२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध चाँडै सकिने ट्रम्पको दाबीमा इरानको शङ्का



अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व चाँडै समाप्त हुने दाबी गर्दा पनि तेहरानले आवश्यक परेसम्म लडाइँ जारी राख्ने संकेत दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार पिबिएस न्युजसँगको अन्तर्वार्तामा “गोलीबारी जारी छ र हामी तयार छौँ। आवश्यक परेसम्म हाम्रो मिसाइल प्रयोग गर्दै आक्रमण जारी राख्नेछौँ” भनी द्वन्द्व लम्बिन सक्ने चेतावनी दिए।

तेहरानले अमेरिका र सहयोगी खाडी राष्ट्रहरूलाई लक्षित गर्दै नयाँ आक्रमण सुरु गरे केही घण्टापछि ट्रम्पले अभियान छोटो अवधिको हुने दाबी गर्नुभएको थियो। ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गर्दै भने, “यो चाँडै समाप्त हुनेछ र यदि फेरि सुरु भयो भने उनीहरू अझ बढी प्रभावित हुनेछन्।” उनले इरानले तेल आपूर्ति अवरुद्ध गरेमा ‘अकल्पनीय आकारको आक्रमण’ गर्ने चेतावनी पनि दिएका थिए ।

इरानको रिभोलुसनरी गार्ड्सले पनि ट्रम्पको टिप्पणीको जवाफ दिँदै युद्धको अन्त्य कसरी हुने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ। अराघचीले वासिङ्टनसँग वार्ता गर्ने सम्भावना अस्वीकार गर्दै अघिल्ला वार्तामा अमेरिकी आक्रमणले तेहरानलाई अविश्वासी बनाएको बताए।

विश्व बजारमा ट्रम्पको टिप्पणीले केही राहत ल्याएको देखिएको छ। अघिल्लो दिन बढेको तेलको मूल्य करिब पाँच प्रतिशतले घटेको छ भने टोकियो र सियोलका सेयर बजार पनि मजबुत खुलेका छन्। यद्यपि द्वन्द्वको प्रभाव अझै व्यापक छ। मङ्गलबार बिहान इरानी आक्रमणले खाडी राष्ट्रहरूलाई पुनः लक्षित गरेको रिपोर्ट आएको छ। संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन आक्रमणको जवाफ दिइरहेको छ भने बहराइनमा नागरिकलाई सुरक्षित स्थानमा जान साइरन बजाइएको थियो।

इरानभित्र पनि राजधानी तेहरान र खोमेइन क्षेत्रमा ताजा प्रहार भएको छ। इजरायलले इरानी मिसाइल प्रहारपछि इरानी प्रक्षेपण स्थलमा आक्रमण गरेको जनाएको छ। द्वन्द्वले विश्व अर्थतन्त्रमा असर पुर्‍याइरहेको छ; इन्धन आपूर्ति अवरुद्ध हुने आशङ्का बढेको र मुद्रास्फीति बढ्ने चिन्ता देखिएको छ। ट्रम्पले तेलको मूल्य घटाउने प्रयासस्वरूप रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि केही प्रतिबन्धहरू हटाउने घोषणा गरेका थिए ।

इरानले होर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने जहाजहरूलाई पनि लक्षित गरेको छ, जहाँ विश्वको करिब २० प्रतिशत कच्चा तेल पारगमन हुन्छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले जलडमरूमध्य पुनः खोल्न र जहाजहरूको सुरक्षा सुनिश्चित गर्न रक्षात्मक अभियानमा काम भइरहेको बताए ।

उता इरानको नेतृत्वमा पनि परिवर्तन आएको छ। अमेरिका–इजरायलको आक्रमणमा अयातुल्ला अली खामेनीको मृत्यु भएपछि उनका छोरा मोजताबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा अघि आएका छन्। ट्रम्पले उहाँलाई ‘हलुका’ नेता भन्दै इरानको नेतृत्व चयन प्रक्रियामा आफूले प्रभाव पार्नुपर्ने संकेत दिएका थिए।

इरानभित्र यस नियुक्तिलाई मिश्रित प्रतिक्रिया प्राप्त भएको छ। केहीले स्वागत गरेका छन् भने राज्य सञ्चारमाध्यमले मध्य तेहरानमा हजारौँ मानिसले नयाँ नेताको समर्थनमा प्रदर्शन गरेको तस्बिर प्रकाशित गरेको छ।

इरान समर्थित हिजबुल्लाहको इजरायलमाथि आक्रमणपछि लेबनान पनि युद्धमा तानिएको छ। लेबनानी अधिकारीहरूले मार्च २ देखि इजरायली आक्रमणमा कम्तीमा ४८६ जनाको मृत्यु र १,३१३ भन्दा बढी घाइते भएको जानकारी दिएका छन्। राष्ट्रपति जोसेफ आउनले हिजबुल्लाहले देशलाई ‘ध्वस्त पार्ने’ काम गरेको आरोप लगाउनुभएको छ भने समूहका नेताहरूले प्रतिरोध बाहेक विकल्प नभएको बताएका छन्।

सरकारी तथ्याङ्कअनुसार इजरायली आक्रमण र स्थल कारबाहीका कारण करिब ६,६०,००० भन्दा बढी लेबनानी विस्थापित भएका छन्। त्यसमध्ये ४० वर्षीया जैनाब एल मस्री पनि आफ्नो परिवारसँग बेरुतको सडक किनारमा बस्न बाध्य छन्।

मुस्लिमहरूको उपवास महिना रमजान चलिरहेको बेला युद्धले जनजीवन अझ कठिन बनेको छ। इरानका केही बासिन्दाले युद्धसँगै बढ्दो महँगी र आर्थिक समस्याले जीवन कठिन भएको बताएका छन्। उत्तरपूर्वी सहर बौकानका क्याफे प्रबन्धक रेजाले भने, “बैंकहरूले नगद दिन छाडेका छन् र धेरै कार्डहरू अवरुद्ध भएका छन्। जसले कफीको पैसा तिर्न सक्दैन, उनीहरूका लागि कफी निःशुल्क हुनेछ।”