१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं किंग्स ११ बाट इपिएल खेल्दै सन्दीप



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् । इपिएलले यस सिजन ल्याएको ट्रेड प्रावधान अनुसार सन्दीप ललितपुर प्याट्रीयट्सबाट काठमाडौं लागेका हुन् । गत सिजन ललितपुरले उपाधि जित्दा सन्दीपले सुरुआती २ खेल मात्र खेलेका थिए । उनी सिजन सकिनुअघि नै बिग ब्यास लिग खेल्न अस्ट्रेलियातर्फ प्रस्थान गरे । यस सिजन ट्रेड गर्न सकिने प्रावधान ल्याएसँगै उनी ललितपुरबाट काठमाडौं पुगेका हुन् ।

गत सिजन ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले उपाधि जितेको थियो । ट्रेड प्रावधानमा दुई टोलीबिचको समझदारीमा खेलाडी किन्ने प्रावधान रहेको छ । यसमा आर्थिक पाटो भने गोप्य राखिएको छ । प्रावधानअनुसार हरेक खेलाडीले दुई टोलीबीच ट्रेड भएमा उक्त रकमको ६० प्रतिशत रकम प्राप्त गर्नेछन् । इपिएलले क्याटगोरी ए का लागि तोकेअनुसार ट्रेडका लागि मिति सकिए पनि यसका लागि प्रक्रिया अगाडि नै थालिएको र सन्दीप बिग ब्यासमा व्यस्त रहेकाले केही ढिलो निर्णय सार्वजनिक भएको इपिएल स्रोतले जानकारी दियो ।

काठमाडौंका प्रशिक्षक विनोद दासले सन्दीपको आगमनसँगै टोली बलियो भएको बताए । उनले नेपाली कोर बलियो बनाउने टोलीको मुख्य लक्ष्यमा सफल रहेको पनि जनाए । ‘हामीले विदेशी फ्रेन्चाइज लिगमा पनि देख्न सक्छौँ, कोर खेलाडीको एक समूह नै सफल नतिजा ल्याउने आधार हो । हामीले पनि त्यसै लक्ष्य लिएर अगाडि बढेका हौँ । सन्दीपको रूपमा हामीले विश्वस्तरीय खेलाडी पाएका छौँ । दीपेन्द्रसिंह ऐरी र सुवास खकुरेलको आगमनले पनि हामीलाई निकै फाइदा पुगेको छ,’ विनोदले भने ।

विनोदका अनुसार नेपाली खेलाडीबाट नै बलियो साझेदारी बनाउन सके लिगमा सहज हुने बुझाइ छ । ‘ हामीले आफ्नो कोर ग्रुप नेपाली खेलाडीबाट नै निर्माण गर्न सके विदेशी खेलाडी आएपछि सहज हुन्छ । अहिले हाम्रो नेपाली खेलाडीको समूह राम्रो छ । अब टोलीमा सन्तुलन मिलाउन सोहीअनुसार विदेशी खेलाडी समावेश गर्ने हो । त्यसका लागि विकल्प अध्ययन गरिरहेका छौँ,’ उनले भने । काठमाडौंले गत सिजन इपिएल खेलेका सुशील कँडेल र नरेश बुढाएरको स्थानमा सुवास खकुरेल र आकाश चन्दलाई टोलीमा सामेल गरिसकेको छ ।

यस्तै खेलाडी साटफेर गर्ने क्रममा चितवन टाइगर्सबाट दीपेन्द्र काठमाडौं आउँदा सोमपाल कामी चितवन पुगेका छन् । पछिल्लो सिजन आयरल्यान्डका केभीन ओ ब्रायन र यूएईका रोहन मुस्तफासँगै श्रीलंकाका फरवेज महारुफले काठमाडौंबाट खेलेका थिए । अलराउन्डर केभिनले यस सिजन पनि काठमाडौंबाट नै खेल्ने पक्का भएको छ । गतवर्ष उनले ७ खेलमा ९ विकेट लिनुको साथै १ सय ८४ रन बनाएका थिए । यस सिजन पनि इपिएलमा नाम चलेका अन्तर्राष्ट्रिय खेलाडी ल्याउने चर्चा रहेको छ । इपिएल आफैँले हसिम अमला, लियाम प्लंकेट, ड्वेन स्मिथ, लगायत खेलाडी लिग खेल्न इच्छुक रहेको बताएको छ ।