहिले अवस्था बदलिँदै गएको र यात्रुहरूले सहज रूपमा सेवा लिन थालेको उनको अनुभव छ ।

महाङ्काल गाउँपालिकाले कृषि, पर्यटनलगायत अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाबाट बाहिरिने जनसङ्ख्या घटाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।

पालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेका अनुसार अटो ड्राइभिङ तालिमले मखमली र अनिता जस्ता बेरोजगार महिलाको जीवनमा परिवर्तन ल्याएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरिएको तालिममा २२ गृहिणी सहभागी थिए, जसमध्ये १५ जनाले चालक अनुमतिपत्र प्राप्त गरेका छन् । तीमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन् ।

उपाध्यक्ष गोलेका अनुसार तालिममा सहभागीमध्ये केहीले बीचमै तालिम छाडेका थिए । तालिम लिएकामध्ये बाँकी १३ जना व्यवसायमा जोडिन प्रयासरत छन् । पालिकाले अटो व्यवसाय सुरू गर्न चालक अनुमति पत्र प्राप्त गरेका दुई जनालाई दुई लाख २५ हजार रुपैयाँको दरले आर्थिक अनुदान उपलब्ध गराएको छ ।

यसले उनीहरूलाई व्यवसाय सञ्चालन गर्न सहज भएको हो । गाउँपालिकाले अन्य १३ जनालाई पनि अनुदान उपलब्ध गराउन प्रयत्न गरिरहेको छ । “यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीयस्तरमा यातायात सेवा पनि सहज बनाएको छ,” उपाध्यक्ष गोलेले भन्नुभयो । गाउँपालिकाले वडा नं. १ देखि ६ सम्म सञ्चालन हुने अटो सेवाका लागि भाडा दरसमेत निर्धारण गरेको छ ।

केही सडक कच्ची भएकाले यात्रा चुनौतीपूर्ण भए पनि सेवा विस्तार हुँदै गएको छ । महाङ्काल गाउँपालिकाले अटो ड्राइभिङसँगै अचार बनाउने, सिलाइकटाइ, च्याउखेती लगायतका तालिम सञ्चालन गर्दै महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।