१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

मार्जिन कारोबार: अवसर र जोखिमबिचको सन्तुलन

मार्जिन कारोबार: अवसर र जोखिमबिचको सन्तुलन
अ अ+ अ-
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही फागुन १ गतेदेखि पुरानो मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०७४ खारेज गर्दै नयाँ निर्देशिका २०८२ लागू गरेको छ ।
खासगरी मार्जिन कर्जा पुँजी अपुग भएका तर बजारमा राम्रो अवसर देखेका लगानीकर्ताले पैसाको जोहो गर्ने एक वैकल्पिक उपाय बन्नसक्ने देखिन्छ । एक लगानीकर्ताले मार्जिन कारोबार के हो र कसरी गर्न सकिन्छ ? यसका लागि के चाहिन्छ ? के यो हरेक लगानीकर्ताका लागि लाभदायक छ ? यसका प्राविधिक पक्ष के हुन सक्छ ? यसले दिनसक्ने जोखिम कस्ता हुन सक्छन् ? प्रत्येक लगानीकर्ताले मार्जिन कारोबार गर्नुपूर्व यावत् प्रश्नको सही जवाफ खोजी गर्नु अनिवार्य हुन्छ ।
मार्जिन कर्जा के हो ?
मार्जिन कर्जा भनेको शेयर खरिदका लागि लगानीकर्ताले निर्देशिकाबमोजिम प्रक्रिया पूरा गरेर योग्य धितोपत्र दलाल व्यवसायीकामा निश्चित प्रतिशत रकम जम्मा गरेपछि शेयर खरिद गर्नका लागि दिइने कारोबार सुविधा हो । हालै आएको निर्देशिका अनुसार यस्तो कर्जा लिन चाहने लगानीकर्ताले ३० प्रतिशत रकम आफूले जम्मा गरेमा थप ७० प्रतिशत रकम बराबरको मार्जिन कर्जा लिएर शेयर खरिद गर्न सकिन्छ ।
मार्जिन कर्जा धितोपत्र दलाल व्यवसायीसँग गरिने कारोबार हो । यस कारोबार नियमअनुसार प्रारम्भमा आफूसँग ३० प्रतिशत रकम भएमा थप ७० प्रतिशतको शेयर खरिद गर्न सकिन्छ । यहाँ बुझ्नुपर्ने मूल कुरा के हो भने तपाईसँग केबल रु ३० छ भने रु १०० को शेयर खरिद गर्न सक्नुहुन्छ ।
शेयर कर्जा भनेको आफूले खरिद गरेको शेयर बैंक तथा वित्तीय संस्थामा धितो राखेर सापटी लिने कार्य हो । यस्तो कर्जा लिन सुरुमा शतप्रतिशत पैसा भुक्तानी गरेर शेयर खरिद गरेपछि मात्रै उक्त शेयर बैंकमा जम्मा गरेर नियमअनुसारको ऋण लिन सकिन्छ । खासगरी शेयर कर्जामा रु सयको शेयर खरिद गर्नुपरेमा खरिदकर्तासँग कर्जा लिनुपूर्व नै रु सय हुन आवश्यक रहन्छ तर मार्जिन कारोबारको हकमा केबल रु ३० मात्रै भए पुग्छ । शेयर कर्जामा राखिएको शेयर तत्काल बिक्री गर्न सकिँदैन । यसका लागि बैंकमा गएर कर्जा चुक्ता गरी शेयर फुकुवा गरेर ल्याउनुपर्ने हुन्छ तर मार्जिन लोनमा रहेको शेयर बिक्री गर्नुपरेमा यस्तो गरिरहनु पर्दैन ।
मार्जिन कारोबार गर्नुपूर्व लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकामा जम्मा गर्नुपर्ने रकमलाई प्रारम्भिक मार्जिन भनिन्छ ।  नयाँ निर्देशिका अनुसार यस्तो मार्जिन कम्तीमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ । यसको अर्थ मार्जिन कर्जा लिएर कुनै लगानीकर्ताले रु एक सयको शेयर खरिद गर्न चाहन्छ भने त्यसका लागि ऊसँग न्यूनतम रु ३० अनिवार्य हुनुपर्छ ।
सम्भार मार्जिनलाई कसरी बुझ्ने ?
