६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव
अ+ अ-

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धका बीच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ आक्रमण सुरु गरेको छ । साउदी अरबको तेल क्षेत्रसमेत लक्षित भएको बताइँदै गर्दा विश्व ऊर्जा बजारमा उत्पन्न अस्थिरता नियन्त्रण गर्न ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावसम्बन्धी खबरहरूले बजारलाई केही हदसम्म शान्त बनाउने प्रयास भइरहेको छ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर फैलिएको छ । यसको प्रभाव ऊर्जा बजारदेखि दैनिक जनजीवनसम्म पुगेको छ । कतिपय स्थानमा इन्धनको राशनिङ सुरु भएको छ भने विद्यालयहरू समेत बन्द भएका छन् ।

युद्धको आर्थिक असर, विशेषगरी ऊर्जा आपूर्तिको अवस्थाबारे छलफल गर्न जी–७ देशका नेताहरू बुधबार भिडियो सम्मेलनमार्फत बैठक बस्ने तयारीमा छन् । यसैबिच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले इतिहासकै ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावबारे निर्णय गर्ने सम्भावना रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले मङ्गलबार होर्मुज जलडमरूमध्यमा बारुदी सुरुङ बिछ्याउन सक्ने क्षमता राख्ने इरानका जहाजमाथि प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा इरानी डुङ्गाहरू ध्वस्त पारिएको देखिएको बताइएको छ । अमेरिकाका अनुसार विश्वको झण्डै पाँचौँ भाग तेल ओसारपसार हुने यस जलमार्ग नजिकै १६ वटा माइन बिछ्याउने जहाज नष्ट गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै यदि जलडमरूमध्यमा सुरुङ राखिएको पुष्टि भए र त्यसलाई तुरुन्त हटाइएन भने इरानले ‘पहिले कहिल्यै नदेखिएको स्तरको सैन्य परिणाम’ भोग्नुपर्ने बताउनुभयो । अमेरिकी निर्वाचन नजिकिँदै गर्दा बढ्दो तेल मूल्यले ट्रम्पमाथि राजनीतिक दबाब पनि बढाइरहेको छ । मङ्गलबार कच्चा तेलको मूल्य करिब पाँच प्रतिशत बढे पनि भण्डार सार्वजनिक गर्ने सम्भावनाको खबरपछि बुधबार केही घटेको छ ।

ट्रम्पले अमेरिकी सेनाले जलडमरूमध्य हुँदै जाने तेल ट्याङ्करलाई सुरक्षा दिन सक्ने बताएका थिए । तर अमेरिकी प्रशासनले ऊर्जा मन्त्रीले यस्तो सुरक्षा व्यवस्था घोषणा गरेको भनी सामाजिक सञ्जालमा फैलिएको पोस्ट असत्य भएको स्वीकार गरेको छ ।

युद्धको जोखिम समुद्री यातायातमा पनि देखिएको छ । बेलायतको समुद्री सुरक्षा एजेन्सीका अनुसार बुधबार बिहान संयुक्त अरब इमिरेट्सको तट नजिक एउटा कन्टेनर जहाजलाई ‘अज्ञात प्रक्षेप्य’ ले प्रहार गरेको छ । यसले क्षेत्रीय जलमार्ग अझै असुरक्षित रहेको सङ्केत गरेको छ ।

यद्यपि ट्रम्पले सोमबार युद्ध छोटो रहने दाबी गर्नुभएको थियो, तर अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले तेहरानमा अभूतपूर्व गोलीबारी हुन सक्ने चेतावनी दिएका छन् ।यसैबिच इरानले युद्धविरामको कुनै सङ्केत नदिएको स्पष्ट पारेको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै इरान युद्धविराम खोजिरहेको छैन भन्दै आक्रमणकारीलाई सजाय दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

इरानी सेनाले इजरायलका सहरहरूतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जेरुसेलममा हवाई हमलाको साइरन र विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन् । आपतकालीन सेवाहरूले तत्काल ठूलो क्षतिको विवरण सार्वजनिक नगरे पनि तेल अभिवमा केही मानिस घाइते भएको स्थानीय टेलिभिजनले जनाएको छ ।

इरानको रिभोलुसनरी गार्ड्सले बहराइन र इराकी कुर्दिस्तानतर्फ पनि आक्रमण गरेको दाबी गरेको छ । कुवेतस्थित अमेरिकी सैन्य अड्डा समेत लक्षित गरिएको इरानी मिडियाले जनाएको छ, यद्यपि कुवेतले आठ वटा ड्रोन खसालेको मात्र पुष्टि गरेको छ । साउदी अरबले पनि शायबाह तेल क्षेत्रतर्फ आएका ड्रोन र ब्यालेस्टिक मिसाइलहरू अवरोध गरिएको जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो । त्यसपछि उनका छोरा मोजताबा खामेनीलाई उत्तराधिकारीको रूपमा नाम दिइएको छ, तर उनी अझै सार्वजनिक रूपमा देखिएका छैनन् ।

तेहरानमा बम विस्फोटको त्रास अझै कायम छ । त्यहाँकी एक महिलाले बम आक्रमणले सामान्य आवासीय भवनलाई लक्षित नगरे पनि विस्फोटको आवाजले अत्यन्त डर पैदा गरेको बताइन् । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च ८ सम्म युद्धमा एक हजार २०० भन्दा बढी मानिस मारिएका छन् भने १० हजारभन्दा बढी नागरिक घाइते भएका छन् । पेन्टागनका अनुसार सात अमेरिकी सैनिकको मृत्यु भएको छ र करिब १४० जना घाइते भएका छन् ।

द्वन्द्व क्षेत्रीय सीमाभन्दा बाहिर पनि फैलिएको छ । श्रीलङ्काको समुद्रमा अमेरिकी सेनाले इरानी जहाजमाथि टार्पिडो प्रहार गरेको बताइएको छ भने अस्ट्रेलियाले इरानी महिला फुटबल टोलीका थप दुई सदस्यलाई शरण दिएको जनाएको छ । इराक र लेबनान पनि यस युद्धका प्रोक्सी मोर्चा बनेका छन् । इराकमा इरानसँग सम्बन्धित समूहले मङ्गलबार अमेरिकी आक्रमणमा आफ्ना पाँच लडाकू मारिएको बताएको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई लक्षित इजरायली हवाई र स्थल आक्रमणपछि सयौँ मानिस मारिएका छन् र लाखौँ विस्थापित भएका छन् ।

बेरुतको दक्षिणी क्षेत्रमा बुधबार नयाँ इजरायली आक्रमण भएको खबर आएको छ । दक्षिणी सहर कानामा थप पाँच जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राज्य सञ्चारमाध्यमका अनुसार मध्य बेरुतको एउटा क्षेत्रमा पनि आक्रमण भएको छ । यसअघि इरानले संयुक्त राष्ट्रसङ्घमा दिएको उजुरीमा मध्य बेरुतको समुद्री किनारस्थित होटलमा भएको आक्रमणमा आफ्ना चार कूटनीतिज्ञ मारिएको जनाएको थियो । इजरायलले भने त्यहाँ इरानको रिभोलुसनरी गाड्र्सका प्रमुख कमान्डरहरू लक्षित गरिएको दाबी गरेको छ ।

युद्धको असर विश्वभर महसुस हुन थालेको छ । संयुक्त राष्ट्र व्यापार तथा विकास एजेन्सीले इन्धन र खाद्यान्नको मूल्य बढ्दै जाँदा विश्वका कमजोर समुदाय सबैभन्दा बढी प्रभावित हुने चेतावनी दिएको छ । इजिप्टमा सरकारले इन्धनको मूल्य करिब ३० प्रतिशत बढाएपछि सर्वसाधारण चिन्तित भएका छन् । कायरोको बजारमा भेटिएकी छ सन्तानकी आमा ओम मोहम्मदले पहिले नै जीवन धान्न गाह्रो भएको भन्दै अब मानिसहरूले कसरी व्यवस्थापन गर्ने भन्नेबारे आफू चिन्तित रहेको बताए ।