• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीको बोली बोलीमै सीमित, एक महिना पुग्दा पनि साग विजेताले पाएनन् पुरस्कार



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली बोलीमै सिमित हुने भएकोे छ । १३ औं सागमा विजेता खेलाडीहरुलाई दिने भनिएको पुरस्कार घोषणा एक महिनासम्म कार्यान्वयनमा नआउँदा खेलाडीहरुमा निराशा छाएको हो ।

प्रधानमन्त्री ओलीले मंसिर २५ गते बालुवाटारमा बोलाएर सगौरव गरेको घोषणामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख, एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति स्वर्ण ११ लाख दिने भनिएको थियो । टिमतर्फ स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ५ लाखका दरले पुरस्कार दिने जनही पुरस्कारको व्यवस्था गरेको थियो तर सोही टिममा रजत र कास्य जित्नेलाई भने हालसम्म पनि केही व्यवस्था भएको छैन ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कारको विषयलाई लिएर कतिपय खेलाडी तथा प्रशिक्षक घोषणालगत्तै असन्तुष्ट थिए । घोषणा भएको महिना दिन बित्दा पनि घोषित पुरस्कार रकम नपाएपछि खेलाडी झनै रुष्ट देखिएका हुन् ।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्मकै उच्च पदक हात पारेको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।