काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको कुरामा कुनै सत्यता नभएको बताएका छन्। बिहीबार पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बाँस्कोटाले बालुवाटारबाट त्यस्तो धम्की दिएको भन्ने पत्यार लाग्छ ? भन्ने प्रश्न गरे।

‘यो धम्की आएको भन्ने तपाईंलाई पत्यार लाग्छ ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र ?कसैको ज्यान लिने ?,’ उनले भने, ‘ज्यान मार्ने धम्कीको सत्यता छैन। उहाँले पनि भन्नुपर्छ यसले फोन गर्यो। यस्तो नम्बरबाट फोन आयो। त्यस्तो हो नै रहेछ भने कारबाही हुन्छ।’
रावलले केही दिनअघि सगरमाथा टिभीमा अन्तर्वार्ताका क्रममा एमसिसीबारे धारणा राख्दा बालुवाटारमा बस्ने मान्छेबाट आफूलाई ज्यान मार्ने धम्की आएको दाबी गरेका थिए। विचार व्यक्त गरेकै आधारमा कसैमाथि ज्यानको धम्की दिन नमिल्ने उनले बताए ।









