२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेभित्र मडारिएको ‘बादल’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं तत्कालीन नेकपा (माओवादी) का युद्ध रणनीतिकार मध्येका एक मानिएका रामबहादुर थापा बादलले पछिल्ला दिनहरूमा संसद र सडकमा दिएका अभिव्यक्तिलाइ लिएर जबजका अनुयायी ठान्ने स्वयं एमाले वृत्तमा तरङ्ग ल्याएको छ ।

अन्तर्यमा कारणहरू जेसुकै हुन्, चुनावमा लज्जास्पद पराजय व्यहोरेर विलखबन्दमा परेको नेकपा एमालेलाई थापाको अभिव्यक्तिले झनै समस्यामा पार्दै गएको स्पष्ट देखिन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चैत १४ गते प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीको कार्यवाहक अध्यक्ष जस्तो हाइकमान्ड सम्हाल्न पुगेका थापाका अभिव्यक्ति विवादास्पद रहेकामा ओली इतर खेमा र मध्यमार्गी नेतागणले लगातार प्रश्न उठाइरहेका छन् ।

पार्टीभित्र युवाले पार्टी र संसदीय मोर्चाको नेतृत्वमा पर्याप्त अवसर नपाएको भन्दै चौतर्फी आलोचना भइरहेकै बखत थापा स्वयं संसदीय दलको नेतामा चुनिए । टिठलाग्दो कुरा त, उनी इलामबाट प्रत्यक्ष चुनाव जितर आएका युवानेता सुहाङ नेम्बाङसँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिए, र जिते पनि । दलको नेता चयनका लागि चुनावको माग गरेका सांसद नेम्वाङले प्रस्तावक र समर्थक नै नपाउने अवस्था उत्पन्न गराएर थापा दलका नेता बनेका थिए ।

उनै थापाले संसदको पहिलो बैठकमा दिएको अभिव्यक्ति विवादको घेरामा पर्‍यो ।

थापाले संसदमा भनेका थिए

यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क,कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यत: नेपाली सेना,ब्युरोक्रेसी,सुशीला सरकार,कार्की आयोग,बारबरा फाउन्डेसन आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो।त्यसैले, ती संस्था तथा पात्रहरूलाई म हरूलाई पनि म नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।

यो विजयका लागि बाह्य दृष्टिले ककसले निर्णायक भूमिका निर्वाह गरे ? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने, अदृश्य शक्तिहरू गोयवल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संघीयता,धर्म निरपेक्षता, शान्ती र समृद्धिका नायकहरुलाई रबूखार ‘खलनायक’ र ‘हत्यारा’ को रुपमा स्थापित गरे, जसले सिंहदार जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई ‘महानायक’ बनाए ती संस्था तथा पात्रहरूले नै बाह्यरूपमा यो जादुमय विजयमा निर्णायक भूमिका निर्वाह गरे। त्यसैले,यस ऐतिहासिक क्षणमा म ती सबैलाई पनि नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।

उनले भनेका थिए, यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरु जन्माएको छः

१) कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवास, प्रहरी चौकी,व्यावसायिक प्रतिष्ठान आदि सुनियोजित ढंगबाट जलाइयो ?

२) कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो  ?

३) कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्धहरु २३्,२४ गते तिलस्मीरुपमा प्रकट भए ?

४)कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी ढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो ?

५) कुन उद्देश्य पुर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ?

६) कुन उद्देश्य पूर्तिका लागि देशव्यापी दमनचक्र र राज्य आतंक मचाउँदै छ ?

७) कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको सङ्गठित हुने ‘मौलिक अधिकार’ बलात खोसिँदै छ ?

८) कुन उद्देश्यका लागि आतंक सिर्जना गरिँदैछ ?

निश्चय पनि भविष्यले यसको सही जवाफ दिँदै जानेछ। तर यी प्रश्नहरु र यस्तै-यस्तै प्रश्नहरु हामी सम्पूर्ण ताकत सहित राज्यलाई सोध्ने छौं,निरन्तर यो गरिमामय सदनमा हाम्रो आवाज घन्काउने छौं ।

थापाको अभिव्यक्ति सार्वजनिक भए लगत्तै एमालेवृतमा खैलाबैला मच्चियो । केहीले बादलको बचाउ गरे पनि अधिकांशले यसको विपक्षमा लेखे । सामाजिक संजाल, अनलाइन माध्यम, अखबार, विद्युतीय माध्यममा खुलेरै अभिव्यक्ति राखिए ।   एमालेका मध्यमार्गी धारको भनि चिनिएका नेताहरुले थापाको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै त्यो पार्टीको धारणा नहुने स्पष्ट पारे । उपाध्यक्ष बिष्णु  पौडेल, उपमहासचिव योगेश भट्टराइ, नेता सुरेन्द्र पाण्डे, खिमलाल भट्टराइ लगायतका नेताहरुले कडा आपत्ति जनाउँदै थापा एमाले नै बन्न नसकेको समेत टिप्पणी गरे ।

नेता पौडेलले तत्काल सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाएका थिएः

