१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सागको दोस्रो दिन काठमाडौं र पोखरामा १२ खेल हुँदै (सम्पूर्ण जानकारी सहित)



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुने भएको हो । सागमा सोमबार काठमाडौंमा हुने खेलहरु तेक्वान्दो, कराते, पुरुष फुटबल, भलिबल, खो खो, टेबल टेनिस, टेनिस, गल्फ, र उसु रहेका छन् भने ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन खेल भने पोखरामा हुनेछ ।

आज तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ । पुरुष फुटबलमा सोमबार खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा हुनेछ । पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । सेमिफाईनलमा हारेका दुई टिम तेस्रो स्थानका लागि भिड्नेछन् ।

पुरुष भलिबलमा तेस्रो स्थान हासिलका लागि बंंगलादेश र श्रीलंका भिड्नेछन् । खेल दिउँसो २ बजे सुरु हुनेछ । महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा खेल अपरान्ह ४ बजे सूरु हुनेछ । त्यसैगरी खो खोमा आज पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश साथै नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल १० बजे हुनेछन् । कीर्तिपुरको नयाँ बजारमा सोही दिन श्रीलंका र नेपाल अपरान्ह ४ बजे र भारत र बंगलादेश साँझ ५ बजे भिड्नेछन् ।

महिला स्पर्धामा नेपाल र भारत बिहान ११ बजे र श्रीलंका र बंगलादेश मध्यान्न १२ बजे प्रतिस्पर्धा गर्नेछन् । सोही दिन श्रीलंका र नेपाल साँझ ६ बजे र भारत र बंगलादेश साँझ ७ बजे भिड्नेछन् । यता साग अन्तर्गत कराते खेल पनि आजबाट सुरु हुनेछ । खेल बिहान ९ बजेबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ । सोमबार ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरी नेपालले सर्वाधिक स्वर्णको आशा गरेको तेक्वान्दो आजबाटबार सुरु हुँदैछ । तेक्वान्दो पनि सातदोबाटोस्थित तेक्वान्दो हलमा खेल बिहान ९ बजेबाट सुरु हुनेछ । तेक्वान्दोमा सोमबार सर्वाधिक १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पोखरामा हुने अर्को खेल ब्याडमिन्टनतर्फ आज पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल र फाइनलको खेल हुँदैछ । नेपालले सेमिफाइनलमा श्रीलंकासंग प्रतिष्पर्धा गर्नेछ ।

नेपालको लागि पुरुष टिम इभेन्टमा दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले खेल्ने छन् भने महिला टिम इभेन्टमा रसिला महर्जन, नङ्शल तामाङ र जेसिका गुरुङले प्रतिस्पर्धा गर्ने छन् ।यस्तै टिम इभेन्टको फाइनल खेल पनि भोली नै हुने छ । सेमिफाइनल पुगेको नेपालले यसअघिनै टिम इभेन्टमा पदक पक्का गरिसकेको छ । सेमिफाइनलको खेल पोखरा रंगशालाको कभर्ड हलमा बिहान १० बजे सुरु हुने भएको छ । यसैको साथमा पोखरामा हुने महिला क्रिकेटमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

यस खेल नेपाली महिला क्रिकेट टिमका लागि घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय खेल समेत हुनेछ । महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको छैन । टेबल टेनिसका खेल पनि आजबाट सुरु हुदैछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।

टेनिस:लन टेनिसको प्रतिस्पर्धा पनि सोमबारबाट सुरु हुनेछ । सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ । बिहान नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ । पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दैछ ।

गल्फ:साग अन्तर्गत गल्फ सोमबारबाट सुरु हुनेछ । गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ ।

उसु:उसुको औपचारिक उद्घाटन सोमबार हुनेछ । उद्घाटन लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।

ट्रायथलन:पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुनेछ । सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।