मार्जिन कारोबार गर्दा लगानीकर्ताले कायम गर्नुपर्ने न्यूनतम् प्रतिशत नै सम्भार मार्जिन हो । निर्देशिका अनुसार २० प्रतिशत सम्भार मार्जिन कायम गर्नुपर्छ । यसको अर्थ रु एक सयमा खरिद गरिएको शेयरको बजार मूल्य घटेर रु ८० मा आइपुगेमा सम्भार मार्जिन थप गर्नुपर्ने हुन्छ तर शेयरको मूल्यवृद्धि भए तापनि शेयर बिक्री नगरेसम्म पहिला राखेको प्रारम्भिक मार्जिनबाट कुनै रकम झिक्न पाइँदैन । यस्तो मार्जिन थप्नका लागि लगानीकर्तासँग आवश्यक पुँजी नभएमा आफूसँग ए, बी र जी कम्पनीका शेयरहरु छन् भने सम्भार मार्जिनका रुपमा राख्न पाइन्छ तर त्यस्ता शेयरको मूल्य गणना गर्दा बजार मूल्यको ६० प्रतिशतले हुन आउने रकमलाई मात्रै गणना गरिन्छ ।
मार्जिन कारोबारबाट खरिद गरिएको शेयरको मूल्यवृद्धि भएर सम्भार मार्जिन कायम हुन आएमा यसरी राखिएको थप शेयर लगानीकर्ताले चाहेमा फुकुवा गर्न सकिन्छ । साथै मार्जिन कल गर्दासमेत सम्भार मार्जिन समयमा नतिरेमा शेयर ब्रोकरले लगानीकर्ताको आदेशबिना नै उक्त शेयर बिक्री गरिदिन सक्छ ।
मार्जिन कल किन र कहिले गरिन्छ ?
मार्जिन कारोबार सुविधा लिँदा लगानीकर्ताले सम्भार मार्जिन कायम गर्ने शर्त पालना गर्नु अनिवार्य हुन्छ । यदि मार्जिन कारोबार गरिरहेका कुनै लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा शेयर ब्रोकरमार्फत दिइने सन्देशलाई ‘मार्जिन कल’ भनिन्छ । यस निर्देशिका बमोजिम २० प्रतिशतभन्दा बढी सम्पत्ति घट्दा पनि लगानीकर्ताले सम्भार मार्जिन व्यवस्था नगरेका अवस्थामा यस्तो कल गर्ने गरिन्छ । मानौँ मार्जिन कर्जा लिएर खरिद गरिएको रु एक सयको शेयरको मूल्य घटेर रु ८० मा आयो तर सम्बन्धित लगानीकर्ताले सम्भार मार्जिन नियमअनुसार रु २० जम्मा नगरेमा ब्रोकरले ऋणीलाई उक्त तिर्न बाँकी रकमको ताकेता गर्ने कार्य नै मार्जिन कल हो ।
अहिलेकै खातामा मार्जिन कारोबार गर्न सम्भव छ ?
मार्जिन कारोबारका लागि अहिले दोस्रो बजारमा कारोबार गर्न चाहिने खाताको अलवा थप तीन वटा खाता खोल्न आवश्यक देखिन्छ । यी खाताबिना मार्जिन कारोबार सम्भव देखिँदैन ।
१) मार्जिन कारोबार खाताः कुनै पनि लगानीकर्ताले मार्जिन कारोबारमार्फत शेयर खरिद वा बिक्री गर्नका लागि धितोपत्र दलाल व्यवसायीकामा खोलिने खाता नै मार्जिन कारोबार खाता हो । यसै खातामा मार्जिन रकम जम्मा गर्ने गरिन्छ ।
२) मार्जिन कारोबार हितग्राही खाता : लगानीकर्ताले मार्जिन कारोबारमार्फत खरिद गरेको शेयर जम्मा गर्न धितोपत्र दलाल व्यवसायीकामा खोलिएको हितग्राही खाता नै मार्जिन कारोबार हितग्राही खाता हो ।
३) मार्जिन कारोबार राफसाफ हितग्राही खाता : राफसाफ सदस्यले मार्जिन कारोबारमार्फत भएको शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यका लागि केन्द्रीय कम्पनीको प्रणालीमा खोलेको हितग्राही खाता नै मार्जिन कारोबार राफसाफ हितग्राही खाता हो । यस खातासँग मार्जिन कारोबार खाता र मार्जिन कारोबार राफसाफ हितग्राही खातालाई आबद्ध गर्नुपर्ने हुन्छ ।
के सबै शेयरको मार्जिन कारोबार हुन्छ ?
