२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलाचौरमा पक्की सडक निर्माण सुरु



अ+ अ-

म्याग्दी। बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ । बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो ।

विसं २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । “बेनी नगरपालिकाको ६० प्रतिशत र सङ्घीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नति आयोजना सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “तीन आर्थिक वर्षमा क्रमागत योजनाका रूपमा पुरुण्डीदेखि पुलाचौर हँुदै नयाँगाउँ खण्डको सडकलाई पक्की बनाउन लागेका हौँ ।”

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुन थालेपछि पुलाचौरवासी उत्साही भएका छन् । धुलो र हिलोको समस्या हट्ने, यात्राअवधि छोटिने, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने स्थानीयवासीले बताएका छन् । सामान्य मर्मतसम्भार गरेर यातायात सञ्चालन हुँदै आएको सडकमा यात्रा गर्न असहज हुँदै आएको थियो ।

चालु आवका लागि रु एक करोड ७७ लाख ८८ हजार ४७२ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले गत पुस १२ गते रु एक करोड २२ लाख ५५ हजार २०० मा ठेक्का सम्झौता गरेको छ ।

निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल निर्माण र पुलाचौर क्षेत्रबाट ढलान सुरु गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । यो सडकबाट स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्ने उहाँले बताउनुभयो ।

उपप्रमुख लामिछानेका अनुसार बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आवमा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो । आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको योजनामार्फत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सबइन्जिनियर मिलन केसीले बताउनुभयो ।

पाँच सय दुई मिटर दूरीमा नाली र १७४.७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण हुने उहाँले बताउनुभयो । बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको १ नं वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकको बेनीदेखि बेनी नगरपालिका–६ अर्थुङ्गे– बाँसबोट–एकपाटे–अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनेको छ । रासस




भर्खरै