![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
कसरी सम्झने पृथ्वीनारायणलाई ?
![](https://newspolar.com/wp-content/uploads/2020/01/Capture-7.jpg)
डा. रमेश ढुङ्गेल
पृथ्वीनारायण शाह त्यस्तो नाम हो जसलाई नेपालीले मन परे पनि नपरेपनि सम्झनै पर्छ। फेरी उनलाई सम्झने वेला आइ पुगेको छ। २९४ औं पृथ्वी जयन्तीको दिन आउँन अव एकहप्ता मात्र बाँकी छ। सदाझैं यस विषयमा विभिन्न क्षेत्रमा चर्चा/परिचर्चा चलेका छन्। अहिलेको नपालको परिवेशमा उनलाई सम्झने आवश्यकता झानी प्रवल भएको मान्दछन एकथरी। पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता वा एकिकरण दिवसको रूपमा सरकारले घोषणा गरोस भन्ने आग्रहकासाथ् सरकारलाई विभिन्न संघ/संस्थामार्फत नागरिक दवाव पनि परिरहेको छ।
हामीलाई लाग्छ, कुनैवेला अहिलेको भन्दा निकै ठूलो आकारमा पुगेको नेपाल देशको अस्तित्त्वको र नेपाल र नेपालीको आधारशीलाको इतिहासलाई सम्झने अवसर हो यो। जातीय र सांस्कृतिक विविधतामा एकताको अवस्था खल्वलिएर अफ्ठेरोमा परेका सारा नेपालीले पुनः चिन्तन गर्दै नेपाल र नेपालीको सम्मानपूर्ण अस्तित्त्व वचाउनका निम्ति एकताको डोरी समाउने समयको रूपमा पनि यसलाई मान्न सकिन्छ।
पृथ्वीनारायण स्वयम् पनि समय/समयमा पहिले भएका लडाईं वा हुलमूलका घटना विर्सिएर जनतालाई फेरी एकत्र हुन र बाहिरिएकालाई फर्किएर आउन आह्वान गर्ने गर्दथे भन्ने कुरा अहिले यस सन्दर्भमा स्मरणीय भएको छ। पृथ्वीजयन्ती मनाउने, उनका शालिक तोड्ने र पुनर्निर्माण गर्ने जस्ता सवै प्रसंगमा त्यसवेलाको इतिहासतर्फ फर्कने र आ–आफ्नै किसिमका व्याख्या गर्ने चलन चलेको छ हिजोआज।
कसैले उनलाई एकीकरणकर्ता, राष्ट्रनिर्माता, साझा संस्कृतिका पृष्टपोषक, ठूला साम्राज्यसंग पनि कुशलताका साथ भिड्न सक्ने, भूराजनीति बुझेका, समग्र परिस्थिति हेरी चल्न सक्ने, समयले जन्माएका युगपुरुषको रूपमा सम्मान गर्ने गर्दछन भने कसैले अरूको राज्य हरणगर्ने, सामन्त र विस्तारवादी तथा जातीय कविलाका नाईके सम्म पनि भन्ने गर्दछन। त्यसैले यस विषयमा राम्रैसंग विश्लेषण हुनु आवश्यक भएको हो। यस विषयमा राम्रो निरूपण गर्न वस्दा सवैभन्दा पहिले नेपालको वर्तमान भूभाग भित्र र वरीपरीको तात्कालिक स्थितिलाई वुझ्न जरुरी हुन्छ।
![](https://newspolar.com/wp-content/uploads/2020/01/Prithvi_Narayan_Shah.jpg)
बाह्र हजार घरको गोर्खाले कुनैवेला टिष्टा र कांगडा सम्म फैलिन पुगेको विशाल नेपालको परिकल्पना गर्न थाल्दा भारतीय मैदानमा सात समुद्रपारवाट ब्यापारी फाइदा कमाउने र श्रोत माथि कव्जा जमाउने उद्देश्यले आएको अंग्रेजको साम्राज्यले फुटाउ र हत्याऊको नीति लिएर आफ्नो शक्ति वढाई रहेको थियो। हिन्दुस्तानका साना/ठूला राज्यहरू एक पछि अर्को गर्दै विस्तार–विस्तार विलिन भैरहेका थिए। साम्राज्य विस्तारसंगसंगै इशाई धर्मको प्रभाव र प्रकोप पनि त्यत्तिकै बढेको थियो। अंग्रेजको त्यो शक्ति नेपाल सहित सारा हिमाली इलाकालाई अधिनस्त गर्ने महत्त्वाकांक्षा लिएर अगाडी बढिरहेको थियो।
