१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन संकटः लिथुआनिया र बेलारुसको सीमामा ११ नेपाली अलपत्र



अ+ अ-

काठमाडौंः युक्रेनमाथि रुसले भिषण आक्रमण र बमबारी गरेसँगै युक्रेन र रुसबाट पलायन हुनेहरुको संख्या निरन्तर बढ्दो छ । यस क्रममा युक्रेन र रुसबाट नेपालीहरु पनि युरोपका अन्य देशतर्फ भाग्न थालेका छन् ।

पछिल्लो पटक रुसबाट भागेका ११ जना नेपाली अहिले लिथुआनिया र बेलारुसको सिमानाको जङ्गलमा अलपत्र परेको खबर सार्वजनिक भएको छ । 

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेका थिए । बेलायतमा रहेका पत्रकार एवं युक्रेन र रसियाबाट भागेका नेपालीहरुको उद्धार र पुनस्र्थापनामा सक्रिय चिरन शर्माका अनुसार सीमा क्षेत्रमा अलपत्र परेका अधिकांश रुसमा रहेका नेपाली हुन् । 

उनीहरु विगत चार वर्षदेखि रुसमा काम गर्दै आएका थिए । ती मध्ये केही विद्यार्थी पनि छन् । 

सम्पर्कमा आएका ती नेपालीहरुलाई लिथुआनिया र बेलारुसका सीमा प्रहरीले असहयोग गरेको बताइएको छ । उनीहरुको साथमा रहेको रकम समेत सकिएकाले खानेकुरा किन्न मुश्किल भएको तथा युरोपेली अन्य मुलुकमा सेन्जेन भिसा पनि नदिइए पछि सीमा क्षेत्रमा अलपत्र परेर बस्नु परेको छ । 

ती नेपालीले आफूलाई सम्पर्क गरेको तर विस्तृत विवरण नदिएको पनि पत्रकार शर्माले जानकारी दिनुभएको छ । उहाँले न्यूजपोलारलाई भन्नुभयो, सम्भवतः असुरक्षाका कारण उनीहरुले बताउन सकेनन् । पुनः सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।  

आक्रमण गर्न थालेयता ज्यान जोगाउन २० लाखभन्दा बढी मानिस छिमेकी मुलुकतर्फ भागेका छन् । निकै घातक ठानिएको यस युद्धमा रुसी बमबारीबाट हजारौंको ज्यान गइसकेको बताइएको छ, तर स्वतन्त्र पुष्टी भइसकेको छैन । 

युक्रेनमा अध्ययन र काममा रहेका कतिपय नेपालीको भने उद्धार भइसकेको नेपाल सरकारले जनाएको छ ।