काठमाडौं । नेकपा एमाले भित्र नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्ने आबाज उठेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेसँगै पुनर्गठनको मुद्धा उठेको हो । एमाले उपाध्यक्ष विष्णु पौडेलले बिगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गंभीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपानन्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
रुपन्देही क्षेत्र नं २ बाट विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेललाई बधाई तथा शुभकामना दिने क्रममा पनि पौडेलले पुनर्गठन गर्न अग्रसरता लिने उल्लेख गर्नुभएको थियो ।
उहाँले भन्नुभएको थियो -निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु ।











