१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
FILE - A full moon is seen shining over NASA's SLS (Space Launch System) and Orion spacecraft atop the mobile launcher in the early hours of Feb. 1, 2026, at NASA's Kennedy Space Center in Florida. (Sam Lott/NASA via AP, File)
अ अ+ अ-

काठमाडाैँ । झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ ।

अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष यात्री चन्द्रमातर्फ प्रस्थान गर्नुहुनेछ । उहाँहरू चन्द्रमाको सतहमा अवतरण नगरी त्यसबाट हजारौँ माइल टाढासम्म पुगेर फर्किनुहुनेछ । करिब १० दिनभन्दा कम अवधिको यो ‘फ्लाइबाइ’ उडानले चन्द्रमाको परिक्रमा नगरी पृथ्वीमा सीधा फर्कने योजना समेटेको छ । यस मिसनमा सहभागी अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन विविधता र अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले विशेष मानिन्छन्।

कोचले महिला अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो एकल अन्तरिक्ष उडान (३२८ दिन) को कीर्तिमान बनाइसक्नुभएको छ र पहिलो सर्वमहिला स्पेसवाकमा पनि सहभागी भएका थिए । ग्लोभर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बस्ने पहिलो अश्वेत अन्तरिक्ष यात्रीमध्ये एक हुनुहुन्छ भने क्यानाडाका ह्यानसेन पहिलोपटक अन्तरिक्ष यात्रामा निस्कँदै छन्।

वाइजम्यानले अनुभवी कमाण्डरका रूपमा टोलीको नेतृत्व गरिरहनुभएको छ । मिसनका लागि प्रयोग गरिने स्पेस लन्च सिस्टम (एसएलएस) रकेट अपोलो युगको स्याटर्न–५ भन्दा छोटो भए पनि प्रक्षेपण शक्तिका हिसाबले अझ शक्तिशाली मानिन्छ । यसको शीर्षमा ओरियन क्याप्सुल रहनेछ, जसले अन्तरिक्ष यात्रीहरू बोकेको हुनेछ । तर प्रक्षेपणअघि केही प्राविधिक चुनौतीहरू पनि देखिएका छन् । हाइड्रोजन चुहावट र हिलियम प्रवाहसम्बन्धी समस्याले परीक्षणहरू प्रभावित पार्दै प्रक्षेपण समयतालिका केही पछि धकेलिएको छ ।

उडानपछि पहिलो २५ घण्टा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको उच्च कक्षामा परिक्रमा गर्नुहुनेछ । त्यसपछि उहाँहरूले भविष्यका चन्द्र अभियानका लागि आवश्यक डकिङ अभ्यास गर्नुहुनेछ । सबै प्रक्रिया सफल भएमा ओरियनको मुख्य इन्जिनले यानलाई करिब तीन लाख ९३ हजार किलोमिटर टाढा चन्द्रमातर्फ पठाउनेछ । ‘फ्रि–रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिने यस उडानमा चन्द्र र पृथ्वीको गुरुत्वाकर्षणको सहायताले इन्धन बचत गरिनेछ । उडानको छैटौँ दिन यान पृथ्वीबाट सबैभन्दा टाढाको विन्दुमा पुग्नेछ, जुन अपोलो–१३ को रेकर्डभन्दा पनि पर हुनेछ ।

चन्द्रमाबाट करिब आठ हजार किलोमिटर टाढा पुग्दा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भाग नजिकबाट अवलोकन गर्नेछन्। यो क्षेत्र मानव आँखाले प्रत्यक्ष हेर्न पाएको अत्यन्तै दुर्लभ अवसर हुनेछ । टोलीले यस क्रममा व्यापक तस्बिरहरू खिच्ने तयारी गरेको छ, जसका लागि अत्याधुनिक क्यामेरा र स्मार्टफोनहरू पनि साथमा लगिनेछन् ।

नासाका खगोलविद् केल्सी यङले चन्द्रमालाई ‘विश्वलाई जोड्ने साझा वस्तु’ भन्दै यस मिसनले मानिसहरूलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो । विशेष गरी चन्द्रमाको टाढाको भागबारे प्रत्यक्ष अवलोकनले वैज्ञानिक अनुसन्धानमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । मिसनको अन्त्य अपोलो कार्यक्रमजस्तै प्रशान्त महासागरमा स्प्ल्यासडाउनमार्फत हुनेछ ।

पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा ओरियन क्याप्सुलको तातो ढाल सबैभन्दा महत्त्वपूर्ण पक्ष हुनेछ, जसले सन् २०२२ को परीक्षण उडानमा कडा परीक्षा सामना गरेको थियो । यसपटक भने अवतरण प्रक्रियालाई छोट्याएर तापीय जोखिम घटाउने योजना बनाइएको छ । समग्रमा, आर्टेमिस–२ मिसनलाई चन्द्रमामा पुनः मानव उपस्थितिको मार्ग तयार गर्ने प्रारम्भिक तर निर्णायक कदमका रूपमा हेरिएको छ, जसले भविष्यमा चन्द्र अवतरण र दीर्घकालीन अन्तरिक्ष अभियानका लागि ढोका खोल्नेछ ।