४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्यको ख्याल गर्दै प्रधानमन्त्रीनिवास धमाधम भत्काइँदै, २९ करोडको नयाँ भवन बन्दै



अ+ अ-

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ । पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीनिवासको पुरानो भवन भत्काउन करिब एक महिना लाग्नेछ । प्रधानमन्त्री केपी ओलीलाई मुख्यसचिवको सरकारीनिवासमा सारिएको छ । भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो ।

नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गर्दै आएका छन् । मुख्यनिवासमा रहँदै आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि राष्ट्रिय सभाध्यक्षलाई सो निवासमा सारिएको हो ।

दुवैवटा भवन एकसाथ निर्माण गरिने: सहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री आवासका दुईवटै भवन एकैसाथ निर्माण सुरु गरेको छ । प्रधानमन्त्री ओलीको निर्देशनअनुसार विभागले निजी तथा सार्वजनिक भवन एकैसाथ बनाउन थालेको हो । विभागको योजनाअनुसार पहिलो चरणमा निजी भवन बनाउने र दोस्रो चरणमा प्रधानमन्त्रीका लागि सार्वजनिक भवन निर्माण गर्ने थियो ।

निजी भवन निर्माणपछि प्रधानमन्त्रीलाई सो भवनमा सारेर मात्रै सार्वजनिक भवन निर्माण गर्ने योजना थियो । विभागले गत असोजदेखि प्रधानमन्त्रीको नयाँ भवन निर्माण काम सुरु गरेको थियो । निजी भवनको जग र पिलर उठाउने काम सकिएको विशेष भवन आयोजना प्रमुख प्रक्रिण तुलाधरले बताए । निजी भवन नौ महिनामा तयार हुनेछ भने सार्वजनिक भवन १५ महिनामा सम्पन्न भइसक्नेछ ।

२९ करोडमा बन्नेछ भवन:प्रधानमन्त्रीनिवास २९ करोड रुपैयाँ निर्माण हुने भएको छ । विभागको अनुमानित रकमभन्दा २९ प्रतिशत कममा विभागले कोनटेक प्राइभेट कम्पनीसँग निर्माण सम्झौता गरेको हो । विभागले आवास निर्माणका लागि ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो । प्रधानमन्त्रीनिवास निर्माणका लागि १७ वटा कम्पनीले आवेदन दिएका थिए । सबैभन्दा कम मूल्य कोनटेकको आवेदन परेको थियो ।

०७२ सालको विनाशकारी भूकम्पले प्रधानमन्त्रीनिवासमा क्षति पुगेको थियो । साथै, प्रधानमन्त्रीनिवासको क्षेत्रफल साँघुरो भएपछि गत वर्षको पुसमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनी र स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको थियो ।

चोक शैलीमा बनाइँदै सार्वजनिक भवन:सार्वजनिक भवन चोक शैली (कन्ट्रियार्ड कन्सेप्ट) मा बनाइनेछ । करिब एक हजार स्क्वायर फिटमा निर्माण गर्न लागिएको भवन नेपाली संस्कृति र परम्रागत झल्किनेछ । यो भवन तीन तलाको हुनेछ । भुइँतलामा १४ वटा संरचना निर्माण गरिनेछ । यो तला विशेषगरी अति विशिष्ट व्यक्तित्वसँगको भेटघाटका लागि छुट्टाइएको छ ।

त्यस्तै, पहिलो तलामा विभिन्न प्रयोजनका लागि नौवटा संरचना बनाइनेछ । यो तला विशेषगरी सार्वसाधारणसँग भेटघाटका लागि प्रयोग गरिनेछ । भवनको माथिल्लो तला प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगका लागि छुट्याइएको छ । जहाँ विभिन्न प्रयोजनका लागि १२ वटा संरचना बनाइनेछ । यो भवनको बीचमा चोक हुनेछ । नेपाली परम्परागत शैलीअनुसार भवनको बीचमा चोक हुने संयोजनक तुलाधरले बताए । चोकमा नेपालको विभिन्न संस्कृति झल्कने कला राखिनेछन् ।

अति विशिष्ट पाहुना कोठासहितको निजी भवन: प्रधानमन्त्रीनिवासमा बनाइँदै गरेको निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत जीवनका लागि प्रयोग गरिनेछ । सार्वजनिक भवन भने राजनीतिक पार्टीसँगको भेटघाट, कूटनीतिक व्यक्तित्व र सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग गरिनेछ । निजी भवन साढे दुई तलाको हुनेछ । भवन पाँच सय स्क्वायर फिटमा फैलिएको हुनेछ । यो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० वटा संरचना निर्माण गरिनेछ ।

पाहुना कोठा, बस्ने कोठा, भान्सा र खाना खाने कोठा, लउन्ड्री, सुरक्षा कोठालगायतका संरचना निर्माण गरिनेछ । भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ वटा संरचना बनाइनेछ । दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि हुनेछ । जहाँ विभिन्न ११ वटा संरचना निर्माण गरिनेछ । नयाँ पत्रिका दैनिकबाट