• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

१२२ चिनियाँलाई दुई चाटर्ड विमान गरि चिनियाँ अधिकारीकै जिम्मा



चीनसँग सुपुर्दगी सन्धि र कानुनी सहायक सन्धि नभए पनि नेपालले अन्तर्राष्ट्रिय साइबर अपराधको आरोपमा पक्राउ परेका एक सय २२ चिनियाँलाई औपचारिक प्रक्रियाबाटै ‘सुपुर्दगी’ गरेको छ । अन्य विदेशीलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले नोटिस जारी गरेपछि मात्रै पक्राउ गर्ने र सम्बन्धित देशलाई बुझाउने गरिएको थियो । चिनियाँलाई भने प्रक्रिया मिचेर निष्कासन गरिएको हो । एकैपटक ठूलो संख्यामा विदेशीलाई पक्राउ गरेर बुझाइएको यो पहिलो घटना हो ।

नेपालमा पक्राउ परेका आफ्ना नागरिकलाई लैजान चीनले बुधबार दुईवटा चार्टर्ड विमान ल्याएको थियो । विमानमा चिनियाँ अधिकारीसँगै सुरक्षाकर्मीसमेत आएका थिए । नेपाली अधिकारीहरूले विमानमै लगेर उनीहरूलाई बुझाएका थिए । विमानमा चढाएपछि उनीहरूलाई चिनियाँ सुरक्षा अधिकारीले हत्कडी लगाएका थिए । नेपालले पक्राउ परेका अन्य देशका नागरिकलाई पनि निष्कासनको प्रक्रियामार्फत सम्बन्धित देशलाई बुझाउने गरेको छ । तर, अन्य विदेशीको हकमा इन्टरपोलले नोटिस जारी गरेका व्यक्तिलाई मात्र पक्राउ गरेर सम्बन्धित देशमा बुझाउने गरिएको थियो ।

तर, बुधबार निष्कासन गरिएका चिनियाँलाई इन्टरपोलको नोटिस थिएन भने अनुसन्धानसमेत नगरी बुझाइएको हो । पक्राउ परेका चिनियाँलाई निष्कासन गर्दा विमानस्थलमा समेत विशेष व्यवस्था गरिएको थियो । डिपार्चरनजिक उनीहरूलाई गाडीबाट झारेर बोर्डिङ पास दिइएको थियो । त्यहाँबाट गाडीमै हालेर विमानछेउ पुर्याइएको थियो । त्यहाँ ओरालेर ट्राभल डकुमेन्ट हेरी डिपार्चर स्ट्याम्प लगाएर विमानमा पुर्याइएको थियो । दुई देशबीच सुपुर्दगी सन्धि र कानुनी सहायक सन्धि नभए पनि उनीहरूलाई औपचारिक प्रक्रियाबाटै बुझाउने प्रवृत्तिले निर्दोष मान्छे पनि फस्न सक्ने र यसले नेपाललाई असर गर्न सक्ने कतिपयको चिन्ता छ ।

नेपाल र चीनबीच औपचारिक रूपमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि भइसकेको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङको तीन महिनाअघिको नेपाल भ्रमणमा दुई देशबीच यससम्बन्धी सहमति भए पनि कार्यान्वयन प्रक्रिया सुरु हुन सकेको छैन । पक्राउ परेका चिनियाँले काठमाडौंमा घर भाडामा लिएर इन्टरनेटमार्फत ठगी, जुवाको अवैध कारोबार गर्दै आएका थिए ।

त्यसबापत हजारौँ चिनियाँ पीडित भएपछि चीनले नै नेपाली अधिकारीलाई सूचना दिएर अप्रेसनका लागि आग्रह गरेको थियो । तर, योजनाअनुसार अप्रेसन सफल नभएपछि थोरै मात्र पक्राउ परेका र सयौँ चिनियाँ भाग्न सफल भएका छन् । चीनले यसैगरी मलेसिया, कम्बोडियालगायत देशबाट समेत विदेशमा बसेर अपराध गर्ने आफ्ना नागरिकलाई पक्राउ गरेर चार्टर्ड विमानमार्फत लगेको थियो ।

पक्राउ परेकाबाट बरामद प्रमाण पनि चिनियाँ अधिकारीकै जिम्मा:पक्राउ परेकाहरूबाट बरामद प्रमाणसमेत कानुनी बाटो मिचेर चिनियाँ अधिकारीहरूलाई बुझाइएको छ । चिनियाँहरूबाट बरामद ल्यापटप, मोबाइललगायत प्रमाण चिनियाँ अधिकारीलाई नै दिइएको छ । उनीहरूबाट पाँच सयभन्दा धेरै ल्यापटप बरामद भएको थियो । अभियुक्तहरूको मुद्दा सकिएपछि यस्ता सामान सामान्यतया सम्बन्धित व्यक्तिलाई बुझाउने गरिन्छ ।

गत ७ पुसमा पक्राउ परेका उनीहरूलाई सुरुमा प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही गरेको थियो । तर, थप अनुसन्धान भएन । गत आइतबार काठमाडौंका सिडिओ जनकराज दाहालले उनीहरूलाई एक–एक हजार रुपैयाँ जरिवानाको फैसला गरेका थिए । अध्यागमन विभागले पनि मंगलबार एक–एक हजार रुपैयाँ जरिवाना गराएर निष्कासनको निर्णय गरेको थियो । जब कि अभद्र व्यवहार मुद्दामा १० हजार तथा अध्यागमनले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने अधिकार थियो । नयाँ पत्रिका दैनिकबाट