१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपात हुँदा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ ।

यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका– ४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिनुभयो ।

“बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ,” शिक्षक शाहीले भन्नुभयो, “वर्षेनी जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ ।” स्थानीय सरकारले आगामी वार्षिक परीक्षालाई अगाडि सारे विद्यार्थीले यो समस्या भोग्नुनपर्ने उहाँको भनाइ थियो ।

चन्दननाथ नमूना मावि खलङ्गाका प्रधानाध्यापक टङ्कबहादुर महतले भारी हिमपातले थरथर काँपेर परीक्षार्थी लेख्न बाध्य भएका बताउनुभयो । रासससँग कुरा गर्दै प्रधानाध्यापक महतले भन्नुभयो, “चन्दननाथ नगरपालिकाको निर्देशनबमोजिम हामीले यही मङ्सिर २५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरेका छौँ , हिमपातले विद्यार्थी शिक्षक सबैलाई परीक्षा दिन लिन गाह्रो भएको छ ।”

चिसोले जुम्लाका आवासीय विद्यालयका बालबालिकाको परीक्षा सञ्चालन हुन सकेको छैन । हिमपातले हिमाली जनजीवन पनि कष्टकर भएको छ । गरीब घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिनुभयो । डा तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान आग्रह गर्नुभयो ।

कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको बताइएको छ । सरकारी कर्मचारी आगो बालेर कार्यालय सञ्चालन गरिरहेका जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “चिसो भए पनि सेवा प्रवाह गरिरहेका छौँ । हिजोअस्तिभन्दा हिमपातले सेवाग्राहीको आगमन घटेको छ,” निमित्त प्रजिअ श्रेष्ठले भन्नुभयो ।