२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गर्ने तयारी



अ+ अ-

काठमाडौं ।सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार क्षमतालाई सुदृढ बनाउन देशभर स्थायी तथा अस्थायी संरचना विस्तार गर्ने भएको छ । बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन ९ वटा स्थायी र ६० वटा अस्थायी विपद् व्यवस्थापन बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार हालसम्म सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लामा गरी ६ वटा नयाँ बेस स्थापना भइसकेका छन् । साथै, सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनका लागि चार वटा स्थायी अपरेशनल युनिट सञ्चालन गरिरहेको छ, जसमा कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षालय, सप्तरीको विशेष कार्य शिक्षालय र विपद् उद्धार गण रहेका छन् ।

एआईजी ठाडा मगरले विपद् व्यवस्थापनमा दक्ष जनशक्ति परिचालन गरिएको जानकारी दिँदै हालसम्म ४ हजार ५१३ जनाले विशेष तालिम प्राप्त गरिसकेको बताए। ती जनशक्तिलाई आवश्यकताअनुसार विभिन्न युनिटमा परिचालन गरिएको छ । साथै, हेडक्वार्टरदेखि सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म विपद् प्रतिकार्यका लागि ८ हजार ११० जना सशस्त्र प्रहरी कर्मचारी समावेश गरी विशेष टोली गठन गरिएको छ ।

उनका अनुसार गत वर्षदेखि सुरु गरिएको ‘विपद् स्वयंसेवक तालिम’ कार्यक्रममार्फत स्थानीय तहमा समेत जनशक्ति उत्पादन भइरहेको छ । गत वर्ष ९९० जनाले तालिम लिएका थिए भने यस वर्ष हालसम्म २२९ जनाले तालिम पूरा गरेका छन् र थप १३५ जना प्रशिक्षणरत छन् । प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक (स्वयंसेवक) विकास गर्ने लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको छ ।

तर, दक्ष जनशक्ति भए पनि आवश्यक उद्धार सामग्रीको अभावले अपेक्षित रूपमा काम गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ । देशभर रहेका ५४७ युनिटमध्ये धेरैमा आधारभूत सामग्री अपुग रहेको उल्लेख गर्दै विपद् प्राधिकरण, गृह मन्त्रालय तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरी सामग्री व्यवस्थापनको प्रयास भइरहेको जानकारी दिइएको छ ।

बैठकमा वर्षायाम सुरु भएसँगै आगलागी, बाढी, पहिरो, महामारीलगायत विपद्जन्य जोखिम न्यूनीकरण, प्रतिकार्य तथा पुनर्लाभ तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो ।