२० आश्विन २०८१, आईतवार
,
Latest
प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि पेशाले धानको जीवन



अ+ अ-

बनेपा । बेथानचोक गाउँपालिका–२ मूलडाँडाका किसान हुद्धराज तिमल्सिनाले दूध बेचेर महिनामा रु २५÷२६ हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २० देखि २२ मानासम्म दूध बेच्ने गरेको उहाँले गाउँमा किसाने काम गरेर राम्रो आम्दानी गर्नुभएको हो ।

भैँसी पालेर दूध बेच्दै आउनुभएका उहाँले महिनाको घर खर्च र बस्तुभाउलाई दाना ख्वाउँदा लागेको खर्च कटाएर रु १४÷१५ हजार नियमित बचत हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि पेशासँगै ज्याला गरेर पनि आम्दानी गर्दै आइरहेको छु ।” चार जनाको परिवार पाल्नका लागि गाउँमा नै वस्तु पालेर राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ ।

गाउँका सबै किसानले गाईवस्तु नै पाल्ने गरेकाले दूध उत्पादनबाट राम्रो आम्दानी लिँदै आएको तिमल्सिनाले बताउनुभयो । “गाउँलेहरुले प्रायःजसो गाई पाल्ने गरेका छन्”, उहाँले भन्नुभयो, “डेरीमा भन्दा खुवा बनाउन दिने ठाउँमा बढी पैसा आउने भएकाले त्यहीँ लाने गरेका छौँ ।”

खुवा व्यवसाय गर्दै आउनुभएका अर्जुनप्रसाद तिमल्सिनाले भने गाउँमा किसानले भैँसीभन्दा पनि गाई पाल्न थालेकाले काममा थप भार परेको बताउनुभयो । गाउँपालिका–२ ढुङ्खर्कका खुवा व्यवसायी तिमल्सिनाले वस्तुभाउ पालनको हिसाबले अलि सजिलो भएका कारण त्यसैतर्फ धेरैजसो किसान आकर्षित हुँदै गएको बताउनुभयो । उहाँले सो ठाउँमा लालीगुराँस खुवा उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।

भैँसीमा घिउको मात्रा बढी हुने गरेकाले घोट्न सजिलो हुने र गाईको कम हुने भएकाले घोट्नलाई बढी समय लाग्ने उहाँको भनाइ छ । “गाईको दूध खोटो जस्तो टाँसिने गरेका कारण घोट्न धेरै गाह्रो हुने र समय बढी लाग्नाका साथै उत्तिकै तताउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “गाईभन्दा भैँसीको दूध राम्रो भए पनि किसानले भैँसी पाल्न छोडेर गाईपालनतर्फ बढी केन्द्रित भएकाले व्यवसायमा थप जटिलता आएको छ ।”

वस्तुभाउ पाल्ने किसानको सङ्ख्या नघटे पनि पेशामा सहजता ल्याउनका लागि गाईपालनतर्फ केन्द्रित भएको उहाँको भनाइ छ । उहाँका अनुसार नाला र पाँचखाललगायत ठाउँमा भन्दा बेथानचोकमा दूध उत्पादन बढी हुने गरेको छ । विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेको दूध सङ्कलन गरी खुवा घोट्ने कामलाई निरन्तरता दिँदै आएका कारण पेशाबाट आम्दानी सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।

दैनिक करिब ४०० लिटर दूध घोट्ने गरेको बताउने खुवा व्यवसायी तिमल्सिनाले उद्योगमा दैनिक रु ३५ देखि ४० हजारसम्मको कारोवार हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयस्तरमा खुवा खान रुचाउनेहरुले आएर किन्ने गरेको बाहेक सबै बजार काठमाडौँ हो ।” पनौतीदेखि बनेपा र काठमाडौँको बजारमा सबैजसो ठाउँमा आफूले उत्पादन गरेको खुवा पुग्ने उहाँको भनाइ छ ।

सो पेशा गरेरै माथि गाउँबाट तल बजारमा जग्गा किनेर व्यवसाय सञ्चालन गर्दै आएको पाँच÷छ वर्ष भएको उहाँले बताउनुभयो । “पहिला किन्दाखेरी ऋण नै गरेर किने पनि अहिले सबै तिरिसक्यौँ”, उहाँले भन्नुभयो, “पेशाबाट सन्तुष्ट नै छु, १० जनाको परिवार पालेर कामदारलाई व्यवस्थापन गर्न सकिरहेको छु ।” सो उद्योगबाट उत्पादन गरेको खुवा भोटाहिटी, गौशाला, चाबहिल जावलाखेल, लगनखेल, ठिमी, भक्तपुर, कोटेश्वरसम्म जाने गरेको उहाँको भनाइ छ ।

उहाँको उद्योगमा काम गर्ने कामदार सानुमाया स्याङतानले पाँच वर्षदेखि काम गर्दै आइरहनुभएको छ । मासिक रु १७ हजारमा काम गर्दै आउनुभएकी उहाँले दूध भर्ने, आगो फुक्ने र दूध घोटेर खुवा बनाउने काम गर्नुपर्छ । त्यहाँबाट कमाएको पैसा गाउँमा समूहमा जम्मा गर्ने र घर खर्च चलाउने गरेको स्याङ्तानले बताउनुभयो ।