९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा



अ+ अ-

चितवन । भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ । 

थप रु चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि चार लाख पटक बीमा दाबी भएको तथ्याङ्क रहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ । बीमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आउनुभएका लीलाधर पौडेलका अनुसार विसं २०७४ साल भदौ १ गतेबाट यहाँ स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । सुरुमा सामाजिक सुरक्षा कार्यक्रमका रुपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले हेर्दै आएको छ । 

उहाँका अनुसार भरतपुर अस्पताल धेरै स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गर्ने देशकै तेस्रो अस्पताल हो । नोबल र लुम्बिनी मेडिकल कलेजपछि भरतपुर अस्पतालले धेरै बीमाका बिरामी उपचार गर्दै आएको छ । पौडेलका अनुसार पहिलो वर्ष रु तीन करोड दुई लाख ३२ हजार आम्दानी बीमाबाट भएको थियो । 

आर्थिक वर्ष २०७५/७६ मा रु १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा रु २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा रु १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो । चालू आर्थिक वर्षमा रु २५ करोड भन्दा बढी आम्दानी हुने अनुमान गरिएको पौडेलको अनुमान रहेको छ । गत महिना अस्पतालले रु तीन करोड ९१ लाख स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ । 

यस हप्ताको आइतबार भरतपुर अस्पतालमा आएका कूल बहिरङग बिरामीमध्ये ७३४ जना बीमाका रहेका थिए । सोमबार यो सङ्ख्या ६२० रहेको थियो । सोमबार बीमा बाहेकका बहिरङगको टिकट काट्नेको सङ्ख्य ३२७ मात्र थियो । अन्य बिरामी भन्दा झण्डै दोब्बर बीमाका हुने गरेका छन् । पछिल्लो समय अस्पतालले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै बोर्डमा दाबी र भुक्तानीमा पनि ताकेता गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा बोर्डबाट सेप्टेम्बरमा रु चार करोड ५२ लाख, अक्टोबरमा रु एक करोड १० लाख, नोभेम्बरमा रु १२ लाख ५३ हजार र डिसेम्बरमा रु आठ करोड ६६ लाख भुक्तानी भएको जानकारी दिनुभयो । 

बीमाका बिरामीलाई अन्यत्र जानु नपर्ने गरी अस्पतालले सेवा सुविधा विस्तार गर्दै लगेको उहाँको भनाइ छ । बिहान ८ः३० बजेबाटै बहिरङग सेवा सुरु गरिएको, दिउँसो ५ बजेसम्म शल्यक्रिया सेवा सञ्चालन गरिएको पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो,“जनशक्ति र स्थानका अभावमा सोचे जति गर्न नसके पनि बीमाका बिरामीलाई अधिकतम सुविधा दिने काममा हामी लागि रहेका छौ ।” पहिले–पहिले बहिरङग सेवा भीड हुँदा र शल्यक्रियाका लागि लामो समय पालो कुर्नु पर्दा बिरामी बाहिर लिएर अन्य बीमा कार्यक्रम लागू भएका अस्पतालमा जान बाध्य थिए । बीमा कार्यक्रम प्रभावकारी हुँदै गर्दा अस्पतालको आम्दानीको मुख्य स्रोत बन्दै गएको छ ।

अस्पतालले वार्षिक रु ५० करोड हाराहारी आम्दानी गर्दैगर्दा बीमाको हिस्सा झण्डै आधा हुने गरेको अस्पतालले जनाएको छ । चितवन र पूर्वी नवलपरासीका बिरामी बीमा कार्यक्रमका लागि भरतपुर अस्पताल आउने गर्दछन् । यो अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत लिइने सेवामा सबैभन्दा बढी बहिरङग सेवा हुने गर्दछ । बीमाबाट बिरामीले लिने सुविधामध्येमा सबैभन्दा बढी पेटको औषधि लिइएको बोर्डले जनाएको छ । नेपालमा सामाजिक सुरक्षा कार्यक्रम विसं २०७२ बाट सुरु भएको हो । (रासस)