तिव्वतलाई अंग्रेजको व्यापारिक उपनिवेश वनाउन पनि नेपाल र हिमालयलाई हातपार्नु जरूरी थियो अंग्रेजहरूका निम्ति। नेपाललको वर्तमान भूखण्ड भित्र पश्चिमका वाइसी/चैविसी नामले चिनिने राज्य, उपत्यकाका मल्ल राज्य, पूर्वका सेन राज्य, मुस्ताङ्, गोर्खा र अनेकन ससाना भुरे टाकुरे समेत गरेर ५ दर्जन भन्दा धेरै राज्यहरू थिए। तिनका विचमा झैझमेला र लडाईं/भिडाईं भैरहन्थ्यो। वाली/नाली लाउने उठाउने वेलामा समेत लुटपाट मच्चिने गर्दथ्यो। यथार्थमा आन्तरिक रूपमा सुरक्षाको अवस्था थिएन। वाह्य आक्रमणको पनि उत्तिकै डर थियो। यस्तो असुरक्षित अवस्थामा त्यस्ता राज्यका जनताले वाह्य र आन्तरिक आक्रमण र प्रत्याक्रमणवाट सुरक्षा कायम गर्न सक्ने सवल राज्यको र शासकको आवश्यकता महशुश गर्नु स्वाभाविक थियो।
यस परिवेशमा गोरखावाट पृथ्वीनारायणको सपना र नेतृत्त्वमा उठेको नेपालललाई एउटा वलियो हिमाली अधिराज्य बनाउने असम्भव जस्तो दखिने अभियानले सफलता पाएको हो। आन्तरिक द्वन्द र बाह्य आक्रमणको असुरक्षित अवस्थावाट एउटा सुरक्षित र सक्षम राज्य निर्माणको अभियान भएको हुनालेनै यस अभियानले व्यापक जनसहभागिता पनि प्राप्त गर्न सफल भएको थियो। पृथ्वीनारायणको यस महत्त्वाकांक्षी अभियानले अन्ततोगत्वा अपेक्षा गरिए अनुरूप सफलता प्राप्त गरयो र नेपाललाई अंग्रेज र चिनिया साम्राज्य जस्ता शक्तिसंग समेत जुध्न सक्ने एउटा वलियो अधिराज्यको रूपमा स्थापित गर्न सक्यो।
यदी त्यस वेला विशाल नेपालको निर्माण नभएको भए यस भूखण्डका कुनै पनि राज्य समेत पुरै हिमाली इलाका अंग्रेज साम्राज्यको पन्जा वाहिर रहने अवस्था हुने थिएन। यहाँका परम्परागत मानवीय सभ्यता र संस्कृति पनि लोप हुने वा ह्रास आउने अवस्था हुन्थ्यो। यस अर्थमा पृथ्वीनारायण शाहलाई एउटा विस्तारवादी राजाको रूपमा मात्र नहेरी समय र परिस्थितिले खडा गरेको कुशल युग पुरूषको रूपमा हेर्नु पर्दछ। पृथ्वीनारायणकोओ युग भनेको सारा विश्वनै सामन्त साशनको व्यापकताको युग थियो। त्यसवेला अहिलेको जस्तो शासन पद्दतिको र राज्य प्रणालीको परिकल्पना सम्म पनि हुन सक्दैनथ्यो।
त्यस युगका संसारका राजा महाराजाको स्थितिसंग तुलना गरेर हेरेमा पृथ्वीनारायण शाह एऊटा विस्तारवादी सामन्त शासक भन्दा व्यवहारिक नीति अपनाउने साझा संस्कृतिका पृष्टपोशकको रूपमा देखिएका छन। आफ्नो नेतृत्त्वमा एकीकरणको जग हालिएको नेपालको भूराजनीतिक स्थितिको राम्रो ज्ञान भएका पृथ्वीनारायणलाई कति र कहाँसम्म मात्र सिमाना विस्तार गर्दा नवनिर्मित नेपाललाई युग युगान्तरसम्म टिकाएर राख्न सकिन्छ भन्ने कुराको स्पष्ट हेक्का भएको कुरा उनले व्यक्तगरेका विचारवाट स्पष्ट हुन्छ। देशलाई दुई ढुंगाको तरुलसंग तुलना गर्दै दक्षिण र उत्तरका साम्राज्यसँग कसरी र कस्तो नीति लिएर चल्नु आवश्यक हुन्छ भन्ने कुराको स्पष्ट निर्देश उनले गरेका छन।
