१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी पीडितलाई १० हजार



अ+ अ-

सिञ्जा । चन्दननाथ नगरपालिका–२ कालेखोलीमा आगलागीबाट पीडित भएका परिवारलाई चन्दननाथ नगरपालिकाले राहत उपलब्ध गराएको छ । आइतबार ग्यास लिक हुँदा घरमा आगो लागेपछि २४ कोठे घर जलेर नष्ट भएको थियो । नगरपालिकाले घरधनीलाई रु ६० हजार र घरभाडामा बसेका १६ परिवारलाई रु १०/१० हजार राहत रकम उपलव्ध गराएको हो ।

आगलागीबाट सबै सामान नष्ट भएकाले तत्कालीन आवश्यकता पूर्तिका लागि नगरपालिकाले थोरै भए पनि राहत रकम उपलब्ध गराएको उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिनुभयो । साँघुरो सडकका कारण दमकल समयमै लैजान नसक्दा आगो समयमै नियन्त्रणमा लिन सकिएको थिएन ।

“यो रकम प्रयाप्त होइन”, उपप्रमुख न्यौपाने भन्नुभयो,“तत्काल खाने, कपडा, भाडाकुँडा खरीदको लागि मात्र यो रकम दिइएको हो ।” उहाँका अनुसार कुनै पनि घरमा दमकल छिर्न सक्ने बाटो हुनुपर्ने, नक्सापास गरेर मात्र घर निर्माण गर्नुपर्ने, आगलागी नियन्त्रणका सामग्री हरेक घरमा राख्नुपर्नेलगायतका नीतिगत प्रावधान अघि बढाउनुपर्ने देखिएको छ ।

गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा आगलागी भएको थियो । भदौ १६ मा चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा आगलागी भएको थियो । दुवै घरमा आगलागी हुने बित्तिकै दमकललाई खबर गरे पनि निभाउन सकिएको थिएन । बाटो नभएकाले दमकल लिन सकिने अवस्था नरहेको उपप्रमुख न्यौपानेको भनाइ छ । नवराज श्रेष्ठको घरमा आगलागी हुँदा रु ६० लाख ७९ हजार र जयबहादुरको घरमा आगलागी हुँदा रु ७३ लाखको क्षति भएको थियो ।

पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेको उल्लेख गर्दै प्रमुख कान्तिका सेजुवालले दमकल, डोजर र नगरपालिकाभित्र रहेका सामान सबै तयारी हालतमा राखिएको बताउनुभयो । उहाँले आगो नियन्त्रणका सामग्री खरीद गर्ने र दक्ष जनशक्ति राखिने बताउनुभयो ।