• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल

मच्छिम र काफलडाँडामा बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छायो



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको सहयोगमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । साविक ताकम गाविसको ८ नं वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतीकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार यसअघि ताकम, हिलापोखरी र शिवाङका ३५० घरमा बिजुली बलिसकेको छ । बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको काफलडाँडाका बालकृष्ण आचार्यले बताए । काफलडाँडाका बासिन्दाले विद्युत् प्राधिकरणका प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गरेका थिए। उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको स्थानीय शिक्षक हेमराज शर्माले बताए ।

खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । फर्निचर, ब्लक, राइसमिल, कुखुरापालन सञ्चालन गर्न सकिने भएको छ । यसअघि उज्यालोका लागि पेल्ट्रिक सेट, सौर्य उपकरण र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए । ताकम विद्युतीकरण योजनामार्फत ५५२ घरमा विद्युतीकरण गर्ने लक्ष्य थियो । आरखोला टोल र छिटपुट ४२ घरबाहेक वडाका सबै बस्तीमा विद्युतीकरण भएको सचिव थापाले बताए । आरखोलामा पनि बिहीबार बिजुली बाल्ने तयारी भएको छ ।

यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको थियो । ताकम विद्युतीकरण धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको गौरवको आयोजना भएको वडाध्यक्ष कलानिधि सुवेदीले बताए । विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो । गाउँपालिकाबाट गत आर्थिक वर्षमा विनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए ।

धवलागिरि गाउँपालिकामा विद्युतीकरणका लागि सङ्घीय सरकारले गत वर्ष विनियोजन गरेको रु चार करोड ५० लाख बजेटबाट दुई ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । पहिलो चरणमा ढुङ्गाना निर्माण सेवा र दोस्रो चरणमा आचार्य निर्माण सेवाले ठेक्का पाएका थिए । दुवै कम्पनीमार्फत ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी गर्ने र करीब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानिएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनीयर हेमराज चापागाईंले बताए ।