काठमाडौं: पछिल्ला केही दिन यता नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच फेरि एकता हुने चर्चा चुलिएको छ । गत फागुनको आम निर्वाचनमा शर्मनाक हार भएपछि दुबै पार्टीका शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छटपटी बढेको छ, उनीहरु पार्टी एकता वा बाम एकता गर्ने भन्दै तयारीमा लागिसकेको स्रोतहरुले बताएका छन् ।
हिरासत सहित उपचारका क्रममा त्रिवि अस्पतालमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका नेकपाका संयोजक प्रचण्डले करिब ४५ मिनेट वार्तालाप गरेर बाहिरिए पछि बाम एकताको कुरा फेरि चुलिएको हो ।
पार्टी भित्र वा सरकारमा आफू अनुकूल वा बलियो भएको परिस्थितिमा एकअर्काको उछित्तो काड्ने, घृणा र द्वेशयुक्त शब्दबाट एकअर्कालाई प्रहार गर्ने ओली र प्रचण्डको पुरानै शैली हो । अनि, प्रतिकूल परिस्थिति उत्पन्न हुनासाथ ती तिक्तता बिर्सेर बाम एकताको राग अलाप्नु कुनै आश्चर्य होइन । पार्टी सिद्धान्तबाट च्यूत भएका यी दुबै नेता युवा र तल्लो पुस्ताका आवाजलाई बेवास्ता गर्ने मात्र होइन उनीहरुको हुर्मत लिन पनि पछि पर्दैनन् ।
बाम इतिहास हेर्दा देखिन्छ, यो प्रयोग पटक पटक असफल हुँदै आएको छ । बदलिएको राजनीतिक परिस्थिति र निर्वाचन पछि थलिएको पार्टीबाट बिमुख हुने बाटोमा दुई नेताले विशेष गरेर आफूहरु केही समय सुरक्षित हुने उपाय खोज्न बाम एकताको राग अलापेपछि दुबै पार्टी भित्रबाट त्यसको आलोचना सुरु भएको छ ।
पार्टीभित्र मध्यमार्गी धारको प्रतिनिधित्व गर्ने एमाले उपाध्यक्ष बिष्णु पौडेलले निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताउनुभएको छ ।
पौडेल मात्र होइन महासचिब शंकर पोखरेलले पनि वाम एकताका सन्दर्भमा भएको मिडिया ट्रायललाई लिएर असन्तुष्टि जनाउनु भएको छ ।
उहाँले लेख्नुभएको छ- आजभोलि सामाजिक सञ्जालमा मनोगतरुपमा भ्रमपूर्ण एजेन्डा सेटिङ गर्ने र त्यसैलाई आधार बनाएर बहस चलाउने प्रवृत्ति तीव्र रूपमा बढ्दो छ। जुन संस्था वा व्यक्तिबारे बहस गरिन्छ, उनीहरूको आधिकारिक धारणा बुझ्ने आवश्यकता नै नदेख्ने, र कतिपय जिम्मेवार व्यक्तिहरू समेत अपुष्ट र भ्रमपूर्ण विषयका आधारमा प्रतिक्रिया दिन हतारिने गलत चलन बढिरहेको छ।
यसरी भाइरल हुने नाममा ग़म्भीर विषयमा गरिने सस्तो टिकाटिप्पणीले समाजमा भ्रम, अविश्वास र अनावश्यक कटुता मात्र बढाउँछ। तसर्थ कुनै गम्भीर विषय संजालमा देखिएमा तथ्य जाँचौं, आधिकारिक स्रोत सुनौं, अनि जिम्मेवार बहसको संस्कार बसालौं।
उहाँले थप लेख्नु भएको छ, यतिबेला नेकपा (एमाले) आम निर्वाचन २०८२ मा बेहोर्नु परेको पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको छ। निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ। प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने छ ।
निर्वाचन समीक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ।
निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ। त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रुपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ ।
यसैगरी अर्का प्रभावशाली नेता प्रदीप ज्ञावलीले पनि अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो भन्दै वामपन्थी एकताका बारेमा असन्तुष्टि जनाउनु भएको छ ।
उहाँले लेख्नु भएको छ, कुनै संस्थागत निर्णय भएको थाहा छैन, तर मिडियातिर ‘वामपन्थी एकता’ को चर्चा सुरू भएछ ।
पहिलो त, आजको चुनौती वामपन्थी या कम्युनिस्ट आन्दोलनको दायरामा मात्र सीमित छैन । नेपालले लामो प्रयत्न पश्चात् आर्जेको प्रगतिशील लोकतान्त्रिक स्पेस नै साँघुरिँदै गएर सर्वसत्तावादी शासकीय शैलीतिर उन्मुख हुँदै गरेको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली होइन, नवउदारवादी बजार स्वच्छन्दतातिर आर्थिक दिशा सोझिँदै गरेको र स्थापित विधि, कानुनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा स्वेच्छाचारिता र तिलस्मी नायकहरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठुलै हिस्सा प्रभावित भएको समयमा हामी छौँ ।
त्यसैले सङ्कटलाई फराकिलो क्यानभासमा राखेर हेरिनु पर्छ र तदनुरूपकै नीति अवलम्बन गरिनु पर्छ ।