बाह्र हजार घरको एउटा सानु, अत्यन्त सीमित श्रोत र साधन भएको गरीव पहाडी राज्यले यसकिसिमको विशाल साम्राज्यसंग जुधेर पनि अस्तित्त्व कायम गर्न सक्ने वलियो अधिराज्यको रूप लिनु भनेको अवश्य पनि साधारण कुरो थिएन। सुरुका दिनमा स्वाभाविक रूपमा संसारका अन्य देशका शासक जस्तै पृथ्वीनारायणमा पनि ठूलो, सम्पन्न र वलियो राज्यको राजा हुने आकांक्षा थियो भन्ने देखिएको छ। परन्तु राज्य विस्तार हुँदै जाँदा अनुभव, परिवेश र भूराजनीतिको ज्ञानले ऊनी खारिदै गए र नेपालको एकीकरण गर्ने र यसलाई टिकाएर कसरी राख्न सकिन्छ भन्ने कुराको उनमा वोध हुँदै गरेको देखिन्छ।
शुरुका दिनमा पृथ्वीनारायणले उपत्यकाका तीन राज्यलाई चन्द्रागिरिवाट हेरेर भानु अर्ज्याल लगायत साथका भारदार र सहयोगीहरूलाई आफू यस उपत्यकाका तीनै राज्यको राजा हुन् पाए कति राम्रो हुन्थ्यो भन्ने जस्ता अभिव्यक्ति दिएको कुराले उनी ठूलो राज्यको राजा हुने आकांक्षामा भएको कुराको संकेत गर्दछ। तर, यस्तो ठूलो देशको राजा हुने सीमित आकांक्षावाट उनको विचार नेपाल एकीकरण गर्ने र यस देशलाई स्थानीय सभ्यता, संस्कृति र परम्पराको निम्ति सुरक्षित र साझास्थलको रूपमा टिकाएर राख्नेतर्फ एकोहोरिएको देखिन्छ।
त्यसै हुनाले उनी यो नव निर्मित देशलाई यस भेकका सवै किसमका स्थानीय परम्परागत कूल, धर्म, परम्परा मान्ने समुदायको साझा फूलवारीको रूपमा चिनाउने गर्दथे। ऊनी गौरवसाथ भन्थे, उनको साथमा भएका मगर, गुरुङ्, खस, खान, ठकुरी आदि धरै किसिमका समुदायको संलग्नतामा यो राज्यको निर्माण भएको थियो। त्यस्तै गरेर उनी यो देश निर्माणको क्रमका आफना अनुभवलाई मुख्य भारादार र विभिन्न क्षेत्रका प्रतिनिधि पात्र मार्फत जनतामा पुरयाउन र आफ्ना संतातिहरूमा पनि नामेट नहुने गरी कायम राख्न चाहन्थे। त्यसको मूल उद्देश्य योदेश युगुगान्तर सम्म स्वाधीन रूपमा तिकोस भनी नै थियो।
त्यसै हुनाले आफ्ना अनुभवलाई सुनाई गएमा आपना सन्तानले भारादारका संतानलाई र भारादारका सन्तानले आफ्ना सन्तानलाई सुनाउदै जानेछन र यो देशलाई वचाएर राख्न सफल हुनेछन भन्ने अत्यन्त स्वाभाविक विश्वासको उद्गार नै प्रकट गरेका थिए उनले। साम्राज्यवादी शक्तिका विरूद्धमा अभियान चलाउने, सारा हिन्दुस्तानीलाई समेत चेतना जगाउन खोज्ने पृथ्वीनारायण जस्ता शासकलाई नै साम्राज्यवादी भन्नुमा त झन् कुनै तुक नै देखिंदैन। उनको राज्य निर्माणको सीमा, उद्देश्य र भूराजनीतिका विषयमा स्पष्टता थियो।
असिमित रूपमा उपनिवेश विस्तार गर्दै साम्राज्य खडा गर्ने तात्कालिक साम्राज्यका प्रचलित आकांक्षा र योजना उनमा भएको देखिदैन। यस राज्यलाई परिस्थिति अनुरूपको निर्दिष्ट सीमा भित्र रहेर वलियो रूपमा टिकाउने लक्ष्य पृथ्वीनारायणमा थियो भन्ने देखिन्छ। उनको बुझाईमा त्यसवेला सारा हिन्दुस्तानलाई सात समुद्रपारवाट आएको यस महाद्वीप भन्दा वाहिरको धर्म(संस्कृति मान्ने बेलायती साम्राज्यले दवाऊँदै थियो र सारा हिन्दुस्तानीहरूका शीर जमिनमा लत्रिएको अवस्था थियो (मूल श्रोतमा (हिन्दुसताना दवाईरहेछ, शर जिमीमा परिरहेछ)। हिन्दुस्तानका धर्म परम्परा र संस्कृतिमाथि अतिक्रमण भैरहेको थियो।
