काठमाडौं । प्रेममा धोका दिएको भन्दै १९ वर्षीया युवतीले प्रेमीको लिङ्ग नै काटिदिएकी छन् । थिङ थरकी युवतीले २१ वर्षीय सुनुवार थरका प्रेमीको लिङ्ग नै काटिदिएकी हुन् ।
मकवानपुर घर भइ बौद्ध बस्दै आएका सुनुवार सख्त घाइते भएका छन् । ती व्यक्ति काठमाडौंको एक होटलमा कर्मचारी हुन् ।
बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रहरीका अनुसार केटा क्रिश्चियन धर्ममा आस्था राख्छन् भने युवती बौद्ध धर्मावलम्बी हुन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै विछोड भएको थियो ।
‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको देखिएको छ’, सिंहले भने, ‘त्यसपछि अन्तिम पटक भनेर भेट्दा यो घटना भएको देखिन्छ ।’
प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ । युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।