१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सुक्यो ‘सुर्खेतको रारा’

सुक्यो ‘सुर्खेतको रारा’
अ अ+ अ-

सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जङ्गलको बीचमा अवस्थित ‘बराहताल’ पुग्नुभयो भने तपाईं अहिले ताल देख्न पाउनुहुन्न । कुनै बेला ‘सुर्खेतको रारा’, ‘कर्णालीको दोस्रो रारा’को उपमा पाएको यो ताल एकाएक सुक्दा स्थानीय बासिन्दा अचम्मित छन् । उनीहरुका अनुसार ताल सुक्न थालेको करीब दुई वर्ष जति भयो । जसको पहिचानले गाउँपालिकाकै नाम ‘बराहताल’ राखियो, अन्ततः त्यही तालको निशानै मेटिएपछि स्थानीयवासी निराश छन् ।

गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत ताल सुक्नाका कारणबारे अनभिज्ञ हुनुहुन्छ । “ताल सुकेपछि हामी अचम्मित भएका छौं, पहिले पनि २०५६ सालतिर सुकेको थियो,” उहाँले भन्नुभयो – “वैज्ञानिक अध्ययन बिना ताल किन सुक्यो रु ठम्याउन गाह्रो छ ।” अहिले ताल क्षेत्र सुख्खा जमीनमा परिणत भएको छ । ताल क्षेत्र तरंगा टोलको गौचरनमा परिणत भएको छ । सुर्खेतको पर्यटकीय स्थलका रुपमा रहेको बराहताल हेर्न यतिबेला पर्यटकहरुको आगमन भएमा के देखाउने भन्ने चिन्ता छ, स्थानीय जनप्रतिनिधिलाई ।

ताल सुक्नाका कारणबारे यहाँ अनेक अड्कलबाजी भइरहेका छन् । बराहताल गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर कठायत २०७२ सालको महाभूकम्पपछि ताल क्रमिक रुपले सुक्दै गएको बताउनुहुन्छ । एकथरी बराह देउताको पूजा नगरेकाले ताल सुकेको तर्क गर्छन् । तालको छेउमा बराह मन्दिर छ । विसं २०५६ मा ताल सुकेपछि स्थानीयवासीले पूजा गरेका थिए । तत्कालीन तरंगा गाविस अध्यक्ष ओमबहादुर महताराले त्यतिबेला बराह देउताको पूजा गरेपछि तालमा पानी भरिएको बताउनुभयो । ताल सुकेपछि पूजा गर्न त्यतिबेलै उक्त मन्दिर बनाइएको हो । कतिपय स्थानीयवासीले तालमा पानी भर्न पूजा गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । ताल नजीकको जङ्गल क्षेत्रमा जथाभावी सडक खनिँदा मुहानमा असर पुगेको हुन सक्ने अनुमान पनि गरिएको छ । सडकबाट निस्केको माटो बगेर तालको सतहमा जमेर पानी सञ्चयमा अवरोध हुन पुगेकाले ताल सुकेको बताइन्छ ।

तालसम्बन्धी अनुसन्धान गर्नुभएका कर्णाली प्रदेश अस्पताल, सुर्खेतका चिकित्सक डा. नवराज केसीको अध्ययन भने फरक छ । उहाँको बुझाइमा ताल सुक्नुको मुख्य कारण बनमारा झार हो । यसले सो क्षेत्रमा अरु झारलाई उम्रिन नदिँदा पानी सिञ्चित हुन नसकेको हो । डा। केसी भन्नुहुन्छ – “ताल भनेको पानी होइन, माटो हो । माटोको गुणस्तर बिग्रियो । यो माटोलाई पानी सञ्चय गर्न सक्ने खालको बनाउनुपर्छ, त्यसपछि आफैं पानी भरिन्छ ।” पहिले जस्तो झार हुन्थ्यो त्यही झार ल्याएर रोप्न सके त्यसले पानी सञ्चय गर्न मद्दत पुर्याउँदछ, अनि विस्तारै पानी भरिन्छ । बनमारा झारले माटोलाई दलदल बनाएर पानी सञ्चय गर्न र अन्य झार पनि उम्रन दिँदैन । यसले गर्दा ताल क्षेत्रको माटोले पानी सोस्न नसकेको उहाँको दाबी छ ।

अड्कलबाजी जे गरिए पनि तथ्यपरक अध्ययन बिना चुरे क्षेत्रमा अवस्थित ताल यसैकारण सुक्यो भनेर दाबी गर्ने आधार छैन । यसबारे वैज्ञानिक अनुसन्धान कसले गर्ने भन्ने टुङ्गो स्थानीय बासिन्दा र प्रदेश सरकारले लगाएका छैनन् । भूकम्प, सडकबाट बगेको माटो, जलवायु परिवर्तन या वनमारा झार जुन कारणले भए पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण तालको अस्तित्व मेटिएको छ । अब यसको वैज्ञानिक अनुसन्धान गर्न जरुरी भइसकेको छ ।

