काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयपछि पार्टी एकताका लागि अनुकूल वातावरण बनेको बताएका छन्।
उनले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको पक्षमा भएको स्पष्ट पारे।
सभापति थापाले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई देशभित्र वा बाहिर जहाँ भए पनि जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। उनले पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा आफ्नो जिम्मेवारी सबैभन्दा बढी रहेको उल्लेख गर्दै त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै थापाले महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
उनले अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिने सक्षम पार्टी बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।