पुँजी बजारमा सूचीकृत भएका सबै कम्पनीका शेयरहरु मार्जिन कारोबार गर्न योग्य रहँदैनन् । यसको लागि निर्देशिकाले जारी गरेको कम्तीमा २५ लाख कित्ता सर्वसाधारण शेयर सूचीकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको र प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्काशन भएको शेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएका जुन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूची जारी गरेका हुन्छन् त्यस्ता कम्पनीको शेयर मात्रै मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था गरिएको छ । अन्यको हकमा मार्जिन कर्जा सुविधा लिन सकिँदैन ।
लगानीकर्ताले मार्जिन कारोबार सुविधाबापत लिएको रकम तथा दायित्व चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा मार्जिन कारोबार हितग्राही खातामा रहेको शेयर बिक्री तथा मार्जिन कारोबार खाता राफसाफ गर्ने प्रयोजनका लागि मात्रै लगानीकर्तासँग धितोपत्र दलाल कम्पनीले अग्रीम रुपमा लिइएको मञ्जुरीनामा हो ।  यदि लगानीकर्ताले आफूले लिएको मार्जिन कर्जा तोकिएको समयमा भुक्तान नगरेमा, सम्भार मार्जिन नतिरेमा वा नवीकरण नगरेमा ब्रोकरले लगानीकर्ताको शेयर बिक्री गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको पत्र नै अधिकृत वारेसनामा हो ।
धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ तर यस्तो सुविधा दिनका लागि ब्रोकरले बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण र आफ्नो शेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनुहुँदैन । त्यसमा पनि कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्नसक्ने कूल मार्जिन सुविधाको बढीमा १० प्रतिशतभन्दा बढी हुनुहुँदैन । निर्देशिकाबमोजिम उपलब्ध मार्जिन कारोबार सुविधाको समयावधि बढीमा एक वर्षसम्म हुनेछ तर उक्त समयावधिपश्चात् निरन्तरता दिन चाहेमा नवीकरण गर्न सकिन्छ ।
कस्ता छन् मार्जिन कारोबार अवसर र जोखिम ?
शेयर बजारमा मार्जिन कारोबार एक स्थापित विधि हो । यसलाई बुझेर प्रयोग गर्न सक्दा लाभैलाभ र नजानी हौसियौँ भने क्षति हुने निश्चित छ । मार्जिन कारोबार जानेर गर्न सकियो भने अवसर भेटिन्छ तर अरुको भरमा परियो भने नोक्सान हुनेछ । कुनै कम्पनीको राम्रो सूचना आफूले प्राप्त गरेको छ, बजार बढ्दो छ, ब्याजदर घट्दो छ र भविष्यमा शेयर मूल्य अझै माथि जाने सम्भावना देखिएको छ भने मार्जिन कारोबारमार्फत लगानी बढाएर लाभ लिनसक्ने प्रचुर सम्भावना रहन्छ । तर बजार घट्दो छ र ब्याजदर बढ्दो भएको अवस्थामा मार्जिन कारोबार गुम्ने सम्भावना अत्यधिक रहन्छ ।
धेरै कमाउने लोभमा आफ्नो क्षमताभन्दा बढीको मार्जिन कर्जा परिचालन गर्दा आफूले कारोबार गरेको शेयरको मूल्य घट्न गएको अवस्थामा तिर्नुपर्ने सम्भार मार्जिन तिर्न नसक्ने अवस्था आइलाग्यो भने एकातिर मार्जिन कल आएर मानसिक रुपमा दबाब सिर्जना हुन पुग्छ भने अर्कोतिर समयमा सम्भार मार्जिन व्यवस्थापन गर्न नसक्दा ब्रोकरले सस्तोमा शेयर बिक्री गरिदिन सक्छ । यसले आफूले लगानी गरेको मूल धन नै हराउनसक्ने जोखिम सिर्जना गरिदिन्छ । यसले सधैँ नाफा र अवसर मात्र दिँदैन बरु घाटा र जोखिमको मात्रा पनि त्यति नै रहन्छ, जति फाइदाको प्रतिशत रहन्छ । यसैले मार्जिन कारोबार जानेर गर्दा सम्पत्ति सिर्जनाको सुवर्ण अवसर बन्नसक्छ भने हचुवाका भरमा गर्दा भएकै धन सोसेर लैजाने स्पोन्ज बन्न सक्छ ।
अन्त्यमा मार्जिन कारोबारले ज्ञान र अनुभव बटुलेका तर पुँजी अभावका कारण लगानी गर्न रोकिएका लगानीकर्तालाई सहयोग पुग्छ । नवआगन्तुक लगानीकर्ताले भने बृहत् अध्ययन गरेर मात्रै यसको प्रयोग गर्नु उपयुक्त हुन्छ । वारेन्ट वफेटको लगानीको पहिलो नियम आफ्नो मूल धन बचाउनु हो र दोस्रो नियम कहिले पहिलो नियम नभुल्नु हो । यसैले बिना जानकारी, सुझबुझ र अनुभव शेयर बजारमा धेरै कमाउने नाममा जथाभावी मार्जिन कारोबार गर्न थालियो भने मूल धन हराउनेछ । बफेटको लगानी सिद्धान्तविपरीत जाँदा सम्पत्ति गुम्ने र लगानीमा दुर्घटना निम्तने निश्चित छ । यसैले सधैँ लगानी जोखिमलाई न्यूनीकरण गर्दै मार्जिन कारोबारबाट बजारमा अत्यधिक लाभ उठाउनका लागि यसबाट हुनसक्ने लाभ र हानिको सही विश्लेषण गरेर मात्रै आफ्नो लगानीमा मार्जिन कारोबारलाई स्थान दिने गरौँ ।                                                     
 
(लेखक धितोपत्र बजारका अध्यता छन्)