ताल सुक्दा त्यहाँको जैविक विविधता खल्बलिएको छ । ताल नहुँदा हाँस, सारस लोप हुन पुगे । गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार ताल क्षेत्रमा १७ प्रजातिका चराको बसोबास थियो । तीमध्ये केही ताल आश्रित चरा र जनावरहरु पनि थिए । चराहरुको चिरबिर–चिरबिर आवाजले त्यहाँको वातावरण नै रमणीय हुन्थ्यो । चराहरुले पात पतिङ्गर टिपेर ताल सफा राख्थे । ताल क्षेत्रमा कमलका फूल होइन, अचेल वनमारा झाङ्गिएको छ । कुल ताल क्षेत्र ६० हेक्टरमध्ये पानी भएको क्षेत्र भने १२ हेक्टर मात्र थियो ।

तालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्ने स्थानीय राजी समुदाय तालको अस्तित्व मेटिँदा सबैभन्दा दुःखी छन् । तीमध्येका एक हुनुहुन्छ, जंगबहादुर राजी । डुङ्गा चलाउने शीप भएका ताल सुकेयता बेरोजगार बनेका छन् । ताल फर्किने आशामा उहाँका दुई वर्ष बितिसकेका छन् । पर्यटकदेखि त्यहाँको जैविक विविधताको अवलोकन गर्न आउने अध्येताहरुको चहलपहल ताल सुकेपछि ह्वात्तै घटेको छ । जताततै ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा पर्यटकीय प्याकेज सञ्चालन भइरहेका छन् तर, पश्चिम सुर्खेतबाट भने जिल्लाकै ठूलो ताल सुकेको सन्देश फैलिरहँदा स्थानीयवासीमा निराशा छाएको छ ।
बन्यो गुरुयोजना
प्रदेश सरकारको आग्रहमा राष्ट्रपति चुरे तराई मधेस विकास बोर्डले गुरुयोजना बनाएको छ । स्मार्ट इन्जिनियरिङ एण्ड सोलुसन प्रालि ललितपुरका प्रविधिज्ञले तयार पारेको मस्यौदामा तालको पुनःस्थापना, संरक्षण र पर्यटकीय पूर्वाधारको विकासको प्रस्ताव गरिएको छ । गुरुयोजनामा पहिलो विकल्प प्राकृतिक रुपमै तालको पानी फर्काउने, दोस्रोमा डिप बोरिङमार्फत पानी निकाल्ने र तेस्रो विकल्पका रुपमा नजीकै बगिरहेको भेरी नदीको पानीलाई लिफ्टिङ प्रविधिबाट कृत्रिम ताल निर्माण गर्ने योजना समावेश गरिएको छ । भेरीको पानी र तालबीच ६० मिटरको दूरी छ । प्राकृतिक रुपमै ताल पुनःस्थापना गर्न नसके भेरीकै पानी ल्याउन धेरैजसो सहमत छन् ।

प्रदेश सरकारका वन निर्देशक शिवराम अधिकारीले स्थलगत अध्ययनका साथै गाउँपालिका, मन्त्रालय र सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर गुरुयोजना बनाइएको बताउनुभयो । यही गुरुयोजनाका आधारमा तालको पुनःस्थापना र संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रु ७५ लाख, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १० लाख र बाँकी बराहताल गाउँपालिका तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रकम जुटाएर चालु आर्थिक वर्षदेखि नै ताल पुनःस्थापनासम्बन्धी योजना शुरु गर्ने तयारी छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा। कृष्णप्रसाद आचार्य ताल पुनःस्थापना तथा संरक्षणका लागि तीन वटै तहका सरकारका कार्यक्रमबीच समन्वय हुनुपर्ने बताउनुहुन्छ । गुरुयोजना बमोजिम स्थानीय तहले स–साना पूर्वाधारका कार्यहरु गर्ने, प्रदेशले पर्यटकीय संरचना निर्माण तथा सङ्घीय सरकारको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले ठूला पूर्वाधार निर्माण गरेर ताल मात्रै पुनःस्थापना नगरी पर्यटकीय गन्तव्यकै रुपमा विकास हुने गरी बजेट परिचालन गर्नुपर्ने उहाँको धारणा छ । सचिव डा। आचार्यले ‘ताल किन सुक्यो ?’ भन्ने विषयमा गहिरो अध्ययनको खाँचो औंल्याउनुभयो । “यसको अझै गहन अध्ययन/अनुसन्धान हुनुपर्छ, गुरुयोजना बिनै तत्काल बजेट खर्च गर्न उपयुक्त नभएकाले गुरुयोजना बनाइएको हो,” उहाँले भन्नुभयो – “ताल पुनःस्थापना मात्र नभई तालको सौन्दर्यकरण र समग्र जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापनलाई ध्यानमा राखिएको छ ।”