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।

उपमहासचिव योगेश भट्टराईले लेखेका छन्ः जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा बैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो । जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुन: जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो । यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ । संसद वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ ।

उपमहासचिव योगेश भट्टराईले बादल लक्षित कटाक्ष गर्दै छोक पनि लेखेका छन्ः

छोक (छोटकरी कविता)

बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

नेता सुरेन्द्र पाण्डे लेख्छन् 

राजनीतिमा वैचारिक स्पष्टता सबैभन्दा ठूलो शक्ति हो। नेकपा (एमाले) को आफ्नै गौरवशाली इतिहास, आफ्नै संघर्षको जग र आफ्नै मौलिक सिद्धान्त छ।

हामीले स्पष्ट हुनुपर्छ -‘माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैन। एमालेको मूल बाटो ‘जनताको बहुदलीय जनवाद’ (जबज) हो, जसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्छ।

पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आउनुभएका साथीहरूको आफ्ना भोगाइ र बुझाइ हुन सक्छन्, तर जब हामी एमालेको झण्डामुनि गोलबद्ध हुन्छौं, तब हाम्रो बोली र व्यवहार पार्टीको दस्तावेजसँग मेल खानुपर्छ। संसदमा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई ‘पार्टी लाइन’ भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ। त्यसमाथि, यस्ता अतिवादी र उग्र दृष्टिकोणहरूले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछन्।

आजको आवश्यकता विगतका द्वन्द्वकालीन बाटोहरूको गौरवगाथा गाउनु होइन, बरु शान्तिपूर्ण लोकतान्त्रिक पद्धतिबाटै मुलुकको आर्थिक रूपान्तरण कसरी गर्ने भन्नेमा केन्द्रित हुनु हो। एमालेलाई एमालेकै रूपमा मौलिक र सुदृढ राख्न हामीले आफ्नो वैचारिक धरातल कहिल्यै बिर्सनु हुँदैन।

नेता खिमलाल भट्टराई लेख्छन्

हाम्रो पार्टी नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा दलका नेता कमरेड राम बहादुर थापा “वादल” ले हिजो चैत्र २५ गते, पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई संवोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेश गर्नुभयो त्यो पार्टी नीति र एमाले स्कुलीङका विरुद्ध छ ।
कव्जा, आक्रमण, दुश्मन आदि शव्दावलीहरु एमालेका होइनन् ।

जनताको बहुदलीय जनवादको मार्गदर्शन बिल्कुल यो होइन ।

हामी कब्जा होइन, जनताको मन जितेर प्रतिष्पर्धामा श्रेष्ठ हुन्छौ, कव्जा हाम्रो नीति होइन । हामीले आक्रमण होइन शान्तिपूर्ण संघर्षबाट विजयलाई सुनिश्चित गर्छौ । हामी प्रतिष्पर्धा गर्छौ दुश्मनी गर्दैनौं । एमालेको संघर्षको नीति यो हो ।

कार्यवाहक अध्यक्षज्युलाई सिकाउन खोजेको विलकुल होइन, उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको हुँ । उहाँले आज नेकपा (एमाले) कुन अवस्थामा छ भन्ने आँकलन र कसरी कार्यकर्ता र शुभेच्छुकको पंक्तिलाई परिचालन गर्ने भन्ने कुराको तरीका पनि ठम्याउन सक्नु भएन । उहाँमा विलकुल युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृति देखियो ।

व्यक्तिगतरुपमा उहाँलाई मैले सैध्दान्तिक चेत भएको कम बोल्ने भद्र नेताकारुपमा लिन्थे । उहाँको यो भाषण देखेपछि पुरानो होकि वा एआईले पो गडवड गरेछकि भन्ने लागेर अलि बुझ्न खोजें । तर अहिलेकै र वास्तविक रहेछ । वास्तवमा मलाई दुःख लाग्यो । पार्टीको आजको खलवलिएको अवस्थामा नेतृत्व लिनु भएका मुख्य जिम्मेवारको अवस्था यो छ । उहाँले न पार्टीको अवस्था न दृष्टिकोण दुवै बुझेको देखिएन । फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो । कार्यवाहक र दलको नेताको जिम्मेवारी दिनु हुने आदरणीय पार्टी अध्यक्ष कमरेड र सचिवालयका कमरेडहरुले बेलैमा सोच्नुहोस् ।

चैत १९ गते दिएको थापाको विवादास्पद अभिव्यक्तिलाई चैत्र २० गते बसेको सचिवालयको आकस्मिक बैठकले सच्याउँदै उहाँलाई सचेत समेत गरायो ।

सचिवालय बैठकले गरेको निर्णय यस्तो थियो 

यही २०८२ चैत १८ गते सम्पन्न नेकपा एमाले, संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरु प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । दल नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो । निर्वाचन समितिले निर्धारित प्रक्रिया पुरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन भन्ने कुरा सबैलाई स्पष्ट पार्न चाहन्छ । र, लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रुपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न समस्त पार्टीपङ्क्तिलाई आह्वान गर्दछ । यस निर्वाचनका सम्बन्धमा पार्टीपङ्क्ति, खासगरी युवापङ्क्तिबाट प्राप्त भएका सकारात्मक सुझावहरुलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ ।

