२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्धः नागरिकमाथि बढ्दो मारप्रति संयुक्त राष्ट्रसङ्घ स्तब्ध



अ+ अ-

मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गलबार जारी सन्देशमार्फत क्षेत्रभरि फैलिएको डर, आतङ्क र अनिश्चितताले लाखौँ मानिसको जीवन असुरक्षित बनाएको बताउनुभयो ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँकी प्रवक्ता रविना शामदासानीले उच्चायुक्त टर्क ‘गहिरो स्तब्ध’ भएको जानकारी दिनुभयो । उहाँले मध्यपूर्व मात्र नभई बाहिरका देशहरूमा समेत यस द्वन्द्वले सिर्जना गरेको मानसिक त्रास र अस्थिरता स्पष्ट देखिएको उल्लेख गर्नुभयो । “लाखौँ मानिसले भोगिरहेको डर, आतङ्क र चिन्ता स्पष्ट छ – र यो अवस्था पूर्ण रूपमा टार्न सकिने थियो”, उहाँले भन्नुभयो ।

शामदासानीका अनुसार, गत शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि स्थिति झन् जटिल बनेको छ । त्यसको प्रतिक्रियास्वरूप इरानले क्षेत्रका विभिन्न राज्यविरुद्ध कदम चालेको र हिजबुल्लाहसमेत द्वन्द्वमा प्रवेश गरेको घटनाले नागरिक तथा नागरिक पूर्वाधारमाथि व्यापक प्रभाव पारेको उहाँले बताउनुभयो । “स्थिति प्रत्येक घण्टासँगै बिग्रँदै र फराकिलो बन्दै गएको छ, जसले हाम्रो सबैभन्दा खराब आशङ्कालाई सतहमा ल्याइरहेको छ”, उहाँले स्पष्ट गर्नुभयो ।

उच्चायुक्त टर्कले युद्धसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको स्मरण गराउँदै नागरिक र नागरिक वस्तुहरू सुरक्षित राखिनुपर्ने दायित्व सबै पक्षको भएको दोहोर्‍याउनुभयो । सबै राज्य तथा सशस्त्र समूहहरूले कानूनी दायित्वको पूर्ण पालना गर्नुपर्ने उहाँको आग्रह छ ।

उहाँले सबै पक्षलाई अधिकतम संयम अपनाउन, थप सैन्य विस्तार रोक्न र नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारको संरक्षणका लागि सम्भव सबै उपाय अवलम्बन गर्न आह्वान गर्नुभयो । बढ्दो हिंसा र प्रतिशोधको चक्रले क्षेत्रीय स्थायित्वलाई मात्र नभई, मानवीय अवस्थालाई पनि झन् भयावह बनाउने चेतावनी उहाँले दिनुभयो ।

“वार्ताको टेबलमा फर्कनु नै हत्या, विनाश र निराशाको अन्त्य गर्ने एक मात्र उपाय हो”, शामदासानीले उच्चायुक्तको भनाइ उद्धृत गर्दै भन्नुभयो, “उच्चायुक्तले सबै पक्षलाई होशमा आउन र यो हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ ।”रासस

Photo- UN Geneva/Violaine Martin