२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ पक्षी हुचिल लोप हुँदै



अ+ अ-

गाईघाट । गैरकानूनी रूपमा सिकार गर्ने कार्यले उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भिरपाखामा विगतमा पर्याप्त पाइने गरेको दुर्लभ पक्षी हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदै गएको छ ।

बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिरपाखाको बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढी नगरपालिकाको कटुञ्जेबबला र चौदण्डीको पाखा पहरातिर व्यापक पाइने गरेको हुचिल हिजोआज गैरकानूनी रूपमा सिकार भएका कारण विस्थापित वा लोप हुँदै गएको चौदण्डी बबलाका रामबहादुर तामाङले बताउनुभयो ।

“केही वर्षअघिसम्म चौदण्डीको कटुञ्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिलहरु पर्याप्त पाउने गरेको थियो, तर केही वर्षयता आएर यसको सिकार हुन थालेको र केही मानिसले पासोसमेत थापेर मार्न थालेपछि हिजोआज हुचिल देख्न पाइन छाडेको छ”, तामाङले बताउनुभयो । हुचिल सिकार गर्न सुनसरी र सप्तरी क्षेत्रबाट समेत केही सिकारी आउने गरेको र केही स्थानीयवासीसँग मिलेर सिकार गर्ने गरेको समेत तामाङले बतउनुभयो ।

यस्तै बोपताङ डाँडापाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भिरपाखाहरूमा समेत विगतमा धेरै सङ्ख्यामा हिउँद र वर्षा दुवै याममा हुचिलहरु बस्ने र सन्तानहरु वृद्धि गर्ने गरेको मैनामैनीका मानबहादुर राईले बताउनुभयो । केही वर्षयता आएर ती क्षेत्रमा हुचिलहरु हराउँदै गएको र फाट्टफुट्ट कहिलेकाहीँ एक–दुईवटामात्र देख्न सकिने गरेको उहाँले बताउनुभयो । मैनामैनीका हर्कशेर राईका अनुसार केही वर्षअघिसम्म यस क्षेत्रमा हुचिलहरु गाउँघरमा रातभरि नै कराउने, आउने र घुम्ने गर्थे । हिजोआज भने मासिँदै गएका कारण गाउँमा पनि कतै–कतैमात्र देख्न सकिन्छ । राई भन्नुहुन्छ, “हुचिल मार्न र पक्रन केही मानिस बाहिरबाट आउने र पासो थाप्ने गरेका कारण मासिन थालेका हुन्, उनीहरूले हुचिललाई जिउँदै पासोमा पारेर पक्रने र बाहिर लगेर बिक्री गर्छन् ।”

हुचिलका सिकार गर्नेहरुले एक जिउँदो हुचिललाई रु १५ हजारसम्ममा बिक्री गर्ने गरेको यस क्षेत्रका स्थानीयवासी नै बताउने गरेका छन् । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा भन्नुहुन्छ, “अहिले नगरपालिकाले बेलकामा दुर्लभ पन्छी गिद्ध र हुचिल संरक्षणको अभियान शुरु गरेको छ, अब हुचिलको समेत संरक्षणमा हामी लागेका छौँ, गैरकानूनी रूपमा यसको सिकार गर्नेलाई पत्ता लगाएर कारवाही गर्ने छौँ, हुचिलको लामो समयदेखि यस क्षेत्रमा बसोबास गर्ने राम्रो स्थान भएको कारण यसको संरक्षण गरिनेछ ।”