काठमाडौं । नेपाल वायुसेवा निगममा देखिएका अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा छानबिन प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद सुधन गुरुङले निगमभित्रका बेथिति र जहाज खरिददेखि मर्मतसम्मका प्रक्रियामा भएको भनिएको अनियमितताबारे प्रमाणसहित छानबिनको माग गर्दै पर्यटन मन्त्रालयमा ज्ञापनपत्र बुझाएपछि सरकारले तत्कालै उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।
नेपाल वायुसेवा निगम भित्र लामो समयदेखि जरा गाडेर बसेका समस्या उजागर गर्नुपर्ने भन्दै गुरुङ नेतृत्वको टोलीले मन्त्रालयमा विस्तृत विवरणसहितको ज्ञापनपत्र पेश गरेको थियो । सोही आधारमा मन्त्रालयले तत्कालै औपचारिक छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ ।
पर्यटन मन्त्रालयले प्रारम्भिक चरणमै उच्चस्तरीय समिति गठन गरी निगमका विभिन्न आर्थिक तथा प्रशासनिक पक्षहरूको अध्ययन सुरु गरेको छ । मन्त्रालय स्रोतका अनुसार जहाज खरिद, मर्मत–सम्भार, ठेक्का प्रक्रिया र आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ अनुसन्धान गरिनेछ ।
सांसद गुरुङले छानबिनको सुरुवातलाई सकारात्मक संकेतका रूपमा लिँदै वर्षौंदेखि थन्किएका कागजात र फाइलहरू अब आधिकारिक रूपमा खुल्ने विश्वास व्यक्त गरेका छन् । उनले प्राप्त प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनलाई निष्पक्ष र पारदर्शी रूपमा अघि बढाइने प्रतिबद्धता जनाएको छ ।










