६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
अ+ अ-

म्याग्दी। धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाड्नुभयो ।

अठार वर्षको उमेरदेखि जङ्गलमा घुम्ती गोठमा भैँसीपालेर जीविकोपार्जन गर्दै आउनुभएका पूर्णबहादुरले बढ्दो बुढ्यौलीसँगै भैँसी बेचेर घरमै बस्न थाल्नुभएको हो । “भारतीय गोर्खा सैनिकमा भर्ती हुनका लागि छनोट भएर पनि अभिभावकको आग्रह नकार्न नसकेर भैँसी पाल्न जङ्गल पसेको थिएँ”, पूर्णबहादुरले भन्नुभयो, “बढ्दो उमेरसँगै स्वास्थ्यमा समस्या देखिन थालेपछि गोठ बस्न नसक्ने भएकाले भैँसी बेचेर घरमै बस्न थालेको छु ।”

पूर्णबहादुरले भैँसी, राँगा र घ्यू बेचेर एक छोरा र तीन छोरी हुर्काएका, उच्च शिक्षा दिलाएका, घरव्यवहार चलाएको र गाउँमै खेतबारी जोडेका सुनाउनुभयो । “एउटा भैँसीबाट सुरु गरेको घुम्ती गोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो”, उहाँले भन्नुभयो, “राँगा, भैँसी र घ्यू बेचेरै घरव्यवहार चलाएको हो ।”

नयाँ पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुँदा जीविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना भए पनि दुःख गर्नुपर्ने भएका कारण घुम्ती गोठमा भैँसीपालन गर्ने चलन हराउन थालेको पूर्णबहादुरले बताउनुभयो ।

धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय कीर्तबहादुर घर्तीमगरले ६४ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गर्नुभयो । स्वास्थ्यमा समस्या देखिएपछि कीर्तबहादुरले आठ वर्षको बाल्यकालको उमेरदेखि सुरु गरेको घुम्ती गोठमा भैँसीपालन गर्ने पेसालाई बिट मारेको १० वर्ष भएको छ ।

“मेरो बाल्यकालमा गाईभैँसीको गोठ नहुने घरै हुँदैनथे”, कीर्तबहादुरले भन्नुभयो, “अहिले भएका दुईचारवटा गोठ पनि हामी वृद्धहरूले छाडेपछि हराउने अवस्था छ ।” केही दिनअघि समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानस्थित घुम्ती गोठमा भेटिएका कीर्तबहादुरले घुम्तीगोठका अनुभवहरू खुलेर सुनाउनुभयो ।

“अहिले विदेशमा गएको जस्तै हो त्यसबेला गोठमा जानु भनेको”, उहाँले सम्झनुभयो, “झरीबादल नभनी लेक र बेँसीका भिरपहरा, जङ्गलमा गोठ सार्ने हामीहरू हिउँदमा गाउँ नजिकको खेतबारीमा आउँदा घरपरिवारसँग भेट हुन्थ्यो । बर्खामा तीनचार महिना कसैसँग सम्पर्क हँुदैनथ्यो ।”

खाम्ला, खारा, बगर, जेल्तुङ, नाउरा, चौरवन, कुनावन, मचनी, दवदवे, मैरेवन, भैँसीखर्क, जिरवाङलगायत चरन क्षेत्रहरूमा भैँसीको घुम्ती गोठ लैजाने चलन थियो । पोषिलो घाँस पाइने भएकाले भैँसी पाँच हजार मिटर उचाइका बुकीमा चरनका लागि आफैँ पुग्ने गरेको अनुभव पूर्णबहादुर र कीर्तबहादुरले सुनाउनुभयो ।

बीस वटाको हाराहारीमा भैँसी पाल्दा वार्षिक १० देखि १५ वटासम्म राँगाभैँसी र २०० लिटरको हाराहारीमा घ्यू बिक्री हुने गरेको थियो । यस क्षेत्रका किसानले पाल्दै आएको लिमे र पारकोटे जातको भैँसीको आनुवांशिक स्रोत घुम्ती गोठसँगै लोप हुने खतरा बढेको छ ।

धवलागिरि गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालका अनुसार वडा नं ४ मा हाल भैँसीको सङ्ख्या ४३६ वटा रहेको छ । पशुमा पूर्णखोप कार्यक्रमका क्रममा वार्षिक रूपमा लिने तथ्याङ्कअनुसार गाईभैँसीको सङ्ख्या घट्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

परम्परागत हिसाबले घुम्ती गोठमा पशुपालन गर्दै आएका किसानले फार्म दर्ता र पशु बीमा नगरेका कारण विभिन्न महामारी रोगविरुद्धको खोप उपलब्ध गराए पनि अनुदानका कार्यक्रममा समेट्न समस्या भएको उहाँको भनाइ छ ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले घुम्ती गोठलाई आधुनिक र व्यवस्थित गर्न किसानसँग छलफल गरेर उनीहरूको आवश्यकताअनुसारका कार्यक्रम बनाएर समेट्ने प्रयास गरिएको जानकारी दिनुभयो । घुम्ती गोठका लागि त्रिपाल, सोलारलगायत सामग्री उपलब्ध गराएको बताउँदै उहाँले फरक दङ्गले घुम्ती गोठलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा रोजगारी सृजना र आयआर्जन वृद्धिको सम्भावना रहेको बताउनुभयो । रासस