४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

यसरी बयान फेर्छन् पीडित महिला

यसरी बयान फेर्छन् पीडित महिला
अ+ अ-

वीरेन्द्रनगर । दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्यायो ।

प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उनले टुलुटुलु हेरिरहिन् । अघिसम्म कारवाही गर्ने अडान लिएकी उनको मनमा एकाएक परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् । “श्रीमान्लाई कारवाही नै हुनुपर्छ भनेर उजुरी दिएँ”, उनले भनिन्, “प्रहरी अगाडि श्रीमान्लाई उभ्याउँदा उहाँका गल्तीहरु सबै बिर्सिएँ, मनमा एकाएक परिवर्तन आयो, जति गल्ती गरे पनि मन पग्लियो ।” एकछिन अघि कारवाहीको उजुरी लिएर गएकी उनले फेरेको बयानले प्रहरीलाई हिंसाको उजुरी होइन, मिलापत्र गराएर पठाउन बाध्य बनायो ।

मदिरा नपाएको निहुँमा श्रीमान्बाट दिनहुँ कुटिन बाध्य वीरेन्द्रनगर नगरपालिका–३ की अर्की एक महिलाको कथा पनि उस्तै छ । दिनभरिको घरव्यवहार र साँझ मदिराको झोकमा श्रीमान्को कुटाइले गर्दा शरीरको कुनै अङ्ग नै बाँकी थिएन । जति कुटे पनि चुपचाप सहँदै आएकी उनी छिमेकीले सोधे बिरामी भएको जवाफ दिँदै आएकी थिइन् । एक दिन अति नै भएपछि माइतीको साथ लागेर प्रहरी कार्यालयमा उजुरी दिइन् । उजुरीपछि दुवै पक्षलाई उपस्थित गराएर छलफल भयो । माइती बोकेर प्रहरी कार्यालय पुगेकी उनी एकाएक परिवर्तन भइन् । एकछिन अघिसम्म हिम्मतका साथ श्रीमान्लाई कारवाही गर्न पुगेकी उनको ‘मिलापत्र गर्ने’ जवाफ आएपछि प्रहरी उजुरी प्रक्रिया त्यही रोक्न बाध्य भयो ।

दोस्रो विवाह गरेको थाहा पाएपछि उजुरी दिन प्रहरी चौकी पुगेकी पूर्वी सुर्खेतकी एक २६ वर्षीया महिलालाई श्रीमान्को फोनले मन पगाल्यो । सौता हालेको थाहा पाएपछि प्रहरी चौकी पुगेकी उनलाई श्रीमान्ले फोनबाटै उजुरी नगर्न दबाब दिए । उनी भन्छिन्, “अन्याय भयो भनेर प्रहरीमा जाने आँट गरेँ तर कारवाहीका लागि उजुरी दिन सकिनँ ।” प्रहरीमा मुद्दा दिएपछि आफ्नो जागिर जाने र सबैको बिचल्ली हुने श्रीमान्को बिलौनाले उनको मन पग्लियो । उनी भन्छिन, “श्रीमान्को बिलौनापछि उजुरी दर्ता गराउन आँट नै आएन, जे भए पनि आफ्नैलाई जेल पठाएर कसरी बस्न सकिन्छ जस्तो लाग्यो अनि उजुरी दिन सकिनँ ।”

घरेलु हिंसा र बहुविवाह सहन बाध्य माथिका तीन महिला उदाहरण मात्र हुन् । उजुरी बोकेर जाने अधिकांश महिलाको प्रहरी कार्यालय पुग्दा मन पग्लिसकेको हुन्छ । हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन् । घरेलु हिंसापीडित अधिकांश महिलाले प्रहरीमा उजुरी गरे पनि मुद्दाको प्रक्रिया अघि नबढ्दै बयान फेर्दछन् । शुरुमा श्रीमान्लाई कारवाही प्रक्रियामै लैजाने सोचले उजुरी दिए पनि उनीहरुको मन परिवर्तन हुन्छ र अन्त्यमा मिलापत्रमै पुग्छन् । उनीहरु जति नै हिंसा सहे पनि अन्तिम विकल्प मिलापत्रलाई नै मान्दछन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा २०७४/७५ मा घरेलु हिंसाका ४५९ उजुरी दर्ता भएकामा ४०३ वटा उजुरी मिलापत्रबाट टुङ्गो लागेको थियो । प्रहरी कार्यालयको रेकर्डअनुसार मिलापत्र गराइएका अधिकांश उजुरी श्रीमान् र श्रीमतीबीचको झगडामा आधारित थिए । यस्तै आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका घरेलु हिंसाका ४६६ उजुरीमध्ये ३९४ उजुरीको मिलापत्रबाटै टुङ्गो लगाइएको थियो भने ७२ उजुरीलाई प्रहरीले अदालत लगेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यो वर्षको कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा प्रहरीमा पुगेका १९३ मध्ये १५५ वटा उजुरी मिलापत्र गरेर पठाइएको छ ।

प्रहरी कार्यालयको यो तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख डिला विकले उजुरी बोकेर आउने अधिकांश महिलाले प्रहरीमा पुगेपछि बयान बदल्ने बताउनुभयो । “घरपरिवार, बालबच्चा र समाजका कारणले नै हिंसा सहेर भए पनि महिलाहरु मिलापत्रमा जान्छन्”, उहाँले भन्नुभयो ।

प्रमुख विकका अनुसार प्रहरीमा आएका उजुरीबारे पहिला पीडित महिलाको इच्छा सोधिने र मिल्नसक्ने उजुरीमा मिलापत्र गरेर पठाइन्छ । उजुरी दिए पनि प्रहरीमा आएपछि श्रीमान् देखेपछि अधिकांश महिला अगाडि बढ्न नचाहने गरेको उहाँले अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “आमनेसामने बसेपछि श्रीमान्को बिलौना सुनेर पनि अधिकांश महिला मुद्दामा जान चाहँदैनन् ।”