थापाले सो बैठकमा आफूलाई अध्यक्ष र उहाँको सचिवालयबाट लिखित रुपमा प्राप्त कुरा नै राखेको भन्दै पानी माथीको ओभाने हुने प्रयास गरे । थापाले अभिव्यक्ति आफ्नो नभएको र आफू निमित्त पात्र मात्र भएको भन्दै जानकारी गराएपछि एमालेका परम्परागत नेताहरुले गलत बाटोतिर लागेका थापा एमाले बन्दैछन् भन्नेमा केही आशाबादी देखिए तर चैत्र २५ गते पोखरा पुगेर थापाले झन आक्रामक अभिव्यक्ति दिए ।

उनले आगामी वैशाख १२ गते काठमाडौँमा ठूलो केन्द्रीकरण गरिने र यो संघर्षको शृंखला विजय प्राप्त नभएसम्म जारी रहने बताए । ‘हाम्रो मुख्य लक्ष्य अहिले अध्यक्ष कमरेडलाई कैदबाट मुक्त गर्ने हो, यसका लागि सबै कमरेडहरू उत्साहपूर्वक लाग्नुपर्छ,’ उनले भने । सदनमा पार्टीको लाइन अनुसार बोलेको दाबी गर्दै थापाले संसदीय दलको नेताको हैसियतमा संसदमा गरेको सम्बोधनले पार्टीभित्र तथा पार्टी बाहिरका अवसरवादीमाथि प्रहार गरेको गरेको भन्दै मध्यमार्गी एमालेका नेताहरुमाथि फौजी हमलाको शैलीका प्रहार गरे ।

उनले भने ‘पार्टीको उपाध्यक्षले एउटा सार्वजनिक स्टेटमेन्ट उहाँले जारी गर्नुभयो कि दल नेताले त्यहाँ जुन धारणा राख्नुभयो, संसदमा, त्यो पार्टीका स्थापित मान्यता विपरीत छ। त्यसमा घोर आपत्ति छ। यो बारेमाचाहिँ सचिवालयको बैठक राखेर चाहिँ उपयुक्त निर्णय लिइने छ ।’

निरन्तर थापाको यस्ता अभिव्यक्ति पछि एमालेकाे ठुलो हिस्सा झस्किएको छ । विशेष गरेर सेना र प्रशासन माथिको निरन्तर आक्रमणले एमालेलाई निकै अप्ठ्यारोमा पारेको छ । किनकी थापाले नेपाली सेनामाथि हेर्ने दृष्टिकोण  एमाले अरु नेताहरुको भन्दा फरक छ ।

२०६६ बैशाख २० गते नेपाली सेनाको तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाइ पदबाट अवकाश दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री थापाले आफ्ना सारा शक्ति खर्चिएका थिए । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले निकै सुझबुझपूर्ण निर्णय दिँदै प्रधानसेनापति कटवाललाई थमौतीपत्र दिएर दाहाल र थापाको प्रयासलाई बिफल तुल्याएका थिए ।

२०६४ को संविधानसभा निर्वाचनको परिणामले सबैभन्दा ठूलो दल बनाएपछि माओवादीमा शक्तिको अहङ्कार थियो, र यहि अहङ्कारमा थिए थापा । थापाको नेपाली सेनालाई लिएर हेर्ने दृष्टिकोण सकारात्मक थिएन र त्यो आज पनि देखियो ।

एमालेसँग थापाको सम्बन्ध गाँसिएको एक दशक पनि भएको छैन। २०७४ सालमा एमालेसँग उनको सहकार्य सुरु भएको हो पुष्पकमल दाहाललाई छाडेर केपी ओलीसंग निकट बनेपछि उनी र उनको परिवार निरन्तर लाभको पदमा रहेको छ । गृहमन्त्री, श्रीमती नैनकला थापा समानुपातिक सांसद र सञ्चारमन्त्री, फेरि आफू राष्ट्रियसभा सदस्य हुँदै समानुपातिक तर्फबाट यस पटक प्रतिनिधिसभामा सांसद बनेका छन् ।

२३ फागुन २०७८ मा सर्वोच्च अदालतले नेकपाको एकतालाई मान्यता नदिएपछि थापा माओवादीतर्फ नगई एमालेमा लागे जुन राजनीति पद प्राप्तिका लागि निकै फाइदाजनक भयो ।

राजनीतिक जीवनमा निकै कठिन अवस्था भोगिरहेका एमाले अध्यक्ष केपी ओलीले सबैभन्दा बढी विश्वासपात्र उनै थापा भएका छन् । चुनावी परिणाम प्रतिकूल भएपछि रक्षात्मक बनेका ओलीका लागि पार्टीमा शक्ति कायम राख्ने सबैभन्दा उपयुक्त पात्रका रूपमा थापा देखिएका छन् । अध्यक्ष ओली र एमालेको गिर्दो साखलाई थापाले जोगाउँछन् वा दोस्रो कटवाल काण्ड गराए झैँ अर्को दुर्घटना गराउँछन् समयले बताउँछ ।




भर्खरै