त्यसैले उनी यस देशलाई यस भेकका त्यस्ता परम्परा वचाउन सक्ने सुरक्षित ठाउँको रूपमा वुझ्ने र वुझाउने गर्दथे। हिन्दुस्तान वाहिरको सभ्यताको शक्तिको चपेटोमा परिरहेको वेला त्यहाँ यस भेकका धर्म, परम्परा र संस्कृति वच्न नसक्ने देखेर उनले स्थानीय र हिन्दुस्तानका समेत वैदिक, वौद्ध लगायत सभ्यताको समेत वचाउ गर्न सक्ने सुरक्षित ठाउँको रूपमा नेपाललाई “असली हिन्दुस्ताना रहेछ” भनेर चिन्ने चिनाऊने गरेको पाइन्छ। पृथ्वीनारायण साझा संस्कृतिका पक्षपाती र स्थानीय परम्पराका रक्षक थिए। त्यसैहुनाले उनी आ-आफ्ना धर्म परम्परा (कूलाधर्म) मान्नका निम्त आह्वान गर्दथे।
यहाँका हिन्दु, बौद्ध, धामी/झाँक्री आदि प्रकृतिवादी समेत सवै परमपराको रक्षामा उनी संलग्न रहेको कुरा उनको उपदेशको रूपमा चिनिएको निर्देशिकावाट मात्र नभई ऐतिहासिक प्रमाणहरूले पनि पुष्टि गरेको कुरा हो। पृथ्वीनारायण यसदेशलाई सवै किसिमका जातीय समुदायको साझा फूलवारी मान्ने भएको र उनका शासन व्यवस्था समेत त्यस्तै किसिमले चलेको देखिएको हुनाले उनलाई जातीय कविलाका नाईके मान्न सकिने स्थिति छैन। शास्त्र, परम्परा, न्याय/निसाप, इतिहासलाई मान्यतादिएर चल्ने शासकलाई कविलाको रूपमा मात्र मान्न सकिने कुरा पनि होईन। देश, समाज र साशन व्यवस्थामा व्यवस्थित रूपमा स्थिति बाँध्नु पर्छ भनेर पहिलेका राजा/महाराजाका स्थितिको विषयमा समेत निरुपण गरेर बुझ्न खोज्ने राजा थिए पृथ्वीनारायण।
देशको न्याय प्रणाली, प्रशासनिक वन्दोवस्त, सामरिक व्यवस्था, आर्थिक नीति आदी सवैकुरामा समय सापेक्षताका आधारमा चल्ने उनको स्पष्ट नीति थियो। देशलाई वाह्य खतरा र प्रभावबाट राजनीतिक र सांस्कृतिक दुवै क्षेत्रमा वचाउने, आत्मनिर्भर अर्थव्यवस्थाको प्रवन्ध गर्ने, राम्रा र उपयोगी शिप ल्याएर आर्थिक उन्न्तिगर्न दक्षता हासिल गर्न चाहने व्यक्तिलाई शिप सिकाउन पठाउने, सवै किसिमका स्थानीय परम्पराको रक्षा गर्ने, छरिएर रहेका कमजोर शक्तिलाई एकठा गर्न पृथ्वीनारायणको नीतिले गर्दा उनलाई एक क्रूर अधिनायक भन्दा कुशल र समयले जन्माएको युगपुरूषको रूपमा हेर्नु पर्ने देखिएको छ ।
अहिले नेपाल र नेपालीको अवस्था र छवी जुन हालतमा ह्रासोन्मुख देखिदैछ, त्यसलाई संवेदनशील भएर हेर्ने हो भने पृथ्वीनारायणले सृजना गरको नेपाल र नेपालीको ऐतिहासिक इज्जतको अवस्थालाई सम्झनै पर्ने हुन्छ। उनमा पनि मानवमा हुने स्वाभाविक केही कमजोरी नभएका होईनन तर त्यस्ता कमजोरीको तुलनामा उनका अत्यधिक असल देनको इतिहासले जितेको देखिन्छ र तिनै गुणको प्रतिफल स्वरूप आज नेपाल र नेपाली भन्ने साझा चिनारी लिएर हामी वाचेका छौं। त्यही चिनारीलाई इज्जतसाथ जोगाउने जिम्मेवारी आज हामीमा छ र त्यसका निम्ति हामीले पृथ्वीनारायण र उनका देनलाई सम्झनै पर्दछ।