२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको नाममा नक्शा पास गर्दा दस्तुर छुट दिने काठमाडौँ महानगरको तयारी, महिला उद्यमीलाई विशेष सुविधा दिइने



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महिलाहरुको आर्थिक सशक्तीकरणलाई बढावा दिन घरको नक्शा पास गर्दा दस्तुरमा छुट दिने तयारी गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी नगरसभामा महिलाको नाममा नक्शा पास गर्दा दस्तुर छुट दिने प्रश्ताव पेश गरिने घोषणा गरेकी छन् ।

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘पावर इन एक्सन, हर टाइम इज नाउ’ सशर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले महिलाहरु आर्थिक रुपमा सबल नभएसम्म महिला सशक्तीकरणको कुरा नारामा मात्र सिमित हुने बताइन् । महानगरपालिकाले ‘एक वडा, एक नमूना कार्यक्रम’ सञ्चालन गरिरहेको समेत जानकारी दिइन् ।

कार्यस्थलमा हुने हिंसा न्युनिकरण गर्न महानगरपालिका कठोर रुपमा प्रश्तुत हुने सङ्केत उनले गरिन् । हाल रहेका ६ वटा कानूनका अतिरिक्त कार्यस्थलमा हुने हिंसालाई विशेष जोड दिएर आगामी दिनमा नयाँ कानून बनाइने र त्यसको कडा परिपालना गराइने डंगोलले बताइन् ।

महिलाहरू भविष्य मात्र नभएर वर्तमान पनि भएको बताउँदै उहाँले समाजका हरेक क्षेत्र—प्रशासन, न्यायपालिका, कानून र कार्यपालिकामा महिलाहरुले आफैं बाटो कोरेर अघि बढिरहेको र अरुका लागि पनि प्रेरणाको स्रोत बनिरहेको भन्दै प्रशंसा गरिन्।