८ आश्विन २०८१, मंगलवार
,
Latest
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाद्वारा विधानविपरीत ४१ विभाग प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतबाटै पार्टीका रिक्त विभाग गठनको तयारी गरेका छन् । उनले विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा विभाग गठन गर्ने तयारी गरेका हुन् । पार्टीका रिक्त विभाग, कार्यसम्पादन समिति, नेतृत्वविहीन तथा म्याद सकिएका भ्रातृ संस्थासहित उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठकलाई संस्थापनइतर समूहले बहिष्कार गरेपछि देउवाले बहुमतबाटै विभाग बढाउने गरी बैठकमा ४१ वटा विभाग प्रस्ताव गरेका हुन् ।

बिहीबारको बैठकमा संस्थापनइतर पक्ष मानिने रामचन्द्र पौडेल समूहका नेता भने उपस्थित भएनन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूसमेत बैठकमा सहभागी भएनन् । इतर पक्षले बैठक बहिष्कार गरेपछि देउवाले आफ्ना केन्द्रीय सदस्य मात्रै राखेर विधानविपरीत विभाग बढाउने गरी बैठकमा प्रस्ताव गरेका हुन् । कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकले संशोधनसहित पारित गरेको विधानमा भने केन्द्रमा २८ विभाग रहने उल्लेख छ ।

सभापति देउवाले महाधिवेशनको मुद्दालाई छलेर विभाग गठन गर्ने तयारी गरेपछि आफूहरूले केन्द्रीय समिति बैठक बहिष्कार गरेको इतर समूहका नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ४ बजेपछि विवादकै बीच सुरु भएको थियो । सभापति देउवाले पार्टीको विधानबमोजिम महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र रिक्त रहेका २८ वटा विभाग गठन गर्नुपर्नेमा संख्या बढाएर ४१ पुर्याउने तयारी गरेपछि इतर समूह असन्तुष्ट रहँदै आएको थियो ।

इतर समूहले सभापतिले पुरानै विधानअनुसार ४१ वटा विभाग गठन गर्ने तयारी गरेको आरोप लगाउँदै आइरहेको थियो । जोशीले केन्द्रीय समिति बस्नुअघि शीर्ष नेताहरूबीचको छलफलमा इतर समूहले महाधिवेशनको एजेन्डा राख्न र कार्यतालिका ल्याउन आग्रह गरेको तर संस्थापन पक्षले नमानेको जानकारी दिए । संस्थापन पक्षका केन्द्रीय सदस्य मीन विश्वकर्माले पौडेल पक्षीय नेताहरूले बैठकमा सहभागी नहुन अनेक बहानाबाजी गरेको बताए ।

विश्वकर्माले पौडेल पक्षले महाधिवेशनको विषयलाई उठाएर अनावश्यक बहानाबाजी गरेर बैठकलाई बिथोल्न खोजेको आरोप लगाए । ‘क्रियाशील सदस्यता नै नबाँडिएको, सदस्यता नवीकरण नभएको र पार्टीका संरचनाको समायोजन नै नसकिएको अवस्थामा महाधिवेशनको विषय उठाएर पौडेलजीहरू बैठकमा सहभागी भएन । असंगत विषयलाई उठाउने, बाहनाबाजी गर्ने र बैठक बिथोल्ने उहाँहरूको रणनीति हो,’ देउवा पक्षीय केन्द्रीय सदस्य विश्वकर्माले भने । राजधानी दैनिकबाट