१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीपमा ‘हुट’ : हटाउँदै ट्राफिक प्रहरी



फाइल फोटो
अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान सञ्चालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण दुर्घटनाको जोखिम बढ्ने हुँदा हटाउन थालेका हौँ”, उहाँले भन्नुभयो ।

पहाडी क्षेत्रका अधिकांश सडक एकतर्फी र कच्ची रहेको अवस्थामा सवारीको छतमा समेत यात्रु राखेर हिँडाउने प्रवृत्ति जोखिमपूर्ण भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । अभियानअन्तर्गत पछिल्लो दुई सातामा करिब तीन दर्जन यात्रुवाहक जीपबाट हुट हटाइएको छ । दलदले, चोरमारा र अरुणखोला क्षेत्रबाट पहाडी क्षेत्रमा चल्ने जीपहरूले छतमा यात्रु बोक्ने गरेको पाइएको छ । केही यातायात व्यवसायीहरूले पनि ट्राफिक प्रहरीको अभियानलाई साथ दिँदै स्वेच्छाले हुट हटाउन थालेका छन् ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीको माथिल्लो भागमा अतिरिक्त सिट राख्ने तथा ओभरलोड गर्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले निगरानी कडा बनाएको जनाएको छ । विशेषगरी दुर्गम तथा पहाडी सडकमा यस्ता गतिविधिले दुर्घटनाको जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक प्रहरीको सक्रियतामा जीपहरूको हुट हटाउने काम भइरहेको र पुनः हुट राखेमा कानुनअनुसार कारबाही गरिने ट्राफिक प्रमुख बर्तौलाले बताउनुभयो । बढी यात्रु बोक्दा सवारीको सन्तुलन बिग्रने, ब्रेक प्रणालीमा समस्या आउने तथा दुर्घटनाको सम्भावना बढ्ने भएकाले अभियानलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

विगतमा पहाडी क्षेत्रमा सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको सन्दर्भमा समेत हुट हटाउने तथा अत्यधिक यात्रु बोक्ने प्रवृत्ति निरुत्साहित गर्न अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

साथै, सवारी चालक र यात्रुले पनि जोखिमपूर्ण यात्रा नगर्न सचेत हुनुपर्ने उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा चल्ने यात्रुवाहक जीपहरूको निगरानीका लागि कुमसोतसहित पहाडी क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरूमा निगरानी बढाइएको ट्राफिक प्रमुख बर्तौलाले बताउनुभयो ।

ट्राफिक प्रहरीको निगरानी, अभियान र नियम उल्लङ्घन हुँदा गरिने कारबाही चालक तथा यात्रुको सुरक्षाकै लागि भएकाले यसमा सहयोग गर्न सबै सरोकारवालाई कार्यालय प्रमुख बर्तौलाले अनुरोध गर्नुभएको छ ।  रासस