अर्को, यतिबेला वामपन्थीहरू सहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन् । धक्का एमालेले पनि खाएको छ, दर्जन बढी समूह ‘एकीकृत’ गरेर बनेको नेकपाले पनि । ‘विद्रोह’ गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि । समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन ।
यस्तो अवस्थामा पहिलो कदम भनेकै सङ्कटको गांभीर्यबोध, निर्मम आत्मसमीक्षा र व्यापक सुधार/पुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनु हो । पहिले आफू तङ्ग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुन सक्छ ।
अन्यथा यस्ता छलफल या त बौद्धिक विलासितामा सीमित हुन्छन्, या आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुन जान्छन् ।
नेता सुरेन्द्र पाण्डेले पनि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि यस्ता हल्ला चलाइएको जनाउनु भएको छ ।
उहाँले लेख्नुभएको छ
हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि वाम एकताको दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका नेता रामप्रसाद सापकोटाले पनि कम्युनिस्ट पार्टी सामान्य सुधार होइन क्रमभंग र प्रलयकारी रूपान्तरण आवश्यक रहेको जनाउनु भएको छ ।
उहाँले लेख्नुभएको छ, नेपाली कम्युनिस्ट पार्टी सामान्य सुधार होइन क्रमभंग र (प्रलयकारी) रूपान्तरणको निर्णय गर्नुपर्छ अहिलेको संगठनात्मक संरचना बोकेर गएर माछा होइन भ्यागुतो पनि हात लाग्दैन ।
अम्रेला आकारको सबै संगठनात्मक संरचना भंग गरेर जिरोबाट सुरू गरौ ।
भदौ २३ र २४ गतेको जेन जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा आफू चैत १४ पक्राउ परेपछि सडकबाट सरकारलाई पर्याप्त दबाब दिने अनुमान ओलीको थियो । तर पार्टीका कुनै पनि शीर्षनेता उत्साहजनक रुपमा सडकमा निस्किएनन् भने कार्याकर्ताले ओली पक्राउलाई खासै गम्भीरतापूर्वक लिएनन् । जसका कारण हिरासत सहितको अस्पताल बसाईका क्रममा भेट्न जानेहरुलाई आक्रोश पोख्न थालेपछि भेटघाट गर्न जानेहरु पनि कम भएका थिए ।
त्यसैगरी पछिल्ला समयमा ओलीका प्रियपात्र तथा पूर्व माओबादी र हाल एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा बोलेको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विरोध भएको भन्दै असन्तुष्ट जनाएका ओलीलाई हिजोका खास कुनै पनि सारथीले साथ दिएनन् । जसका कारण ओलीले फेरि पुष्पकमल दाहालको काँधको साथ खोज्न थालेका हुन् भने दाहाललाई पनि ओलीको साथ पाए संसदमा ठूलो दल बन्दै प्रमुख प्रतिपक्ष दलको नेता बन्न पाइने र संवैधानिक परिषद्को सदस्य हुन पाइने महत्वकाँक्षा जागृत भएको देखिन्छ ।
यो पनि पढ्नुहोस – एमालेभित्र मडारिएको ‘बादल’
यसअघि पनि ओलीले सरकारमा रहँदा होस् वा पार्टीको भूमिकामा रहँदा छाड्न परे कुर्सी नै भाँचिदिने त बताउँदै आएका थिए । यसपटक पनि उनले कुनै न कुनै रुपमा रहने नसके भाँच्न प्रयास गर्ने त्यो पनि नभए पार्टी भित्रका नेताहरु देखाइ दिने नाममा अर्को कुनै एकल सम्झौता नगर्लान भन्न सकिन्न ।
एमालेका एक सचिवालय सदस्यका अनुसार ओलीको आवश्यकता ठान्ने उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेत मात्र छन् । अरु सबै उहाँको बहिर्गमनको प्रतीक्षामा छन् । स्वबहिर्गमन नभए हस्तक्षेप गरेर विस्थापित गर्ने तयारी भएको ती नेताले जानकारी दिए ।
उनले भने अध्यक्ष ओलीलाई हटाएर पार्टी आन्दोलन पुनर्गठन त हुन्छ नै त्यसपछिको नेतृत्वका बारेमा खासै समस्या छैन । विशेष महाधिवेशन गरेर पार्टीलाई ट्रयाकमा ल्याउने हो ।
सम्भवत: अब बस्ने सचिवालय बैठकमा ओलीको बहिर्गमनको विषय औपचारिक रुपमा प्रवेश हुनेछ भने रामबहादुर थापाले संसद र पोखरामा दिएको अभिव्यक्तिका बारेमा पनि गम्भीर समीक्षा हुने र दुबै वक्तब्यलाई अस्वीकार गर्ने अवस्था आउने ती सचिवालय सदस्यले जानकारी दिए ।
एमालेमा ओलीलाई र नेकपाबाट दाहाल नेतृत्वबाट बिदा गर्न आन्तरिक छलफल तीव्र भइरहेको बेला दुई नेताले समात्न खोजेको बाम एकताको त्यान्द्रोले दुई नेताको गहिराइबाट तत्कालका लागि उद्धार त गर्ला तर छिन्यो भने फेरि कहिल्यै उठ्न नसक्ने गरी बजारिने छ । त्यसको क्षति अहिलेको भन्दा पनि बढी नहोला भन्न सकिन्न ।











