• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

नेपाली स्याट-१ ले लियो तीन मुलुकको तस्वीर



ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्वीर लिन सफल भएको हो ।

करीब एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्वीर कैद गर्न सफल भएका छैनौँ । सो भूउपग्रह नेपाल आएर फर्केर जाँदा नाष्ट रेडियो उपकरण मिलान गर्न सफल भएन ।” नाष्टभित्रकै प्रविधिमा ससाना समस्या देखिएकाले सोको खरीद प्रक्रियामा नाष्ट अघि बढेको ढकालले बताउनुभयो ।

नाष्टले आफ्ना प्राविधिक इञ्जिनीयरलाई ग्राउण्ड स्टेशनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ । नाष्टले भूउपग्रहबारे तीनदेखि चार दिनको तथ्याङ्क सङ्कलन गरेर अध्ययन गर्दा ती तस्वीर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गत वैशाख ४ गते नेपाली स्याट–१ नामक उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो ।

नेपाली स्याट–१ मा पाँच मेगा पिक्सलको क्यामेरा जडान गरेका कारण यसबाट अलि धमिलो तस्वीर कैद हुने बताइएको छ । गत साउन पहिलो साता नेपाली स्याट–१ ले पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सिमानाका तस्वीर खिंचेको कुरा जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि नाष्टले सार्वजनिक गरेको थियो ।

नेपाली स्याट–१ सँग दुईदेखि तीन वर्षसम्म तस्वीर सङ्कलन गर्ने क्षमता छ । जापानको ‘बर्ड–३’ परियोजनामार्फत मुलकले उक्त भूउपग्रहको काम अघि बढाएको थियो । नेपाली स्याट–१ सँगै गत वैशाख ४ गते श्रीलङ्काले रावण– १ र जापानले युवुसु नामक भूउपग्रह एकैसाथ प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । सो भूउपग्रहले ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने नाष्टले बताएको छ ।