२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वाम एकता’ भन्दा पहिले आत्मसमीक्षा र सुधार आवश्यक छ : प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पछिल्लो समय मिडियामा चर्चामा रहेको ‘वामपन्थी एकता’ विषयप्रति टिप्पणी गर्दै तत्काल यस्तो बहसमा केन्द्रित हुनु भन्दा व्यापक राजनीतिक र सामाजिक सङ्कटको समग्र मूल्याङ्कन आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिलेको चुनौती केवल वामपन्थी वा कम्युनिस्ट आन्दोलनभित्र सीमित नभएको उल्लेख गरेका छन्। नेपालले लामो संघर्षपछि प्राप्त गरेको प्रगतिशील लोकतान्त्रिक स्पेस साँघुरिँदै गएको, शासन प्रणाली सर्वसत्तावादतर्फ उन्मुख देखिएको र सामाजिक न्यायसहितको लोककल्याणकारी अर्थतन्त्रको सट्टा नवउदारवादी बजारमुखी धारले स्थान लिँदै गएको उनको भनाइ छ।

ज्ञवालीले स्थापित विधि, कानुनी प्रणाली र लोकतान्त्रिक संस्थाहरू कमजोर बन्दै गएको र ‘तिलस्मी नायक’हरूले चमत्कारिक रूपमा समाधान ल्याउने भ्रम समाजमा फैलिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। यस्तो अवस्थामा सङ्कटलाई फराकिलो दृष्टिकोणबाट विश्लेषण गर्दै त्यसअनुसार नीति तय गर्नुपर्ने उनले बताएका छन्।

उनका अनुसार यतिबेला वामपन्थी दलहरू मात्र नभई सबै राजनीतिक दलहरू आत्मसमीक्षाको चरणमा रहेका छन्। नेकपा एमाले ले समेत धक्का व्यहोरेको, विभिन्न समूहहरूको एकीकरणबाट बनेका दलहरू पनि चुनौतीमा परेको र नयाँ रूपमा बनेका राजनीतिक समूहहरूले समेत अपेक्षित परिणाम दिन नसकेको उनले उल्लेख गरेका छन्।

ज्ञवालीले समस्या बहुआयामिक भएकाले समाधान पनि एउटै हुन नसक्ने स्पष्ट पार्दै पहिलो प्राथमिकता सङ्कटको गहिरो आत्मसमीक्षा, सुधार र पुनर्गठन हुनुपर्ने बताएका छन्। “पहिले आफूलाई व्यवस्थित र सुदृढ बनाएपछि मात्रै सार्थक सहकार्य र विमर्श सम्भव हुन्छ,” उनले भनेका छन्।

उनले अहिलेको अवस्थामा ‘वाम एकता’ जस्ता बहसहरू समयपूर्व हुने संकेत गर्दै यस्ता छलफल बौद्धिक विलासितामा सीमित हुने वा आफ्ना आन्तरिक समस्या अन्यत्र सार्ने प्रयासमा परिणत हुन सक्ने बताएका छन्।