२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसवाल दैनिकका अध्यक्ष तथा सम्पादक बगालेलाई सफाइ



अ+ अ-

काठमाडौँ। विशेष अदालत काठमाडौँले विज्ञापन प्रकाशनसम्बन्धी भ्रष्टाचार गरेको मुद्दामा जनसवाल दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेलाई सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिकाको विज्ञापन प्रकाशित गर्दा भ्रष्टाचार गरेको आरोपसहित चार वर्षअघि दायर गरेको मुद्दाको फैसला भएसँगै जनसवाल दैनिकका अध्यक्ष तथा सम्पादक बगालेले सफाइ पाउनुभएको हो ।

विशेष अदालतले विज्ञापन प्रकाशनका क्रममा भ्रष्टाचार भएको भन्ने ठोस प्रमाण नभेटिएको ठहर गर्दै सो मुद्दामा प्रतिवादी बनाइएका एकबाहेक सबै व्यक्ति तथा संस्थालाई सफाइ दिने निर्णय सार्वजनिक गरेको छ ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासबाट आज भएको फैसलामा अख्तियारको दाबीअनुसार जनसवाल दैनिकमा बोलपत्रसम्बन्धी विज्ञापन प्रकाशित भएको प्रमाण नदेखिएको, पत्रिकाले सोबापत कुनै भुक्तानी नलिएको र पत्रिकाको नाम प्रयोग गरी अनधिकृत व्यक्तिले कार्य गरेको नदेखिएको उल्लेख छ ।

यसैगरी सम्पादक बगालेले अख्तियार र आयोगसमक्ष दिएको बयानसहित मिसिलमा संलग्न प्रमाण तथा कागजातहरूको विश्लेषण गर्दा आरोपदाबीबमोजिमको कसुर पुष्टि नभएकाले प्रतिवादीहरूलाई दोषी ठहर गर्न नसकिने फैसलामा उल्लेख छ ।

सो फैसलापछि सञ्चारकर्मीहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै काठमाडौँबाट प्रकाशित सो राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक बगालेले आफूसम्बद्ध जनसवाल पब्लिकेसन र पत्रिकाको कुनै संलग्नता नभएको विषयमा दुःख दिने उद्देश्यका साथ अनाहकमा मुद्दा लगाइ पनि सम्मानित अदालतबाट न्याय पाएको भनी खुसी व्यक्त गर्नुभयो ।

अध्यक्ष तथा सम्पादक बगालेले भन्नुभयो, “जनसवाल राष्ट्रिय दैनिक र यसको व्यवस्थापनविरुद्ध लगाइएका सम्पूर्ण आरोप झुठा सावित भएका छन्, न्याय मरेको छैन भन्ने प्रमाणित भएको छ । आजको फैसलापछि अझ सक्रिय भई समर्पणभावका साथ देश र जनताको पक्षमा कलम चलाउन हौसला प्राप्त भएको छ ।”

सम्पादक बगालेका अनुसार सो राष्ट्रिय दैनिकले विशेषगरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय श्रम बजारको मागमुद्दासहित विदेशमा रहेका नेपालीको कथा, व्यथा र नेपाली समुदायले विदेशमा हासिल गरेका उपलब्धिलगायतका सकारात्मक पक्षलाई प्राथमिकता दिई नेपाल र नेपालीको पक्षमा काम गर्दै आएको छ ।  रासस