• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक



पोखरा । प्रदेशसभा सचिवालय गण्डकी प्रदेश र संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा पोखरामा आयोजित अन्तरसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक हुनेमा जोड दिइएको छ ।

नेपाली जनताको लामो समयदेखिको सङ्घर्षको फलस्वरुप नयाँ संरचनाका साथ सङ्घीय शासन व्यवस्था कायम भएको बताउँदै कार्यक्रमका वक्ताहरुले संविधानमा व्यवस्था गरिएका विषयलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सङ्घीयता नेपालका लागि नयाँ प्रयोग भएको बताउँदै यस क्रममा अभ्यासबाट धेरै सिक्दै अघि बढेको बताउनुभयो । नयाँ परिवर्तित संरचनाअनुसार संविधानको कार्यान्वयन गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउँदै उहाँले तीन तहका अधिकारका साझा सूचीसम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन समितिका छलफलका क्रममा रहेको बताउनुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले सङ्घीयताको कार्यान्वयनमा देखिएका जटिलता समाधान गर्दै अघि बढ्नुपर्ने बताउँदै तीनवटै तहको समन्वयनबाट मात्रै यसको प्रभावकारिता कायम हुने बताउनुभयो ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयताको कार्यान्वयनका दृष्टिले नेपाल परीक्षणकालमा रहेको बताउँदै यो व्यवस्था परम्परागत लोकतान्त्रिक व्यवस्थाभन्दा पनि समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको सङ्घीय व्यवस्था भएको बताउनुभयो ।

केन्द्रबाट प्रदेशलाई कानून निर्माणका लागि सहज वातावरण गराउन जोड दिँदै उहाँले कानून निर्माण गर्दा लक्षित समुदायलाई हेरेर बनाउनुपर्ने धारणा राख्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको असफलतासँग सङ्घीय शासन व्यवस्था नै असफल हुने कुरा प्रत्यक्ष जोडिएको बताउनुभयो । सङ्घीयता विरोधीले प्रदेशसभाको औचित्य छैन भन्दै हल्ला चलाएको बताउँदै उहाँले सङ्घबाट आवश्यक कानून बन्न नसक्दा प्रदेशका कानून निर्माण प्रक्रिया असहज भइरहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानअनुसार सङ्घीय कानून नबन्दा समस्या आउने गरेको बताउनुभयो । प्रदेशका उपसभामुख सिर्जना शर्माले सङ्घीयताको अभ्यास गर्दै संविधानको कार्यान्वयनमा आफूहरू सिक्दै अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मा, सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो । सातवटै प्रदेशका सभामुख र उपसभामुख सहभागी रहेको उक्त कार्यक्रम भोलिसम्म चल्नेछ ।