काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो आएको जानकारी दिएका छन् ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नै भ्रमणको निम्तो आएको बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिने क्रममा पठाएको चिठीमा नै भ्रमणको निम्तो आएको जानकारी गराएका हुन् ।
नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्केका मन्त्री खनालले सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
उनले भ्रमणको तिथि मिति भने तय भइनसकेको र अब छिट्टै नै दुवै पक्षको परामर्श र सल्लाहमा भ्रमणको मिति तय गरिने बताए । उनले सो सम्मेलनमा पनि भारतीय समकक्षी डा एय जसशंकरसँग पनि भेटवार्ता गरेका थिए ।
उनले भने— उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा भारतीय समकक्षी एस जयशंकरसँगको साइडलाइन भेटमा समेत छलफल भएको थियो । हामीले दुवै पक्षको सल्लाह र परामर्शमा सो भ्रमणको मिति तय गर्ने विषयमा हामीले कुराकानी गरेका थियौँ ।
सो सम्मेलनमा मौरिससमा भएको उक्त कुराकानीबारेमा उनले भने, ‘नयाँ सरकारले आफ्नो प्राथमिकता निर्धारण गरिसकेपछि र दुवै देशका मन्त्रालयको प्राविधिक समितिले आफ्नो काम पूरा गरिसकेपछि मात्र उच्चस्तरीय राजनीतिक भ्रमण गर्ने भन्नेमा हामीले छलफल गरेका छौं ।’
मन्त्री खनालले तीन दिने मौरिसस भ्रमणमा नेपालको सहभागिता अर्थपूर्ण रहेको बताउँदै भ्रमणले नेपालको कूटनीतिमा नयाँ आयाम थपेको पनि स्पष्ट गरे ।











