२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः महानिरीक्षक कार्की



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर बुलिङसहित साइबर अपराध तीव्र रूपमा बढिरहेको बताउनुभएको छ । उहाँका अनुसार इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगसँगै महिला तथा युवाहरू बढी प्रभावित हुनेगरी यस्ता अपराधका घटना बढ्दै गएका छन् ।

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले पछिल्लो तथ्याङ्क अनुसार साइबर अपराधका विभिन्न स्वरूपमा उजुरीहरूको संख्या उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सञ्जालमा फेक एकाउन्टमार्फत घृणा फैलाउने सम्बन्धी मात्रै ४ हजारभन्दा बढी निवेदन प्रहरीमा दर्ता भएका छन् । त्यस्तै बुलिङ र ह्यारेसमेन्टसम्बन्धी ३ हजारभन्दा बढी घटना दर्ता भएका छन् भने वित्तीय अपराधसम्बन्धी उजुरी १० हजारभन्दा बढी पुगेको छ ।

महानिरीक्षक कार्कीले एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की (थ्रेट) दिने तथा यौनजन्य हिंसासम्बन्धी गतिविधिहरू पनि बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले इन्टरनेटको व्यापक प्रयोगसँगै साइबर अपराधका स्वरूपहरू जटिल बन्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा साइबर बुलिङका घटनाहरूको वृद्धि भएको देखिन्छ, अहिले तथ्याङ्कअनुसार सबैभन्दा बढी वित्तीय अपराध १० हजार पुगेको अवस्था छ । फेक एकाउन्ट ४ हजारभन्दा माथि छन् । बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटनाहरू रिपोर्ट भएका छन् । एकाउन्ट ह्याकिङ, पैसा चोरी गर्ने, थ्रेट दिने लगायतका घटनाहरू छन् । इन्टरनेटको बढ्दो प्रयोगका कारण महिला र युवा बढी प्रभावित भएका छन् ।”

महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले अनुसन्धानका लागि आवश्यक विवरण प्राप्त गर्न ठूलो चुनौती रहेको पनि स्पष्ट पार्नुभयो । नेपालमा ती प्लेटफर्महरूको प्रत्यक्ष कार्यालय र कानुनी उपस्थिति पर्याप्त नभएकाले अनुसन्धान प्रक्रिया ढिलो हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट प्रयोगकर्ता विवरण प्राप्त गर्न अहिले व्यक्तिगत सम्बन्धमा भर पर्नुपर्ने अवस्था छ, जसका कारण विवरण प्राप्त गर्न २० देखि २५ दिनसम्म लाग्ने गरेको छ । सामान्य ह्यारेसमेन्ट वा बुलिङका घटनामा पनि युजरनेम प्राप्त गर्न करिब एक हप्ता लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । गम्भीर प्रकृतिका घटना जस्तै नाबालक हराएको वा आत्महत्या सम्बन्धी अवस्थामा भने २४ घण्टाभित्र विवरण उपलब्ध हुने गरेको छ ।

उहाँले नेपालमा अधिकांश प्रयोग हुने सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नभएकाले अनुसन्धान र कानुनी प्रक्रिया दुवै प्रभावित भएको बताउनुभयो । हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र कपोकोलाइभ मात्र नेपालमा आधिकारिक रूपमा दर्ता भएका छन् । तर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा नेपालमा दर्ता नभएको उहाँले उल्लेख गर्नुभयो ।

कार्कीका अनुसार ह्वाट्सएप, डिस्कोर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब, जिमेललगायतका प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा कुनै पनि प्रभावकारी प्रतिक्रिया प्राप्त नहुने समस्या रहेको छ । मेटासँग विवरण माग्दा पनि करिब एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले साइबर अपराध नियन्त्रणका लागि स्पष्ट कानुनी व्यवस्था, डिजिटल प्लेटफर्महरूको नेपालमा अनिवार्य दर्ता तथा अनुसन्धानमैत्री संरचना आवश्यक रहेकोमा जोड दिनुभयो । हालको कानुनले मात्र साइबर अपराध नियन्त्रण गर्न नसकिने उहाँको भनाइ छ ।

महानिरीक्षक कार्कीले साइबर अपराधमा संलग्नलाई कडा कारबाही गर्न सकिने गरी नयाँ कानुन निर्माण गर्न सरकारसँग आग्रह पनि गर्नुभएको छ ।