१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकदेखि संसद्सम्म जोशीको यात्रा



अ+ अ-

कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बझाङको दुर्गम गाउँबाट सुरु भएको उहाँ जीवनयात्रा अहिले संसद्सम्म पुगेको छ ।

विसं २०४३ असार २८ गते सुदूरपश्चिम प्रदेश बझाङको जयपृथिबी नगरपालिका–२ बाँझगाउँमा जन्मिएका जोशी शिक्षक परिवारका सदस्य हुनुहुन्छ ।

जोशीले प्रारम्भिक शिक्षा बाँझगाउँस्थित बालविकास प्राथमिक विद्यालयबाट प्राप्त गर्नुभएको थियो । पछि २०५३ पुस ५ गते परिवारसहित कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बसाइँ सरेपछि उहाँले कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयबाट कक्षा ६ देखि १० सम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

त्यसपछि सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट आइएससी तथा कैलाली बहुमुखी क्याम्पस धनगढीबाट उच्च शिक्षा अध्ययन गर्नुभएका जोशीले घोडाघोडी बहुमुखी क्याम्पसबाट बीए र एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ । जोशीले २०५६ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले विभिन्न विद्यार्थी सङ्गठनका पदमा सक्रिय रहँदै सिद्धनाथ विज्ञान क्याम्पसको इकाइ समिति अध्यक्ष, केन्द्रीय पार्षदलगायतका जिम्मेवारी सम्हाल्नुभएको थियो । राष्ट्रिय जनमोर्चामा आबद्ध भई कैलाली जिल्लामा सदस्य, सहसचिव, सचिव र अध्यक्षसम्मको जिम्मेवारी निभाउनुभएको थियो । उहाँ पार्टीको केन्द्रीय पार्षद तथा प्रदेश सदस्य पनि रहनुभएको थियो ।

विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा जोशी घाइते हुनुभएको थियो । उहाँ त्यसबोला संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समितिका सदस्य हुनुहुन्थ्यो । पेसाले शिक्षक जोशीलाई २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले उम्मेदवार बनाएको थियो, तर उहाँ पराजित हुनुभयो । विसं २०७४ को निर्वाचनमा उहाँ सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बन्नुभएको थियो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय जनमोर्चाबाट घोडाघोडी नगरपालिका–१० को वडाध्यक्ष पदमा उम्मेदवारी दिए पनि उहाँ सफल हुन सक्नुभएन ।

गत साउन ३ गतेसम्म राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष रहनुभएका जोशीले आफ्नै अध्यक्षतामा बसेको बैठकबाट राजीनामा दिँदै पार्टी परित्याग गर्नुभएको थियो । साउन ४ गते घोडाघोडी नगरपालिका–१० को वडा अधिवेशनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका जोशीलाई रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो ।

जोशीका अनुसार रास्वपाले उम्मेदवार चयन गर्दा लोकतन्त्रमा दिएको योगदान, व्यक्तिगत पृष्ठभूमि, भ्रष्टाचारमा मुछिएको वा नमुछिएको अवस्था, शिक्षा र अनुभवलाई मुख्य आधार बनाउने गरेको छ । सोही मापदण्डका आधारमा आफूलाई टिकट दिइएको पनि उहाँ बताउनुहुन्छ । चुनावी परिणामबारे सुरुआतमा यति ठूलो समर्थन आउने अपेक्षा नगरेको बताउँदै जोशी भन्नुहुन्छ, आर्थिक रूपमा आफू कमजोर रहेकाले चुनावी अभियान चलाउन कठिनाइ भएको थियो ।

“आर्थिक रूपमा कमजोर भए पनि म जनताको घरदैलोमा पुगेँ । घरदैलो अभियान चलाएँ”, जोशीले भन्नुभयो, “जनताले मेरो मूल्याङ्कन गरेर यो परिणाम दिनुभएको हो ।”

नेपाली राजनीतिमा नैतिकता र इमानदारिताको अभाव रहेको उल्लेख गर्दै आफू इमानदारिता र नैतिकताका आधारमा काम गर्ने जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो । “म नैतिकताको तरबार लिएर अगाडि बढ्छु । अनैतिक र अराजनीतिक काम गर्दिनँ”, उहाँ भन्नुहुन्छ, “नेपाल र नेपाली जनताको हितमा आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास गर्नेछु ।”

आगामी दिनमा कति काम गर्न सकिन्छ भन्ने कुरा भविष्यले नै बताउने जोशीले बताउनुभयो । जोशी जम्मा मत ५९ हजार ७५९ मा २० हजार ३५९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत, नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गर्नुभयो । एमालेका गौरीशङ्कर चौधरीले चार हजार ७५२ मत प्राप्त गर्दा राप्रपाका वीरेन्द्र बमले दुई हजार ३४७ मत प्राप्त गर्नुभयो । रासस